‘आगन छोडेपछि’ले मन छोएका प्रसङ्गहरु


जन्म थलो रुकुम भएर हाल अष्ट्रेलियामा बसोवास गर्दै आएका इञ्जिनियर डा. केशव शर्माले सप्रेमोपहार भनेर पठाइदिएको पुस्तक ‘आँगन छोडेपछि’ हात परेदेखि नै पढ्न मन लागिरहेको थियो । समय भने मिलिरहेको थिएन । अहिले भने समय नमिले पनि समय मिलाएर पढें । पढिसकेपछि केही नलेखेर बसिखानै दिएन मलाई मेरै मनले ।

त्यसकारण पनि लेख्न बसेको छु । यो कुनै साहित्यिक समीक्षा र समालोचना पनि होइन । पढेको कुरा नविर्सियोस भन्ने अभिप्रायले मात्र लेख्न बसेको छु । अरुको भन्दा पनि नितान्त आफ्नै निम्ति भनेर लेख्दा लेख्दै पनि कथम्कदाचित अरुकै निम्ति पनि भइहालेछ भने त्यो मेरो निम्ति सुनमा सुगन्ध हुनेछ भनेर पनि लेख्न बसेको छु ।


आफ्नो थात्थलो अर्थात आफू जन्मेको मुलुक छोडेर बाहिरिएका नागरिकहरुलाई आप्रवासी भन्छौं हामी । तिनीहरुलाई अंग्रेजीमा डायस्पोरा भन्ने गरिन्छ । उनीहरुको तन विदेश भएपनि मन आफ्नै देशतिर घुमिरहेको हुन्छ । ‘आँगन छोेडेपछि’कीर्ति त्यस्तै डायस्पोराहरुले सिर्जना गरेको साहित्य हो । अर्थात डायस्पोरिक साहित्य भनें मैले । आप्रवासी नेपाली इञ्जिनियरहरुको संघर्ष र सपनाको कथा भनेर पनि लेखिएको छ पुस्तकको अग्रभागमा । जम्मा १९० पेजको संस्मरण सङ्ग्रह भनिएको यस पुस्तकमा सत्र वटा इञ्जिनियरहरुले सत्र थान संस्मरणहरु प्रकाशन गरेका छन् । वि.सं. २०७८ पौषमा प्रकाशित यस पुस्तकलाई शिखा बुक्सले प्रकाशन गरेको छ भने सम्पादकको भूमिका कृष्ण कुशुम र केशवराज ज्ञवालीले निर्वाह गरेका छन् जो आफै पनि आप्रवासी इञ्जिनियरहरु हुन् र जो आफैले पनि यस किर्तिमा आफ्ना संस्मरणहरु प्रकाशन गरेका छन् ।


इञ्जिनियर डा.केशव शर्मासँग र मेरो भौतिक किसिमबाट परिचय भएको छैन । जे जसरी परिचय भएको छ यसको लागि उनका पूजनीय पिता शिवकुमार शर्मा दाहालको भूमिका रहेको कुरामा कुनै सन्देह छैन । उनी र म फेसबुकमा साथी भएको पनि हप्ता दिनभन्दा बढि भएको छैन । तथापि उनले मेरै नाममा त्यत्ति टाढाबाट मलाई उक्त पुस्तक पठाइदिएपछि मैले पनि न्याय गर्नुपर्छ भनेर उनकै संस्मरण सुरुमा पढें । पढेपछि भने राम्रोसँग चिने केशव शर्मालाई । नेपालमा बस्ने रहर भएर पटकपटक विदेशमा अध्ययनका लागि गएर पनि नेपालमा फर्केको, आफ्नो कक्षामा कहिल्यै सेकेण्ड हुन नजानेको व्यक्तिलाई नेपालमा आएर जागीरका लागि भौतारिदै हिड्नु परेको र स्थायी हुँदा पनि सिभिल इञ्जिनियरिङको निर्माणतर्फ अध्ययन गरेर खानेपानीतिर स्थायी हुनु परेको पिडा रहेछ उनीसँग । त्यत्तिले पनि नपुगेर बढुवामा कनिष्ठ बनाउनका लागि अध्ययन विदामध्येको एक वर्षलाई बेतलवी बनाइदिएको पिडा बज्रिएपछि भने उनलाई नेपाल बस्न रुचि हुदैन र स्थायी जागीर छोडेर उनी केही वर्ष हङ्कङमा काम गर्छन र तत्पश्चात् अहिले अष्ट्रेलियाको नागरिक भएर अष्ट्रेलियामै बसोवास गर्दै आइरहेका छन् ।


इञ्जिनियर गोविन्द गौतमले पनि आँगन छोडेपछि कीर्तिमा ‘सपनाका पर्खालहरु’ शीर्षक दिएर आफ्नो संस्मरणमा केशव शर्माकै जस्तो देश छोड्नुको पीडा समेटेका छन् । उनी छात्रवृत्तिमा इञ्जिनियरिङ अध्ययन गर्न सोभियत संघ अर्थात रुसमा जान्छन् र नेपाल फर्केपछि जागीर खोज्नका लागि मुख्य सचिवसम्म पुग्छन् । मुख्य सचिवले समेत ‘लागे हुन्छ विदेशतिर, जागीर पाइदैन नेपालमा’ जस्ता कुरा गरेपछि भने उनी निराश हुन्छन् आफ्नै माटोप्रति र पुनः थप अध्ययनका लागि फर्किन्छन् रुसतिरै । हाइड्रोपावर इञ्जिनियरले नेपालमा काम नपाएपछि अहिले उनी रुसमा इलेक्ट्रोनिक व्यवसायी भएर जीवन विताइरहेका छन् । इञ्जिनियर ऋषिराम पराजुलीको पिडा पनि त्यस्तै छ । जापानबाट इञ्जिनियरिङ अध्ययन पूरा गरी नेपालमा फर्किंएरदुई वर्ष हल्लिदा पनि जागीर नपाएपछि उनी बेलायततिर बरालिएको कुरा उनको संस्मरण ‘विदेश यात्रा’ मा लेखेका छन् ।


इञ्जिनियर सन्तोष न्यौपानेले लेखेको ‘जुम्लादेखि भर्जिनियासम्म’ मा नेपालमा भ्रष्टाचारमा तलदेखि माथिसम्म जो पनि चुर्लुम्म भएको कुरा उल्लेख गरेका छन् । विद्यालयभवन निर्माणको निरीक्षण गर्न जाँदा प्र.अ.ले सर हजूरको त जुत्ता च्यात्तिएको रहेछ भनेर घुस खुवाउन खोजेको, दुर्गममा राम्रो काम गरेर शिक्षा विभागमा जाँदा विभागको सिनियर इञ्जिनियरले स्टिल ट्रस प्रयोग नगरेर किन काठको ट्रस राखेको भनेर उल्टै हप्काएको जस्ता दृष्टान्त दिएर नेपालमा हुने भ्रष्टाचारलाई उदाङ्गो बनाएका छन् । केही काम गर्न खोज्दा आफू एक्लो परिने परिवेशबाट आत्तिएर बाध्यताबस विदेशिएको कुरा उनको संस्मरणमा भेटिन्छ । परिवेश यस्तै भएर होला, पुल्चोक क्याम्पसमा स्थायी रुपमा प्राध्यापन गरिरहेका इञ्जिनियर विजयराज भट्टराइ डिभी परेपछि अमेरिकातिर हानिन्छन् । ‘आँगन छोडपछि’ मा उनको संस्मरण ‘फ्ल्यासब्याक’ छ । उक्त संस्मरणमा अमेरिका गएपछि उनले पाएको दुःख पढ्दा भने कहाली लाग्छ ।


उनी अमेरिका पुगेकोे केही महिनामै कार दुर्घटनामा पर्छन । कार क्षतविक्षत हुन्छ, आफू बल्लतल्ल बाँच्छन् । महिनौं ओछ्यानमा थला पर्छन । अस्पतालको बील तेइस हजार डलर पुग्छ । यत्तिले पनि नपुगेर उनी अलि तङ्ग्रिएपछि पुनः कार दुर्घनामा पर्छन । दोस्रोपटक आफूलाई त्यत्ति चोटपटक नलागे पनि कार भने नराम्ररी विग्रन्छ । यसले गर्दा उनको आर्थिक अवस्था भने जर्जर हुन्छ । चिनेजानेका र सहयोग गर्ने जति सबैबाट सहयोग लिँदा पनि उनको आर्थिक अवस्था सुध्रिदैन । पछि उनलाई कतैबाट अप्ठ्यारोमा परेकाहरुलाई सहयोग गर्ने संघसंस्थाहरु पनि हुन्छन् भन्ने बोध भएपछि अस्पतालमै भएको एउटा च्यारिटी संस्थासँग उनको सम्पर्क हुन्छ र उसैलाई सबैकुरा बताएपछि अस्पतालको बीलमध्ये बीस हजार डलरको बील उसैले तिरिदिन्छ । त्यसले उनलाई केही राहत हुन्छ । त्यसपछि भने उनी काममा जान्छन् । उनको म्याडम सवितापनि काममा लाग्छिन् । म्याडम र उनले काम गर्ने फरक फरक ठाउमा हुन्छ । दूरी पनि धेरै टाढा । हप्तादिनमा मात्रै भेट हुन्छ ।


