सन्दर्भ : सामुदायिक रेडियोहरुको नेपालगन्ज सम्मेलन

पश्चिम नेपालको ऐतिहासिक शहर नेपालगञ्जमा देशभरका सामुदायिक रेडियोका अगुवाहरु भेला भएका छन् । रेडियोलाई माया गर्ने साझेदारहरु पनि यहि मौकामा नेपालगञ्ज उत्सवमा सामेल छन् ।

आजदेखि सुरु हुन लागेको देशभरका सामुदायिक रेडियोहरुको छाता संस्था सामुदायिक रेडियो प्रसारक संघ नेपालको १६ औं साधारणसभा तथा राष्ट्रिय रेडियो सम्मेलनले यो मौका जुराएको हो । साधारणसभा र सम्मेलनले सामुदायिक रेडियोका चुनौति, अबसर र अबको बाटोका बारेमा पक्कै घनिभुत छलफल र दिशानिर्देश गर्नेछ ।

तर, देशभरका सामुदायिक रेडियोहरुका प्रतिनिधि नेपालगञ्जमा जम्मा भैरहँदा उहाँहरुलाई स्वागत गर्नु नेपालगञ्जबासी र यहाँका हामी सबै रेडियोकर्मीको कर्तव्य नै भयो । साथसाथै नेपालगञ्जमा हामीले गरेको अभ्यास साँट्नु पनि हाम्रो दायित्व नै हो ।
अब कोरोनाकालको सन्दर्भ जोडौं ।

हरेक उमेर र कक्षाका विद्यार्थीका लागि कक्षा चढ्ने समय उत्साहको हुन्छ । पुस्तक, कक्षा कोठा, शिक्षक, साथी सबै नयां नयां हुने भएकाले विद्यार्थीहरुमा नौलो र उत्साहको सञ्चार नहोस् पनि किन ?

तर, २०७७ सालको वैशाखको नयाँ शैक्षिक सत्र भने उल्टो भैदियो । कोरोना महामारीका कारण विद्यालय मात्र होइन समाजको सबै क्षेत्र ठप्प भएपछि विद्यार्थीहरुले नयां शैक्षिक सत्रको उत्साह अनुभूति गर्न पाएनन् ।

८ कक्षा उक्लिएका बांकेको खजुरास्थित धौलागिरी माध्यामिक बिद्यालयमा अध्ययनरत राजेश चमार पनि निराश हुनु भयो । तर, चमारको निराशामा थोरै उत्साह लिएर केहि दिन पछि नेपालगञ्जको सामुदायिक रेडियो कृष्णसार एफएम ९४ मेगाहर्ज आयो । स्कुल जान नपाउंदा पढाई रोकिएर अलमल भैरहेका बेला रेडियो मार्फत् घरमै बसेर शिक्षकले पढाएको कक्षा लिन पाइने सुन्दा सुरुमा असाध्यै खुसी लागेको राजेश सम्झनु हुन्छ ।

कृष्णसार एफएमले वैशाख १४ गतेदेखि देशमै पहिलो पल्ट स्कुल तहको पढाई सुरु गरेको थियो । यो पहल संगै शिक्षकहरु स्टुडियो छिर्न थाले भने विद्यार्थी रेडियो सेट नजिक बसेर पढ्न थाले । नेपालगंज उपमहानगरपालिका संगको साझेदारीमा रेडियो स्कुल सुरु गरिएको थियो । चैत्र ११ गते लकडाउन सुरु भए लगत्तैदेखि प्रयास गरिए पनि वैशाखको दोस्रो सातादेखि मात्रै कक्षा संचालन सुरु गर्न सकिएको कार्यक्रम संयोजक माधव अधिकारीले बताउनु भयो ।

नेपालगंजको जस्तै अभ्यास विस्तारै अन्य जिल्लाहरुमा पनि सुरु भयो । पूर्वको झापामा दमकस्थित सप्तरङ्गी एफएमले असार २१ गतेदेखि रेडियोबाट कक्षा सञ्चालन सुरु गर्यो । ईलामको चुलाचुली गाउँपालिकासंगको सहकार्यमा सुरु रेडियो कक्षाका लागि विद्यार्थीहरुले गाउंटोलमा समूह बनाएर रेडियो सुनेको चुलाचुली २ स्थित पञ्चकन्या आधारभूत बिद्यालयका प्रधानाध्यापक सुरेन्द्र कटुवालले सम्झनु भयो ।
नेपाली समाजका लागि रेडियो खबर सुनाउने सवै भन्दा पहुंच भएको माध्यम हो । तर, विपद, ठूल्ठूला राष्ट्रिय अभियान वा उत्सवमा रेडियो सबैको प्रिय र अत्यावश्यक साधन बन्दै आएको छ । आमचुनाव, महाभुकम्प जस्ता सबै नेपालीका चासोका सवालमा नेपालमा एफएम रेडियोहरु जसरी लोकप्रिय र प्रभावकारी देखिए कोरोना कहरमा पनि उत्तिकैसक्रिय र प्रभावकारी देखिएको तथ्यले बताउंछ ।

