स्थानीय तह निर्वाचन, चुनावी अभियानमा दल

आगामी बैशाख ३० गते निर्धारण गरिएको निर्वाचनका लागि बाँकेका राजनीतिक दलहरु तयारमा जुटेका छन् । आगामी निर्वाचनमा भातृ संगठनदेखि कार्यकर्तालाई सक्रिय पार्न विभिन्न खालका भेला, भातृसंगठनका अधिवेशन, केन्द्रीय तथा प्रदेश स्तरीय नेताको सहभागितामा आमसभाको कार्यक्रमहरु भैरहेको सम्बद्ध पार्टीका जिल्ला नेतृत्वहरुले बताएका छन् ।

नेकपा एमाले बाँकेले नयाँ पार्टी सदस्यता वितरणमा जुट्नुका साथै यसअघि घोषणा गरिएको पार्टी सुदृढिकीकरण अभियानलाई चैत्र १० गतेसम्मका लागि बढाइएको छ । ‘हामी एमाले सरकारमा रहँदाको काम, आगामी एजेण्डा लगायतका विषयमा पार्टीका अगुवा नेता कार्यकर्तादेखि आम जनतामाझ पुग्न सुरु गरेका छौं’, एमाले बाँके अध्यक्ष किस्मत कुमार कक्षपतिले भने । एमालेले जिल्लामा आम जनताको समस्या पहिचान गरी त्यसलाई उठाउनका सुरु गरेको सम्बद्ध नेताहरु बताउँछन् । एमालेको सरकारका भएका योजनाहरु वर्तमान सरकारले असफल बनाउने प्रयास गरेको, स्थानीय तह अन्तर्गत आम जनताको स्थानीय समस्या उजागर गरेर त्यसको सम्बोधनको माग एमालेले गरिरहेको छ । त्यसैको एउटा उदाहरण हो, हालै एमालेले बर्षौदेखि नेपालगन्जमा रहेको इलाका प्रशासन कार्यालय नरैनापुरलाई सोही स्थानमा फर्काउन दबाब सिर्जना गरेको । एमालेले इलाका प्रशासन फर्काउनका लागि जिल्ला प्रशासनलाई ज्ञापनदेखि नरैनापुर गाउँपालिकामा धर्ना समेत दिइसकेको छ । राप्तीपारी भैरहेको अवैध उत्खननले बस्ती जोखिममा रहेको भन्दै एमाले नेताहरुको अगुवाईमा स्थानीय जनताले प्रशासनमा ज्ञापन पत्र समेत पठाएका छन् । एमाले नेताहरु जनताको मुद्दा उठाउने, सम्बोधनका लागि दबाब दिने र आगामी निर्वाचनमा नेतृत्वमा आएर त्यसको समाधान गर्ने पक्षहरुमा रहेको बताएका छन् ।

नेकपा एमालेमा निर्वाचनलाई लिएर उत्साह पनि छ । वर्तमान गठबन्धन सरकारले निर्वाचन घोषणा अघि लिएको ढुनेमूने नीतिलाई आफ्नै दबाबमा निर्वाचन घोषणा भएको एमालेको दाबी छ । एमालेमा केन्द्रियदेखि प्रदेश र जिल्ला तहका नेता वडा र टोलसम्मको दौडाहामा रहेको पाइन्छ ।

नेकपा एमालेको स्थानीय तह चुनाव केन्द्रित देशव्यापी अभियान गत माघदेखि नै सुरु गरेको छ । औपचारिक घोषणा अघि नै एमालेले स्थानीय तह निर्वाचनको तयारी सुरु गरेको थियो । एमाले अध्यक्ष केपीशर्मा ओलीले भर्चुअल माध्यमबाट स्थानीय तह निर्वाचन अभियानको सुरुवात गरेका पछि केन्द्रीय निर्देशन बमोजिम वडातहसम्म विभिन्न कार्यक्रम भएका छन् । एमाले बाँके अध्यक्ष कक्षपति स्थानीय तह निर्वाचन अन्तर्गतकै कार्यक्रम अनुरुप आगामी चैत्र १२ गते बाँकेमा बृहत आमसभाको आयोजनाको तयारीमा रहेको बताउँछन् । ‘हामी त्यसबारे बिस्तृत जानकारी केही दिनमा सार्वजनिक गर्नेछौं’, उनले भने ।

नेपाली काँग्रेसले सुरु गर्दै ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान आइतबारदेखि सुरु गरेको छ । आगामी चैत २९ गतेसम्म सञ्चालन हुने अभियानका विभिन्न आठ उद्देश्य रहेको काँग्रेस बाँकेले जानकारी दिएको छ । अभियानअन्तर्गत आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मतदानमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदातालाई अपिल गर्दै निर्वाचनको माहोल बनाउने उद्देश्य रहेको पार्टी केन्द्रीय नेताहरुले जानकारी दिएका छन् । स्थानीय निर्वाचनमा कांग्रेसलाई विजयी गराउन वडा र टोल तहसम्म पार्टीभित्र सौहार्दता, एकता र ऊर्जा अभिवृद्धि गर्ने, कांग्रेसका उम्मेदवारलाई विजयी गराउन मतदातालाई अपिल गर्ने अभियानको उद्देश्य रहेको छ ।
यसैगरी ‘हरेक काँधलाई भारी, हरेक हातलाई जिम्मेवारी’ को नीति साथ पार्टीको विधानमा व्यवस्था गरिएका विभिन्न जिम्मेवारी बाँडफाँट गरेर पार्टी पङ्क्तिलाई स्थानीय निर्वाचनमा बृहत्तर परिचालनतर्फ उन्मुख गराउने काँग्रेस नेता बताउँछन् । कांग्रेसको नेतृत्वमा विगतमा हासिल राजनीतिक र आर्थिक उपलब्धि जनसमक्ष विस्तारितरूपमा राख्ने, विगतमा नेकपाको नेतृत्वको सरकारको गत तीन वर्षे कार्यकालमा भएका जनभावनाविपरीतका गतिविधि, असंवैधानिक कदम र भ्रष्टाचार प्रकरण जनतासमक्ष व्यापकरूपमा राख्ने कांग्रेसको अभियान छ ।
कांग्रेसले अभियान सुरु हुनु दुई दिनअघि नै सबै जिल्लामा पार्टीका केन्द्रीय प्रतिनिधि पुगेको बताएको छ । केन्द्रीय प्रतिनिधिलाई अभियान सुरु हुनुअघि तथा सुरु भएपश्चात् वडा तहको कार्यक्रमलाई प्रभावकारी बनाउन प्रेरित भूमिकाका लागि सबै स्थानीय तहमा एक पटक अनिवार्य पुग्ने जिम्मेवारी तोकिएको छ ।

सङ्घीय संरचना निर्माणपश्चात्को यो प्रथम अभियान प्रभावकारीरूपले सफल बनाउन काँग्रेसको सात प्रदेश कार्यसमितिले आफ्नो प्रदेशमा नेतृत्वदायी महत्वपूर्ण भूमिका निर्वाह गर्नेछन् । सो क्रममा केन्द्रबाट निर्धारित अभियानलाई सफल बनाउन आवश्यक कार्ययोजना निर्माण गर्ने, सम्पूर्ण कार्यक्रमको कार्यान्वयन गर्न आवश्यक जिम्मेवारी बाँडफाँट गर्ने, अभियानका कार्यक्रम व्यवस्थित बनाउन प्रेरक भूमिका र आवश्यक समन्वय गर्ने, केन्द्रद्वारा निर्धारित कार्यक्रमलाई असर नपर्ने गरी आफ्नो प्रदेशभित्र अभियानमा आवश्यकतानुसार थप कार्यक्रम तर्जुमा गर्ने र आफ्नो प्रदेशभित्रको समग्र अभियानलाई सम्पूर्ण अनुगमन गर्ने गरी प्रदेश समितिलाई जिम्मेवारी तोकिएको काँग्रेस नेता बताउँछन् ।

राप्रपाका सहमहामन्त्री ऋषिराज देवकोटा पनि निर्वाचन तयारीमा पार्टी होमिएको बताउँछन् । त्यसका लागि वडादेखि जिल्ला तहसम्म तयारी भैरहेको उनी बताउँछन् । राप्रपाले केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देलले आइतबार नेपालगन्जको त्रिभुवन चोकमा आमसभा गरे । जहाँ पार्टी कार्यकर्ता प्रवेशदेखि आगामी स्थानीय तहको विषयमा पार्टीका जिल्ला देखि केन्द्रका नेताहरुले बोलेका थिए । उनले वडा तहदेखि नै संगठन मजबुत बनाउन गतिविधि सञ्चालनमा रहेको जानकारी दिएका छन् । ‘स्थानीय तहमा बाँकेका पार्टीको विजय र प्रभाव देखाउने गरी तयारी भैरहेको छ’, राप्रपा नेता भन्छन् ।

नेकपा माओवादी केन्द्रका बाँके संयोजक आइपी खरेलले वडा तहसम्म सर्वसम्मत उम्मेदवार चयन गरेर प्रचारमा होमिने तयारीमा पार्टी रहेको बताएका छन् । ‘सयम छ, गठबन्धनको कुरा पनि छ, उम्मेदवारका कुरा पनि छन्, आम जनतामा जाने कुरा पनि छ, तर स्पष्ट खाका बनाइसकेका छैनौं, तर आन्तरिक तयारीका लागि वडा तहसम्म निर्देशन गरेका छौं’, उनले भने । केन्द्रका अध्यक्ष प्रचण्डले गठबन्ध वा एक्लै चुनावमा जानेबारे स्पष्ट बोलेका छैनन् । उनले सके एक्लै, अन्तिम विकल्प गठबन्धन हुने यसअघि बाँकेको कोहलपुरमा नेता तथा कार्यकर्तालाई सम्बोधन गर्र्दै भनेका थिए । माओवादी केन्द्रले यसअघि नै केन्द्रमा पदाधिकारी चयनमा समय लागे पनि स्थानीय तहको निर्वाचनमा जुट्न निर्देशन दिएको थियो ।

नेकपा एकीकृत समाजवादी केन्द्र नेकपा एमालेबाट छुट्टिएर बनेको पार्टी हो । समाजवादी गठबन्धनको आशमा रहेकाले जिल्लामा निर्वाचन केन्द्रित गतिविधि भन्दा पनि आन्तरिक संगठन बनाउन कसरतमै रहेको छ । जसमा केन्द्रीय समितिको बैठक बसिरहेको छ, स्थानीय तहको निर्वाचन सम्बन्धमा । बैठकपछि स्थानीय तहमा पार्टी केन्द्रित हुनेछ । यद्यपि, बाँकेको नेपालगन्जमा पार्टीको आधिकारिक नभएपनि सामाजिक सञ्जालमा उपमहानगरपालिका प्रमुख पदको उम्मेदवार घोषणा भैसकेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया