इटालीका लेखक तथा दार्शनिक निकोलो मकियावेलीका भनाइ– ‘राजनीतिको नैतिकतासँग कुनै सम्बन्ध हुँदैन ।’ भन्नेकुरा सम्झने हो भने राजनीतिक प्रभुत्वको खालमा नैतिकतालाई निकालिदिंदा नेपालगन्ज आहलमा परेको अनुभूति गर्न सकिन्छ ।
सत्तारुढ गठबन्धनको केन्द्रको निर्णय र जिल्लाको आबश्यकता अनुसार गठबन्धन गर्ने प्रावधानमा एकमत हुन नसक्दा नेपालगन्ज उप–महानगर भागबण्डाको शिकारमा पर्ने अवस्था आएको छ । यो अवस्था जिल्लाभरीमा नै लागु हुन्छ ।
जिल्ला तहका कार्यकर्ताको माग र केन्द्रको निर्णय बीच तालमेल मिल्न नसकिरहेको अवस्था छ । यी पङ्ति कोरिंदासम्म सत्तारुढ गठबन्धनका शीर्ष नेतृत्वबीच राजधानी काठमाडौंमा भागबण्डाका लागि निरन्तर जारी बैठक चलिनै रहेका थिए । ती बैठकमा नेपालगन्ज उनीहरुका लागि एउटा ‘तातोआलु’नै थियो ।
२०७४ सालको निर्वाचनमा नेपालगन्ज उपमहानगरमा राप्रपाले १२,५१५, कांग्रेसले ८,७३०, माओवादीको ७,१९८ र एमाले ६,९६५ मत प्राप्त गरेका थिए । उतिबेला संघीय समाजवादी फोरमका कमरुद्दिन राईले ५,४४२ मत पाएका थिए । पाँचौ स्थानमा रहेका उनै राई यतिबेला भने सत्तारुढ गठबन्धनमा कांग्रेस र माओवादीका लागी भारी परेकाछन् ।
यहाँनेर एउटा प्रसङ्ग सम्झन मन लाग्यो १९ कात्तिक २०७६ मा तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का एक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालगन्ज उप–महानगरपालिकाका मेयर डा.धवल शम्सेर राणालाई नेकपामा फर्कन आह्वान गर्दै भनेका थिए–‘मुलधारको राजनीतिमा आउनुस् ।’ तत्कालिन नेकपा बाँकेको भवन निर्माणमा ठूलो सहयोग गरेको सप्रसंग सहित आफ्नै पुरानो घर फर्कन आग्रह गरेका थिए ।
एमाले अध्यक्ष के.पी.शर्मा ओली र राणा बीच पटक पटक भएको भेटले एमाले र राप्रपाबीच सहकार्य हुने सम्भावना थियो तर त्यसो हुन सक्ने समिकरणको सम्भावना पनि टरेको छ । कारण अनेक होलान तर कमल थापा नेतृत्वको राप्रपा नेपाल सुर्य चिन्ह लिएर चुनाव लड्ने सहमति पनि एक हो । आखिर एमाले किन त्यो निर्णयमा पुग्यो त ? प्रश्न अनुत्तरित नै छ । तर, राजा ल्याउने भन्ने मुल एजेण्डा बोकेकाले राप्रपासँग चुनावी समिकरण एमालेसँग मिल्न नसकेको प्रारम्भिक अनुमान लगाउन सकिन्छ ।
यो अवस्थामा एमालेका सम्भावित मेयर उम्मेद्वार पशुपतिदयाल मिश्रालाई सघाएर संघमा राणाले साथ लिने सम्भावना पनि न्युन हुँदै गएको छ । व्यक्तिवादी यी दुबै नेतामा व्यक्तिगत रुपमा हुने तालमेल र स्वार्थको मिलन चाहिं हुँदैन भन्न सकिन्न ।
