मौलिकता बिनाको अपुरो समृद्धि

नेपाली मौलिक सम्बतको नयाँ बर्ष २०७९ हिजोबाट शुरु भएको छ । यो बर्ष नेपालको इतिहासमा सम्झनै पर्ने बर्ष बन्नेछ भन्ने लागेको छ । आजभन्दा तीनसय बर्ष अगाडी बिक्रम सम्बत १७७९ पनि नेपालको इतिहासमा स्वर्णिम बर्ष नै बनेको थियो ।

नेपालको मुलकुल धर्मसँस्कृति भाषा सभ्यता नै खतरामा परेको र नेपाललाई विदेशी विधर्मीहरुले आक्रमण गर्न खोजेको बेला नेपाली अस्मिता बचाउने महापुरुष बडामहाराजधिराज पृथ्वीनारायण शाहको जन्म भएको थियो । बिक्रम सम्बत १७७९ ले वर्तमान नेपालको इतिहास जन्माउने काम गर्यो भने आज तीनसय बर्षपछि फेरि नेपालको अस्मिता खतरामा परेको छ । विदेशी विधर्मीहरुले नेपाललाई हरेक मोर्चाबाट आक्रमण गरिरहेका छन् । नेपालको मुल कुललाई गाली गर्न लगाइँदै छ ।

यहाँको मौलिक धर्मसँस्कृति माथि विधर्मीहरुका धर्मसँस्कृतिको नाङ्गो आक्रमण चलिरहेको छ । नेपाली र यहाँका मौलिक भाषालाई विकास विरोधी भाषा भएको भन्ने भाष्य निर्माण गर्न खोजिँदै छ । नेपालको वैदिक सनातन सभ्यतालाई संविधान मै गाली गरेर देशको राजनीतिको मार्ग खोजिएको छ । नेपाली मौलिकतालाई त्याज्य बनाउनु भनेको नै विकास र समृ्िद्धको आधार हो भन्ने न्यारेटिभ वर्तमान राज्यसञ्चालक देखि बुद्धिजीविहरुले तयार गरिरहेका छन् ।


नेपालको गौरवपूर्ण इतिहासलाई मासेर त्यसको खरानीमा स्थापित गरिने प्रगतिले कस्तो किसिमको सभ्य र नैतिक समाजको स्थापना गर्न खोजिएको हो ? त्यसको स्पष्टता नै छैन । जबकि संसारका अन्य देशका इतिहासलाई खोतल्ने हो भने त्यहाँ आफ्नो देशको कुनैपनि मौलिकतालाई मासेर समृद्धिको आधार तय गरेको पाइँदैन । उनीहरुलाई थाह छ कि हरेक देश या समाजको जरो भनेको उसको विगत नै हो । उसको परापूर्वकाल देखि चलि आएको रित, थित, परम्परा, भाषा, धर्म संस्कार, सँस्कृति र सभ्यता नै उसको वर्तमानको आधार हो । यहि मूल जरोबाट उम्रिएको कोपिलाले मात्रै भविष्यमा रसिलो फल दिन्छ । देशको उन्नति र प्रगति हुन्छ र भएको पनि छ ।


नेपालमा यसको ठीक उल्टो बाटो तय गरिएको छ । यहाँ आफ्नो मौलिकतालाई मासेर त्यसैको खरानीमा समृद्धि खोजिँदै छ । हो् कतिपय कुराहरु आधुनिक प्रविधिको अनुकुल नहुन सक्छन् या आजको विज्ञानको बुद्धिसँग बाझिएको जस्तो लाग्न सक्छ । यदि त्यस्तो छ भने आफ्नो मूल जरोसँग तारताम्यता मिलाउँदै त्यसको आधारस्तम्भमा आधुनिकताको महल बनाउन सक्नुपर्छ । यसैलाई नै स्थितिगत्यात्मकता भनिन्छ । यहाँ विगतलाई स्थित गर्दै आजको प्रगतिलाई अँगाल्न जरुरी छ । अन्यथा त्यो प्रगति छाडा, नैतिकताहीन, विवेकहीन र बिनासक र सम्प्रदायिक र्नै हुन्छ । नेपालमा देखिएको वर्तमान परिस्थिति कमोबेस यहि हो ।


विश्वभर छरिएर रहेका नेपालीहरुले आफ्नो मौलिक सम्बत २०७९ लाई बिभिन्न तरिकाले मनाइरहेका छन् । यो नेपालको लागि अति नै गौरवको कुरा हो कि हामी विश्व गुरु थियौं । आजपनि संसारमा पृथक र आफ्नै मौलिक धर्म, सँस्कृति, भेषभूषा, भाषा, खानपान, आफ्नै मौलिक चाडवाड आदिले प्रख्यात रहेको देश नेपाल मात्रै छ । बीचमा केहि कुलङ्गारहरुको आगमनले गर्दा यी आफ्ना मौलिक पहिचानहरुलाई मेटाउने काम भएको छ तर उनीहरुले चाहेको जस्तो यति सजिलोसँग नेपालको हजारौं बर्षको बिरासत मेटिइहाल्ने अवस्था भने पक्कै रहने छैन । सम्बत २०७९ यसको साक्षी बन्नेछ ।


‘यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत ।
अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् ।।
परित्राणय साधूनां विनाशाय च दुष्कृताम् ।
धर्मसंस्थापनार्थय सम्भवामि युगे युगे ।।

अर्थात ’जबजब यो धर्तीमा अर्धम बढ्ने छ, असाह्यहरु माथि ज्यादति बढ्नेछ, विधर्मीहरुको बोलबाला हुनेछ तब तब म (ईश्वर ) यो धर्तीमा अवतरित हुनेछु । धर्मको रक्षाका लागि म पटकपटक आउने छु । ’


द्धापर युगमा भगावान श्रीकृष्णको यो कुराले नेपालको पुर्नजागरणमा पनि प्राणवायु थपेको छ । नेपालको मौलिक राजनीति, मौलिक अर्थतन्त्र, मौलिक शिक्षातन्त्र, मौलिक कृषि, मौलिक धर्मसँस्कृति र देशको अस्मिता सहित समस्त मौलिकता नै विदेशीहरुका ताबेदारहरुले जबजब मास्ने प्रयास गरे तबतब नेपालको पुर्नजागरण युग पनि शुरु भएको छ । तीन सय बर्ष अगाडी जब खण्डखण्डमा रहेको नेपालको मौलिकता विदेशी सम्राज्यवादीहरुको खतरामा परेको थियो गुरु गोरखनाथको आर्शिवादले बडामहाराजधिराज पृथ्वीनारायण शाहको उदय भयो । वहाँ कै उदयका कारण नै नेपालको अस्मिता बच्न सकेको यर्थाथ हो । वहाँको त्यो पुण्यकर्म कै परिणाम आजको नेपाल हो ।


बडामहाराजको अवसान भएको अढाई सय बर्ष पछि फेरि नेपाली अस्मिता र नेपाली मौलिकता पुनः संकटमा परेको छ । आज देशलाई पुर्नजागृत गर्नुपर्ने बेला आएको छ । नेपालको मौलिक धर्म, सँस्कृति, भाषा र सिँङ्गो सनातन सभ्यता माथि नै चारैतिरबाट आक्रमण भैरहेको छ । नेपालको राजनीतिमा समेत विदेशीको निर्देशन चल्न थालेबाट नेपालको सार्वभौमसत्ता नै कसको हातमा छ भन्ने खुट्याउन गाह्े परेको अवस्था छ ।


जताततै भागबण्डा, जातिय क्षेत्रीय कित्ताकाट र घृणाबादको बाढिले नेपाली नेपाली बीचमा नै वैमनश्यताको अवस्था सृजना गराइएको छ । राज्यको गोपनीयताहरु कहिले छिमेकीका पार्टीकार्यालयहरुमा त कहिले आफ्नै बिस्तरामा बोलाएर पोख्याइएका छन् । न्यूनतम लज्जाको त्यान्त्रोसम्म पनि राखिएको छैन । यस्तो क्षतबिक्षत भएको राज्य संयन्त्रको डोरी मक्किँदै गएको बेला बडामहाराजका ती दिव्योपदेशले पक्कै पनि हरेक नेपालीको मन मुटुमा भक्कानो उठाएको छ ।


व्यक्तिको उमेर र उसको प्रत्यक्ष कर्मको समयसीमा रहन्छ तर उसको दिव्यकर्मको इतिहास देश रहेसम्म कसैले मेट्न सक्दैन । बिक्रम सम्बत १७७९ ले पृथ्बीनारायण शाहलाई ल्यायो भने यो २०७९ ले पनि नेपाली स्वार्थमा कुनै न कुनै आशाको त्यान्त्रो थप्ने छ । र त्यसको शुरुआत पनि भैसकेको छ ।

यो देश एकाध दशक अघि यत्तिकै कसैले कुम हल्लाएर बनेको देश होइन । न त कुनै विदेशीको भत्ता र भतेरले बनेको देश हो । नेपाल हिजो या एक दशक या एकाध सय बर्ष पहिला या डलरको प्रचलन शुरु भएपछि बनेको देश पनि होइन । कसैले लुट्नैका लागि जोडेको या लुटेर बाँकी रहेको हिस्सा जोडेर बनेको देशपनि होइन । यो कोहि फिरङ्गी भौतारिएर टापुमा पुगेपछि त्यहाँका कबिलाहरुलाई दास बनाएर नश्लसंहार गरेर बनेको देशपनि होइन । यो देश दरबारको शानभित्र नअटाएर भगौडाहरुको जत्था जम्मा भएर बनाइएको देश पनि होइन । अनि यो जातिय नरसंहार गरेर बनेको देशपनि होइन । अनि कुनै वेस्टफेलिया जस्ता सम्झौताले बनेको देशपनि होइन । यो देश कुनै संयोग (इत्तिफाक) ले बनेको देश पनि होइन ।


नेपालको जन्म नै मानव सभ्यता सँगै भएको हो भन्दा पनि अतिशोक्ति हुँदैन । सधैं सनातन सँस्कृति र सभ्यताको केन्द्र रहेको नेपालको भौगोलिक सीमा खुम्चिएको या तन्किएको अवश्य हो तर देश नै नयाँ बनेको भने पक्कै होइन ।
यो देशका बिभिन्न कालखण्डहरु मध्ये झण्डै तीनसय बर्ष अगाडी पृथ्वीनारायण शाहको नेतृत्वमा भएको नेपालको पुर्नजागरण र एकिकरणको कालखण्डले पछिल्लो पटक संगठित भएको हो । आज नेपाली अस्मिता, नेपाली सभ्यता नै मरणासन्न अवस्थामा पुर्याइँदै गर्दा फेरिपनि नेपालको पुर्नजागरणको युगको शुरुआत भएको छ । यो कामलाई रफ्तार यो नयाँ बर्ष २०७९ ले दिनेछ ।


समय निकै बलवान हुन्छ, यसका अगाडी कसैको जोर चल्दैन । बडामहाराजधिराज पृथ्वीनारायण शाह कै तर्जमा नेपालको मौलिक संम्बत नयाँ बर्ष २०७९ ले पनि नेपाललाई अर्कोपटक पुर्नजागरण गराउने छ । हरेक नेपालीले लिने संकल्पले नै नेपालको पुर्नजागरण हुनेछ । नेपालको समष्टिगत पुर्नजार्गरणको बर्ष २०७९ मा हरेक नेपालीले आफ्नो जरो आफै खोज्नेछन् । आफ्नो जरोमा उभिएर नै यो देशको राजनीतिको मार्ग तय गर्नेछन् । आफ्नै मौलिकताको किलोमा बाँधिएर नै नेपाली अस्मिताको रक्षागर्नेछन् । नेपालको मौलिक अर्थनीति, मौलिक शिक्षानीति, मौलिक कृषिनीति र नेपालको मौलिक विकासको ढाँचा तय गर्नेछन् ।


विक्रम सम्बत १७७९ ले नेपालको मौलिकताको रक्षाको मार्ग कोर्ने पात्र जन्माएको थियो भने यो २०७९ ले उनै महापुरुषको मार्गमा हिँडेर नै नेपाली अस्मिता रक्षाको मार्ग कोर्ने छ । यसका लागि आधारशीला तयार भैसकेको छ । नेपाल मै जरो र नेपाल मै किलो भएको नेपाली मौलिकताको आधार निर्माण भएको छ । अब यसलाई देशको राजनीति, शिक्षानीति, कृषिनीति, परराष्ट्रनीति, अर्थनीतिमा प्रयोग गराउनु छ । यो बर्ष २०७९ नेपालको इतिहासमा अर्को पुनर्जागरणको ऐतिहासिक बर्ष बनोस् सबैलाई नयाँ बर्ष २०७९ को हार्दिक एंव मंगलमय शुभकामना !

प्रतिक्रिया

प्रतिक्रिया