खजुराको धौलागिरीमा ‘मगर होमस्टे’

खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले आर्थिक समृद्धिसंग जोडिएको भएकाले होमस्टे सञ्चालनले खजुराको समृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

खजुरा गाउँपालिका ३ धौलागिरीमा मगर होमस्टे सञ्चालनमा ल्याइएको छ । एक पालिका एक होमस्टेको अवधारणलाई अगाडि बढाउँदै दुई वर्षको निरन्तर प्रयासपछि गुरुङ मगरको बस्ती रहेको धौलागिरीमा नौमती सामुदायिक होमस्टे सञ्चालनमा ल्याइएको हो ।

मगर संस्कृति, संस्कार र सभ्यतामा रमाउन बाँकेको खजुरा गाउँपालिका ३ मा मगर समुदायले होमस्टे सञ्चालनमा ल्याएका छन् । शुरुमा ९ वटा घरलाई होमस्टेका रुपमा संचालनमा ल्याएको हो । ‘यसलाई बढाउँदै लैजाने हो,’ होमस्टे परामर्शदाता पूर्णचन्द्र उपाध्यायले दैनिक नेपालगन्जसँग भने । उपाध्यायका अनुसार, मगर समुदायको संस्कार त्यसै पनि पाहुनालाई स्वागत र सत्कारमा कमी नराख्ने समुदाय हो अब होमस्टे संचालनमा आएसंगै पाहुनाको स्वागत र सत्कारका लागि मगर कला संस्कृति रहनसहन र खानपानमा जोड दिइएको छ ।

होमस्टे उद्घाटन गर्दै खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले आर्थिक समृद्धिसंग जोडिएको भएकाले खजुराको समृद्धिमा होमस्टे सञ्चालनले टेवा पुग्ने विश्वास गरिएको बताए ।

नौमती सामुदायिक होमस्टे गाउँ धौलागिरीका अध्यक्ष छवि काला थापाले धौलागिरीमा पाहुना भएर आउने जाने जो कोहीलाई पनि अब मगर संस्कृतिमा मनोरञ्जन गराइने बताए । संस्कृतिसँगै नजिकै रहेको किरणनालामा गोही हेर्ने र नौमस्ती बाजाको धुनमा नाचगान गरी भरपूर मनोरञ्जन लिने व्यवस्था होमस्टे गाउँमा गरिएको नौमती सामुदायिक होमस्टे गाउँ धौलागिरीका अध्यक्ष थापाले बताए ।

स्थानीय मगर अगुवा चित्रबहादुर रानामगरले मगर गुरुङहरुको खानपान, संस्कृतिलाई बचाउँदै भावपुस्तालाई समेत संस्कार र संस्कृति बचाइ राख्न प्रेरणा दिन खोजिएको बताए । ‘हाम्रा पूर्खाले गरेका परम्परागत कुराहरुको उजागर गर्ने, संस्कारसंस्कृतिको संरक्षण गर्ने उद्देश्यले होमस्टे संचालन गरिएको हो,’ उनको भनाइ छ ।

होमस्टे महासंघका महासचिव कृष्ण चौधरी घरायसी वातावरणमा बसोबास, आफ्नै खेतबारीमा उत्पादन भएका अर्गानिक खानाका परिकारको स्वाद पस्कँन होमस्टे प्रभावकारी हुने बताए । ‘कला, संस्कृतिको जर्गेना गरी राम्रो आयआर्जनको समेत पाटोका रुपमा होमस्टेलाई प्रवद्र्धन गर्न आवश्यक छ,’ महासचिव चौधरीले भने । ‘साँच्चिकै मगर समुदायको खानपान र रहनसहनमा होमस्टे पुग्ने जो कोही पाहुना पनि सजिलै घुलमिल हुने र मगर संस्कारमा रमाउने देखिन्छ,’ त्यहाँ पुग्ने सबैको भनाइ थियो ।

प्रतिक्रिया

प्रतिक्रिया