मिडिया सर्वेक्षण गरिरहने संस्था सेयरकाष्ट इनिसियटिभको यस अघिका सर्वेक्षणमा ५० प्रतिशत हाराहारी रेडियोका स्रोता संख्या देखिन्थ्यो । तर, कोरोना पछिको अध्ययनले स्रोता संख्या ८० प्रतिशत हाराहारी देखाएको थियो ।

खासगरी पत्रिका बन्द जस्तै र टिभीले रंग गुमाएजस्तो अवस्थामा पनि एफएम रेडियोहरुले सचेतना र सूचना प्रवाह संगै शिक्षा क्षेत्रमा गरेको ‘इमरजेन्सी रेस्पोन्स’ प्रयासले स्रोता र प्रभाव दुवै चुलिएको सम्बद्धहरुको भनाई छ । सामुदायिक रेडियो प्रसारक संघका अध्यक्ष अर्जुन गिरी कोरोनाकालमा विद्यार्थीको कक्षा कोठा एफएम रेडियो सेटमा पुगेकोबताउनु हुन्छ । तथ्य संकलित नभए पनि देशभर रेडियो मार्फत् उल्लेख्य संख्यामा पाठ्पुस्तक पढाईको प्रयास भएको उहांको भनाई छ । संघले शैक्षिक कार्यक्रमका बारेमा गरेको पछिल्लो सर्वे अनुसार सर्वेमा सहभागि २ सय २४ रेडियो मध्ये ८० प्रतिशतले आफ्ने पहलमा शैक्षिक कार्यक्रम संचालन गरेका थिए ।

नेपालमा १२ कक्षासम्मकाविद्यालय तहका करीव ८१ लाख, विश्वविद्यालय तहका करिव ७ लाख र प्राविधिक तथा व्यवसायिक शिक्षाका करिव ९२ हजार विद्यार्थी कोरोना त्रास सुरु भएको वर्षको सुरुवातदेखि नैशिक्षालयमा भौतिक रुपमा उपस्थित भएर पढ्नबाट बञ्चित भएका थिए ।

नीजि विद्यालयले शहरमा वैशाखको पहिलो सातादेखि नै अनलाइन कक्षा संचालन गरे भने स्थानीय रेडियोहरुले स्थानीय सरकार र गैससको साझेदारीमा एफएम रेडियो मार्फत् रेडियोस्कुल पनि वैशाखैदेखि नै सुरु गरे । आधिकारिक तथ्यांक नभए पनि झण्डै एक सय बढि एफएम रेडियोहरुले शिक्षकहरुलाई लाइभ रेडियोमा राखेर कक्षागत स्कुले पढाई संचालन गरेको अनुमान छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले तयार पारेका पाठ्य सामग्री रेडियो नेपाल र सामुदायिक सूचना नेटवर्क सीआइएनबाट पनि प्रसारण गरिए । विस्तारै देशभर विभिन्न रेडियोहरुले स्थानीय सरकार र गैससको साझेदारीमा एफएम रेडियो मार्फत् पढाउन सुरु गरे । यसले एकैपटक हजारौं विद्यार्थीलाई कक्षाकोठाको अनुभूति दिलाउन सक्यो ।

कृष्णसार एफएमको रेडियो स्कुलका बारेमा विश्व वैंकको वेवसाइटमा छापिएको एउटा व्लगमा स्थानीय सरकार, गैसस र एफएम रेडियोको साझेदारीमा कोभिडमा शिक्षा क्षेत्रको ‘इमरजेन्सी रेस्पोन्स’को उदाहरणीय पहल भनिएको छ । विस्तृत विवरण पढ्न यहाँ क्लिक गर्नुहोस् ।

https://blogs.worldbank.org/endpovertyinsouthasia/nepal-steps-remote-learning-during-covid-19