यस्तैमा इञ्जिनियर भट्टराइले आफ्नो यूनिवर्सिटीमा अध्ययन गर्न थाल्छन् । उनको अध्ययनको रुटिन र छोराको अध्ययनको रुटिन नमिल्दा उनलाई समस्या हुन्छ । कतिपटक त उनले ५/६ वर्षको छोरालाई आफू पढ्ने कक्षाको पछिल्तिर बसाल्छन् र इयरफोन कानमा लगाइदिएर ल्यापटप हात लगाइदिन्छन् । यो कार्यमा प्राध्यापकले अब्जेक्सन गरेपछि भने उनले कक्षाकोठा बाहिरै छोरालाई भिडियो ग्याम खेल्न दिएर आफू कक्षामा जाने गर्दछन् । त्यस्तैमा कसैले वेवारिसे र अभिभावकको माया नपाएको बच्चा भेटियो भनेर प्रहरीलाई रिपोर्ट गरिदिन्छ । प्रहरी आएर उनलाई भेट्छ र भन्छ – ‘तपाईले यसरी बच्चालाई हेलचेक्र्याइ गरेर एक्लै छोड्नु गैरकानूनी कार्य हो । तपाईको बच्चा अबदेखि अठारवर्षसम्म हामीसँग हुन्छ।’ त्यत्तिबेला उनलाई साँच्चिकै पिडाबोध हुन्छ र प्रहरीसँग अब यस्तो कहिल्यै गर्नेछैन भनी कागज गर्छन र बच्चालाई आफूसँग राख्न सफल हुन्छन् ।


इञ्जिनियर केशवराज ज्ञवाली पनि अमेरिकामा गएर काम गर्ने क्रममा लडेर दुर्घटनामा पर्दा आफूले महसुस गरेका पिडा लगायतका कुराहरु यसै कीर्तिको ‘दोबाटो’मा लेखेका छन् । अमेरिका बसेको पन्ध्रवर्ष भइसक्दा पनि ‘म यही बस्ने हो वा नेपाल जाने हो ? मैले ठीक गरें वा बेठीक गरें ’? आदि कुरामा अहिले पनि अल्झिरहेका छन् ।‘आँगन छोडेपछि’ मा समेटिएको आफ्नो कीर्ति ‘अमेरिका आगमन’ मा इञ्जिनियर प्रमोद अमात्यले अमेरिकी संस्कृतिप्रति छेडछाड गदै लेखेका छन् – ‘मलाई मैले जागीर खाने जलस्रोत विभागले तिम्रो पत्नीको नाम के हो भनेर तीन–तीन वर्षमा रिपोर्ट मागिरहँदा कहिलेकाही रिस उठ्छ र भन्ने गर्छु –बाजा बजाएर, आफन्तहरुलाई साक्षी राखेर एकजूनीलाई मात्र नभइ सात जुनीलाई भनेर ल्याएको पत्नीको नाम तीन तीन वर्षमा किन अपडेट गर्नु पर्ने ?’ यसको मतलव स्पष्ट छ कि अमेरिकातिर एउटा व्यक्तिको जीवनमा पुनर्विवाह र सम्बन्ध विच्छेद निरन्तर दोहोरिरहने भएको कारण उनीहरु तीन तीन वर्षमा यसलाई अप्डेट गर्ने गर्दछन् ।