स्थानीय तहको समिकरणले संघसम्मा आ–आफ्नो भोट सुरक्षित गर्ने रणनीतिका कारण विपक्षी दुई दल एमाले र राप्रपाबीच विश्वासको वातावरण बन्न सकेको छैन् ।
यसबीच जनता समाजवादी दलका नेता सासंद मो.इस्तियाक राईको नजर पनि मेयर र संघमा दुवैमा छ । उनि मेयर पनि लिने र संघमा पनि आफ्नो प्रभुत्व कायम राख्ने रणनीतिमा रहेको बुझिन्छ । सम्बद्ध स्रोतका अनुसार, राईले त्यही रणनीति सार्थक पार्न मंगलवार दलीय संयन्त्रको बैठकमा नेपालगन्जमा जसपाको नेतृत्वमा गठबन्धनको निर्णय गर्न दबाब दिए । ‘तपाई गठबन्धनबाट जसपालाई नेपालगन्जको मेयर दिनुहुन्न भनेपनि हामी आफ्नै चुनाव चिन्हमा निर्वाचनमा जान्छौं,’ राईले यति भनेर निस्किएपछि केहीबेर गठबन्धनमा खैलाबैला मच्चिएको थियो ।
सत्तारुढ गठबन्धनको प्रयासमा नेपालगन्जको मेयर नपाए जिल्लाभरी गठबन्धन नहुने बताइरहेको जसपा बाँके केन्द्रको निर्णय पर्खिबसेको बुझिन्छ । ‘केन्द्रले सकारात्मक निर्णय गर्ला जस्तो छ,’ आफै मेयरका दावेदार भएर मैदानमा उत्रिइसकेका जसपा बाँकेका अध्यक्ष कमरुद्दिन राईले दैनिक नेपालगन्जसँग खुलाए । यसरी गठबन्धनमा रहेका दलहरुकै खिचातानीमा नेपालगन्ज अलमल अवस्थामा पुग्यो ।
स्थानीय तहको धनुष वाणबाट संघको निसाना लगाईरहेका मेयर राणा र सांसद राईको अर्जुन दृष्टिमा अब दोष कहाँ देखिन्छ मतदाताले देखाउलान् । तर, नेपालगन्ज शहर भने मेयर राणा र पुर्वमन्त्री राईको प्रभुत्वको खालमा फँसेको चाहिं छ । जुनकुरा पछिल्ला पाँच वर्ष नेपालगन्जले भोग्दै आएको देखियो, भोगियो ।
यस्का अलावा कांग्रेस बाँके र माओवादीले नेपालगन्ज उपमहानगर सँगै जिल्लाका विभिन्न स्थानीय तहमा कस्तो तालमेल गर्छन भन्ने विषयले पनि संघ सम्मको प्रभावलाई झल्काउनेछ ।
२०५१ सालमा डा. राणा बाँके क्षेत्र नं. २ बाट स्वतन्त्र चुनाव लडेर सक्रिय राजनीतिमा उत्रिएका थिए । तत्कालीन एमाले पार्टीबाट राजनीतिमा थप उदाएका थिए डा. राणा ।
यसबीच नेपाली कांग्रेस बाँकेको आन्तरिक विवाद बढेपछि विवाद समाधान गर्न कांग्रेस केन्द्रिय सदस्य देवेन्द्रराज कँडेल बुधबार बाँके पुग्ने तय छ ।
जिल्ला कार्य समितिमा भएको मनोनयनको विवादका विषयमा केन्द्रमा उजुरी परेपछि विवाद बुझ्न केन्द्रिय सदस्य कँडेल बुधबार नेपालगन्ज पुग्नुपर्ने अवस्था आइसकेको छ । स्थानीय तहको निर्वाचन नजिकिंदै जाँदा कांग्रेस भित्रको यस्तो विवादले चुनावमा समेत प्रभाव पर्न सक्ने देखिएको छ ।
सत्तारुढ घटकका कांग्रेस र माओवादी जिल्ला तह यतिबेला पर्ख र हेरको नीतिमा अल्झिएको देखिन्छ ।