नेपालगंज उपमहानगरपालिका, शिक्षक महासंघ र कृष्णसार एफएमको पहलमा केही गैह्र सरकारी संस्थाको सहयोगमा रेडियो स्कुल सुरु भएको थियो । तर, रेडियो स्कुलको प्रभावकारिता संगै बांकेका खजुरा, बैजनाथ, डुडुवा, नरैनापुर लगायतका गाउंपालिकाले पनि रेडियो स्कुलमा साझेदारी गरेको रेडियो स्कुल कार्यक्रम समन्वय समितिका संयोजक तथा उपमहानगरका शिक्षा शाखा प्रमुख गोरख थापाले जानकारी दिनुभयो । उहांका अनुसार स्थानीय तहको संयोजनमा एफएम रेडियोले प्राविधिक सहयोग, शिक्षक महासंघले शिक्षक सहयोग र गैससहरुले आर्थिक सहयोग गर्ने गरी नियमित तयारी बैठकहरु गरेर रेडियो स्कुल संचालन गरियो । यो अभियानमा सेभ द चिल्डे«न, प्लान, स्याक, एसडीएफ जस्ता संस्थाले आर्थिक सहयोग गरेका थिए ।

रेडियो स्कुलमा अभिभावकलाई सचेत बनाउन, छुटेका विद्यार्थीहरुलाई समेट्न र असजिलो भएमा सहजीकरण गर्न जिम्मेवारी तोकिएको थियो । खजुरा गाउंपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतीका अनुसार यो काममा शिक्षक, जनप्रतिनिधि समेत परिचालन भएको र शिक्षा समितिको बैठक बाटै रेडियो स्कुल संचालन गर्ने निर्णय पारित गरिएको थियो ।

विस्तारै बर्दिया, सल्यान, डोटी, तनहुं, झापा जस्ता कैयौं जिल्लामा रेडियो मार्फत् पढाउन सुरु गरियो । बालबालिकाहरुले रेडियो मार्फत् कक्षा लिने, वादविवाद, वक्तृत्वकला जस्ता सिर्जनात्मक कार्यक्रममा सहभागी हुने जस्ता अबसर पाए । कोरोनाको कहरले सबै घरमा थुनिएका बेला रेडियो स्कुल कार्यक्रमले बिद्यार्थीलाई अध्ययनमा सक्रिय बनाएको बांकेको ज्ञानोदय माबि खजुराका प्रधानाध्यापक ऋषिराम सापकोटाले बताउनुभयो । रेडियोबाट संचालन हुने कक्षामार्फत् बिद्यार्थीहरुले पढ्ने गरे नगरेको कुरा गाउँघरमा रहेका शिक्षकहरुबाट र बिद्यार्थीहरुबाट समेत प्रतिक्रिया संकलन गर्ने गरिएको थियो ।

शिक्षाविद् डाक्टर विद्यानाथ कोइराला विपदमा रेडियो कक्षाको प्रभाव प्रशंसनीय भएको बताउनु हुन्छ । रेडियो नेपालले तीन दशक अघि शिक्षक तालिमका निम्ति नेपालमा दूर शिक्षा कार्यक्रम प्रसारण सुरु गरेको थियो । नेपालमा सबैभन्दा बढि नागरिकसम्म सूचना पुर्याउने सञ्चार माध्यम एफएम रेडियो स्टेशनहरु हुन् भनेर राष्ट्रिय आमसञ्चार नीति–२०७३ को विषय प्रवेशमैं भनिएको छ । नीति भन्छ – ‘एफएम रेडियोको देशव्यापी विस्तारसँगै मुलुकको जनसंख्याको ठूलो हिस्साले सुसूचित हुने अवसर प्राप्त गरेका छन् ।’

खासगरी निशुल्क, सहज र एउटै रेडियो सेट वा मोवाइल मार्फत् पनि एक भन्दा बढि विद्यार्थीघरै बसेर पढ्न सक्ने सुविधा भएका कारण रेडियो स्कुल प्रभावकारी भएको अभिभावकहरुको अनुभव छ । लगातार स्कृन अघि बस्नु पर्ने टीभी वा अनलाइन शिक्षा भन्दा रेडियो कक्षा बच्चाको स्वास्थ्यका हिसावले पनि लाभकारी भएको नेपालगंजका अभिभावक ऋचा लुईंटेलको भनाई छ । श्रवण शक्ति कमजोर भएका बालबालिकाहरुका लागि बाहेक अन्य बालबालिकाहरुका लागि रेडियो कक्षा सरल र प्रभावकारी देखिएको शिक्षकहरु सम्झन्छन् ।
विद्यालय भवनभित्र कक्षाकोठाको चौघेरामा मात्रै सिक्ने परम्परागत शिक्षण पद्धती कोरोना महामारी पछि हल्लियो तर, बदलिएको चांहि छैन ।

प्रतिक्रिया

प्रतिक्रिया