‘निर्वाचन विरुद्ध षडयन्त्र’, एमाले प्रचार उप–प्रमुख रिजाल

देशभर एमालेको जनलहर छ

नेकपा एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले स्थानीय तह निर्वाचन विरुद्ध सत्तारुढ गठबन्धन दलले षडयन्त्र गरिरहेको बताएका छन् । एमाले नेता रिजालले सत्तारुढ दलका नेताहरुले स्थानीय तहको निर्वाचन सार्नु पर्ने अभिव्यक्ति दिएर निर्वाचन विरुद्ध षडयन्त्र गरिरहेको बताएका छन् । ‘सत्तारुढ दलकै नेताहरुले निर्वाचन सार्नुपर्ने खालका अभिव्यक्ति आइरहेको छ’, उनले भने, ‘त्यो कदापि एमालेलाई स्वीकार्य छैन ।’

प्रेस चौतारी बाँकेले नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा नेता रिजालले वर्तमान सरकारले बाध्य भएर निर्वाचन घोषणा गरेकाले त्यसविरुद्ध भित्रभित्रै लागिरहेको जानकारी दिएका थिए । उनले गठबन्धन दलका नेताको निर्वाचनप्रति गैरजिम्मेवार अभिव्यक्तिका कारण नै निर्वाचन आयोगले समयमै निर्वाचन हुने अभिव्यक्ति दिनु परिरहेको सुनाए ।

नेता रिजालले नेकपा एमाले निर्वाचन केन्द्रित कार्यक्रममा व्यस्त रहँदा गठबन्धन दल आपसी विवादमै अल्झिरहेको बताएको थिए । ‘देश निर्वाचनमय भएको छ, एमाले निर्वाचनमा होमिइसकेको छ’, नेता रिजालले भने, ‘स्थानीय तहकै निर्वाचनलाई लिएर पार्टी केन्द्रीय अध्यक्ष केपी ओली २८ जिल्ला पुगिसक्नु भएको छ ।’

उनले पार्टी केन्द्रीय नेताहरु विकट हिमाली जिल्लामा समेत निर्वाचन लक्षित कार्यक्रमहरुमा पुगिरहेको जानकारी दिंदै पहाड र तराईमा एमालेको लहर रहेको बताएका थिए । ‘गठबन्धन दलसँग कुनै एजेण्डा नभएका जनतामाझ पुग्न सकेका छैनन्, एमाले सरकारमा रहँदाका काम लिएर जनतामाझ पुगिरहेको छ’, उनले भने, ‘स्थानीय तहको निर्वाचनमा एमाले पहिलो हुनेछ ।’

नेता रिजालले २०७४ सालको निर्वाचन, एमालेबाट अलग्एिको माधव नेपाल समूहलाई लिएर एमालेले कमजोर नठान्न चेतावनी दिएका छन् । ‘माधव नेपाल समूह अलग्गिएर स्थानीय तहमा ५ प्रतिशत असर पर्ने हामीले विश्लेषण गरेका छौं, तर त्यो भन्दा बढी माओवादी पृष्ठभूमिका नेता, कार्यकर्ता एमालेमा हुनुहुन्छ’, उनले भने, ‘माधव नेपाल समूह अलग्गिदाको क्षतिपूर्ति भैसकेको छ ।’ नेता रिजालले सबै जसो पार्टीबाट एमालेमा प्रवेश गर्ने लहर रहेकाले ठूलो जनमत सिर्जना भैरहेको बताएका छन् ।

‘स्थानीय तहका प्रमुख, वडाध्यक्ष, नेता, कार्यकर्ता एमालेमा धमाधम प्रवेश गरिरहनु भएको छ’, उनले भने, ‘हिजो तराईमा एमालेलाई छिर्न दिन हुँदैन भनेर विरोध गर्ने ठाउँमा आज एमालेको कार्यक्रममा लाखौं जनता सहभागी भएको देख्न सकिन्छ ।’ उनले २०७४ भन्दा धेरै स्थानीय तह एमालेले जित्ने ठोकुवा गर्दै मधेस प्रदेशमा समेत अन्य पार्टीले भन्दा बढी स्थानीय तह जित्ने दाबी गरे ।

नेता रिजालले ३५ लाख थपिएका मतदाता युवा रहेकाले युवामा एमाले लोकप्रिय रहेको बताएका थिए । अघिल्लो स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्दा ८ लाख एमालेको मत बदर भएको भन्दै उनले अब गठबन्धन नहुने र सुर्य चिन्हमा चुनाव लड्ने भएकाले त्यो मत पनि एमालेले पाउने बताएका थिए ।

वर्तमान अदालतको परमादेशबाट बनेको सरकार पाहुना सरकार भएको टिप्पणी गर्दै नेता रिजालले आगामी मंसिरसम्म संघीय र प्रदेश निर्वाचन हुने र त्यसपछि वर्तमान सरकार बिदा हुने बताएका थिए । ‘एमाले सरकारबाट बाहिरिएपछि एमालेले थालेका धेरै कामहरु अधुरो रहेकाले तिनलाई सरकारमा आएपछि पूरा गर्नेछ’, उनले भने ।

निर्वाचनका बेला आग्रह, पूर्वाग्रह विना काम गर्न निर्वाचन आयोगलाई आग्रह गर्दै नेता रिजालले भने, ‘भयरहित, धाँधलीरहित र निष्पक्ष निर्वाचनका लागि आयोग प्रतिबद्ध हुनुपर्दछ ।’ नेता रिजालले अनाहक मतपत्रको रंग फेरिएकोमा असन्तुष्टि समेत व्यक्त गरेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया