प्रधानमन्त्री कप तयारी: कहिले बन्ला घरेलु टिम ?

थपिंदै साझेदार, हस्पिटालिटीमा सेन्ट्रल प्लाजा


आगामी चैत्र १०–१४ गते नेपालगन्जमा आयोजना हुने प्रधानमन्त्रीकप महिला भलिबल प्रतियोगिताको आठौं संस्करण तयारीमा आयोजकले तिब्रता दिएको जनाएको छ ।


बाँके जिल्ला भलिबल संघको आयोजनामा हुने प्रधानमन्त्री कपको नेपाली भलिबलमा अलग पहिचान बनाउन सफल प्रतियोगितासँगै नेपालगन्जको पहिचानका लागि पनि अग्रणीमध्येको आयोजना हो ।

प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगितालाई नेपालगन्जको चिनारीको रुपमा विकास गर्नका लागि संघले प्रतियोगितालाई दक्षिण एसियाकै नम्बर एक क्लब च्याम्पियनसीपका रुपमा स्थापित गराउने लक्ष्य राखेको आयोजकले भनेको छ । ‘यसैअनुरुप स्तरीय हस्पिटालिटीमा जोड दिएका हौं,’ तयारीका क्रममा आतिथ्यका लागि पाँचतारे होटलसँग सम्झौता गरिएको जानकारी दिंदै आयोजकले भनेको छ ।


‘प्रतियोगितामा देशका चर्चित क्लबहरुसँग मित्र राष्ट्र भारतका क्लबलाई पनि सहभागी गराउने प्रयास भइरहेको छ,’ आयोजक बाँके जिल्ला भलिबल संघका अध्यक्ष टिएस ठकुरीले प्रतियोगिता तयारीलाई तिब्रता दिइएको जानकारी दिंदै भनेका छन् । उनले आठौं संस्करणकालागि साझेदारहरु थपिंदै गएको बताएका छन् ।


‘पाँचतारे होटल सेन्ट्रल प्लाजा र बाँके जिल्ला भलिबल संघबीच प्रतियोगिताका लागि सहकार्य भएको छ,’ अध्यक्ष ठकुरीले शनिवार प्रतियोगिता तयारीबारे जानकारी दिंदै भने, ‘सहभागी टोलीका खेलाडीदेखि अफिसियलका लागि आवास तथा भोजनको व्यवस्थापन सेन्ट्रल प्लाजामा हुनेछ ।’ त्यसका लागि सेन्ट्रल प्लाजाका महाप्रबन्धक समिर भी कुमार र संघका अध्यक्ष टीएस ठकुरीले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।


प्रधानमन्त्री कपका चिफ अपरेटिङ अफिसर सौगात विक्रम शाहले राष्ट्रिय स्तरका खेलाडीहरुको सम्मान स्वरुप स्तरीय हस्पिटालिटीमा जोड दिएको बताए । नीजि क्षेत्रको सहभागिताबिना स्तरीय प्रतियोगिताको निरन्तरतामा कठिनाई हुने भएको हुँदा आयोजकले नीजि क्षेत्रलाई बिशेष जोड दिने गरेको शाहको भनाइ छ ।

नेपालकै पुरानो सहर नेपालगन्ज र उदाउँदो सहर कोहलपुरलाई जोड्न पनि हामीले यो पाइला चालेको भनाइ आयोजकको छ । ‘कोहलपुरमा खेलाडीको बसोबास तथा नेपालगन्जमा खेल सञ्चालन हुँदा दुवैं सहरको आर्थिक पक्ष चलायमान हुने अपेक्षा गरेका छौं,’ अध्यक्ष ठकुरीले प्रेस विज्ञप्तिमार्फत भनेका छन्, ‘त्यसले नेपालगन्ज कोहलपुर सडकखण्डले बिभिन्नजातीय, धार्मिक र साम्प्रदायिक क्लस्टरलाई पनि जोड्नेछ ।’


नेपाल भलिबल संघको स्वीकृतिमा हुने प्रधानमन्त्री कप भलिबल नेपालगन्ज रंगशालाको कभर्ड हलमा हुनेछ ।
प्रधानमन्त्रीकपको पहिलो संस्करणमा नेपाल पुलिस क्लब, दोस्रोमा एपीएफ, तेस्रो र चौथोमा रेलवे टिम कोलकाता इण्डिया, पाँचौमा एपीएफ, छैठौमा पुलिस र सातौंमा एपीएफ च्याम्पियन बनेको थियो । अहिलेसम्म घरेलु टिम बन्न नसकेको भन्दै त्यसतर्फ लाग्न आयोजक बाँके जिल्ला भलिबल संघसँगै खेलसम्बद्ध सरोकारबालाहरुलाई दबाब दिन लागिएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया