देशभरका सामुदायिक रेडियो सञ्चालक नेपालगन्जमा, आज अकोराबको साधारणसभा
मुलुकभरका सामुदायिक रेडियो सञ्चालकहरु नेपालगन्जमा भेला भएका छन् । सामुदायिक रेडियोहरुको छाता संस्था, सामुदायिक रेडियो प्रसारक संघ (अकोराब)को १६औं बार्षिक साधारणसभा एवं सामुदायिक रेडियो राष्ट्रिय सम्मेलनका लागि ३ सय बढी रेडियो सञ्चालकहरु नेपालगन्जमा भेला भएका हुन् ।
आज बुधबार कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बढुले उद्घाटन गर्ने कार्यक्रम रहेको सम्मेलनमा सामुदायिक रेडियोले हासिल गरेका उपलब्धी र यसक्षेत्रका चुनौतिबारे बहस पनि गरिंदैछ । ‘सामुदायिक रेडियोको अबको बाटो के हुने ?, हामी त्यसबारे खुलेर छलफल बहस गर्दैछौं’, अकोराबका अध्यक्ष अर्जुन गिरीले तयारीबारे जानकारी दिन मंगलबार साँझ गरिएको पत्रकार सम्मेलनमा भने, ‘अब पुरानै तरिकाबाट सामुदायिक रेडियोहरु अगाडि बढ्छन् भन्ने हामीलाई पनि लागेको छैन ।’
अध्यक्ष गिरीका अनुसार, दुई दिनसम्म चल्ने सम्मेलनको पहिलो दिन औपचारिक कार्यक्रमसँगै विभिन्न विषयगत बहसहरु गरिंदैछन् । ‘समूहगत छलफलबाट सामुदायिक रेडियोमा महिला, आदिबासी, जनजाति, मधेसी, मुस्लिम तथा अल्पसंख्यक र पिछडिएको वर्गको रेडियो स्वामित्व र सहभागिता अभिवृद्धिबारे छलफल गरिनेछ’, गिरीले भने, ‘भाषाभाषीको संरक्षण र प्रवद्र्धनमा सामुदायिक रेडियोको भूमिका बारेपनि समूहगत छलफल गरिंदैछ ।’
सम्मेलनका क्रममा विपद् तथा महामारी लगायतका नयाँ चुनौतिहरुको सामना गर्न सक्ने समुदाय निर्माणमा सामुदायिक रेडियोको भूमिका खोतल्ने प्रयास गरिंदैछ । ‘सामुदायिक रेडियोले आफ्नो प्रसारणमा प्राथमिकता दिनुपर्ने क्षेत्रहरु पहिचानको खाँचो महसुस भएको छ’, पत्रकार सम्मेलनमा सोधिएका विभिन्न जिज्ञासामा अध्यक्ष गिरीले भने, ‘सामुदायिक रेडियोको मूल्य, मान्यतामा अडिग रहेर एउटा फ्रेमवर्कमा बस्न तयार छौं ।’ त्यसका लागि सरकारले सामुदायिक रेडियोको स्पष्ट परिभाषा गरिदेओस् भन्ने चाहना अध्यक्ष गिरीको थियो ।
‘सम्मेलनले जारी गर्ने नेपालगन्ज घोषणापत्रले सामुदायिक रेडियोको भविष्यबारे निष्कर्ष दिने कुरामा हामी विश्वस्त छौं’, पदाधिकारीहरु सहित पत्रकार माझ प्रस्तुत भएका अध्यक्ष गिरीले अघिल्लो बर्ष जिम्मेवारी सम्हाल्दा ताका भएको सांगठनिक उल्झन व्यवस्थापनमा पनि साधारणसभाको ध्यान पुग्ने विश्वास दिलाए । ‘हदैसम्मको लचकता अपनाएर साथीहरु बीचको एकता हाम्रो प्राथमिकता हो’, अध्यक्ष गिरीले पत्रकारहरुसँग भने ।
मुलुकमा भएका ठूला परिवर्तन र विपद्मा सामुदायिक रेडियोहरुले खेलेको भूमिकाकै कारण स्रोतामाझ विश्वास बढ्दै गएको अध्यक्ष गिरीको ठम्याई छ । तर, यसबीच ४० वटा सामुदायिक रेडियो बन्द भएको तथ्य अघि सार्दै अध्यक्ष गिरीले भने, ‘अब सामाग्रीमा सुधार नगर्ने हो भने विश्वास घट्ने र त्यस्ता रेडियो नचल्ने अवस्था सिर्जना हुनसक्छ ।’ सामुदायिक रेडियोले दक्षिण एशियामै पहिलो स्वतन्त्र रेडियोको सफल प्रयोग गरेर विश्वभर सकारात्मक छवि निर्माण गरेको प्रसंग औंल्याउँदै अध्यक्ष गिरीले भने, ‘अरुले नेपालको सिको गर्दैछन्, त्यसैले पनि अब कन्टेन्टमा सुधार आवश्यक भैसकेको छ ।’ अध्यक्ष गिरीले त्यसो भनिरहँदा नेपालगन्जका पत्रकारहरुको प्रश्न थियो, ‘स्रोताले सामुदायिक रेडियो र अन्य बीचको फरक छुट्याउने गरी कन्टेन्ट कहिले बन्ला ?’
देशभर ७० बढी भाषामा सामुदायिक रेडियोहरुले कार्यक्रम तथा समाचार प्रसारण गरिरहेको तथ्यांक दिंदै अकोराबले २५ हजार बढी परिवारको योगदान र १० हजार बढी समुदायका रेडियोकर्मीहरुको अपनत्वमा सामुदायिक रेडियो अभियान चलिरहेको जनाएको छ । ‘नेपालगन्ज सम्मेलनले सामुदायिक रेडियोको आन्दोलन र अभियानलाई बलियो बनाउन अर्को इट्टा थप्ने कुरामा हामी विश्वस्त छौं’, अध्यक्ष गिरीले भने ।
अकोराबका महासचिव किशोरजंग थापाका अनुसार, देशभरबाट ३ सय ६१ सामुदायिक रेडियोका प्रतिनिधि सहभागी हुने पूर्व निर्धारित कार्यक्रममा नयाँ अवधारणा तय गर्दै सामुदायिक रेडियोको भविष्य दिशा निर्दिष्ट गर्न सम्मेलन आयोजना गरिएको हो ।
बुधबार विहानैबाट चल्ने साधारणसभा, राष्ट्रिय सम्मेलन र अकोराब स्थापना दिवसमा सहभागी हुन मुलुकका ७७ वटै जिल्लाबाट प्रतिनिधि आउने क्रम सुरु भैसकेको अकोराब बाँकेका संयोजक मो. आरिफ अन्सारीले जानकारी दिए ।
अकोराबका पूर्व पदाधिकारीहरु देखि नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, सामुदायिक रेडियोका अभियन्ताहरु मंगलबार नै नेपालगन्ज आइसकेका छन् । साधारणसभामा अकोराबका पूर्व अध्यक्ष मिन बहादुर शाही, मोहन चापागाई, सामुदायिक रेडियोका अभियन्ता दधिराम सुवेदी, अवधी साँस्कृतिक क्षेत्रका अगुवा श्यामानन्द सिंह लगायतलाई सम्मान गर्ने कार्यक्रम पनि रहेको अकोराबले जनाएको छ ।