‘आँगन छोेडेपछि’ कि एकमात्र महिला स्रष्टा इञ्जिनियर शर्मिला अधिकारीले आफ्नो ‘क्यानडामा एक दशक‘ संस्मरणमा आफूले विदेशमै सानो नेपाल स्थापना गरेको कुरा लेख्दै विदेशमै सासु, ससुरा, देवर–देवरानी, नानीहरु समेत गरेर आठजना सँगै भएको कुरा लेखेकी छन् । सुरुमा अङ्ग्रेजी भाषा सिक्नका लागि भाषा स्कूलमा जाँदा विभिन्न देशका मानिसहरुसँग घुलमिल हुँदा आखिर जुन देशको भए पनि मान्छे भनेको मान्छेकै निम्ति हुँदोरहेछ भन्ने भावमा उनले लेखेकी छन् –‘कहिले अङ्ग्रेजी, कहिले हिन्दी त कहिले नेपाली शब्दहरु मिसाउदै एउटै भाषामा कुरा गथ्र्यौं हामी – मनको भाषा । जहाँ अक्षर शुद्ध भएन कि भन्ने भय पनि हुदैन, बोल्दा वाक्य बिग्रेला कि भन्ने चिन्ता पनि हुदैन ।’ यस्तै यस्तै भावनाहरु साहित्यकार इञ्जिनियरहरु सुशील ताम्राकार, डा. मधु माधुर्य, मनोज कार्की, कृष्ण कुशुम, राजन महर्जन र सतिश त्रिपाठीका पनि रहेका छन् । कुशुम ज्ञवालीले सुरुमा क्यानडामा आउदा आफू इञ्जिनियर भएर पनि सुरुमा होटेलमा भाडा माझेको र तीन महिनाको नानीसहित परिवारलाई साथमा लिएर कारमा पैतीस सय किलोमिटरको चार दिनको यात्रा गरेको घटनाले सम्झिदा पनि त्यत्तिकै चुनौतिपूर्ण लाग्छ ।


सबै लेखकहरुले एउटै कुरा उल्लेख गरेका छन् कि उनीहरु विदेशमा बिरामी हुँदा किन यो दुःखद खवर सुनाएर दुःखी बनाउने, भेट्न आउन पनि सम्भव छैन भनेर नेपालका आफन्तहरुलाई सञ्चो भएपछि मात्रैबिरामी भएको खवर सुनाउने गर्दछन् । नेपालमा इञ्जिनियरिङ पेशा घुस र भ्रष्टाचारसँग जोडिएको पेशा भएकोमा दुःख व्यक्त गर्दै विदेशमा त्यसो नहुने कुरा अभिव्यक्त गरेका छन् । नेपालमा प्रतिभा र क्षमता भएर पनि जागिर नपाउने बरु चाकरीको भरमा झाङ्गिएकाहरुले बढुवामा, लोकसेवा आयोगले गर्ने सीट निर्धारणमा र विज्ञापन अघिपछि सार्ने सम्बन्धमा समेत हालिमुहाली गरेर क्षमतावानलाई हैरानी दिएको लेखेका छन् ।

ऋषिराम पराजुलीले नेपालका प्राध्यापकहरुको बस्ने कुर्चीसम्म पनि नभएको अवस्थामा जापानमा हरेक प्राध्यापकहरुको विश्वविद्यालयमै अनुसन्धानमा आधारित ल्याव भएको र विद्यार्थीहरुले परिचयको क्रममा आफ्नो नाम र ल्याव समेत भन्नु पर्ने व्यवस्थाले यो पङ्क्तिकारलाई पनि अचम्मै लोभ्यायो ।


नेपालमा समाज र सरकारका हर क्षेत्रमा दलालहरुको हालीमुहाली भएको भोगाइ उल्लेख गर्दै विदेशतिर यूनिवर्सिटीहरुमा करियर सेन्टरको व्यवस्था भएको र त्यस्ता सेन्टरहरुले अध्ययन र जागिरको सिलसिलामा उचित सल्लाह दिने गरेको कुरा मन प¥यो । संस्मरणहरुमा दिल्लीको मुख्य मन्त्री केजरीवालले भनेजस्तै नियम होइन कि नियत ठीक नभएको कारण हामी र हाम्रो मुलुक क्रमशः टाटपल्टिने दिशातिर लागेको छ भन्ने भावका डायस्पोरिक विचारहरुले ह्याकुलाको पत्रपत्रमा छोएको अनुभूति भयो ।

‘आँगन छोडेपछि’ पढेपछि प्रतिभावानहरुलाई विदेशतिर लेखेटेर उनीहरुले पठाएको रेमिट्यान्समा वरिपरि धुपौरेर माझमा आफू बसी मस्ती गर्ने नेपालका हिजोदेखि आजसम्मका शासकहरुको सोचहरुप्रति अझ बढी घृणा जागेर आयो । सबैलाई चेतना भया ।

प्रतिक्रिया

प्रतिक्रिया