सतिश निरौला नेपालगन्ज साइक्लिङ्ग क्लबका अध्यक्ष हुन् । क्लबले विगतका बर्ष जस्तै यस बर्ष पनि टुर दि ठाकुराको आज देखि आयोजना गर्दै । पर्यटकीय स्थलको प्रवद्र्धनको आयोजनामा साइकल मार्फत हुन लागेको टुरले महत्वपूर्ण योगदान पुर्याउने बताउँछन्, निरौला । यसै सन्दर्भमा उनीहरुसँग दैनिक नेपालगन्जले गरेको कुराकानी संक्षेपमा ।

टुर दि ठाकुरद्वाराको संयोजन गर्दागर्दै आयोजक क्लब कै नेतृत्वमा पुग्नु भयो, के छन् अबका योजना ?
हो टुर डे ठाकुरद्वार पहिलो संस्करण देखि तेश्रो संस्करणसम्म मलाई साथीहरूले यस इभेन्टको इभेन्ट डाइरेक्टरको रूपमा जिम्मेवारी दिनुभयो र मैले काम गर्ने अवसर पाए साथै म नेपालगन्ज साइक्लिङ क्लबको संस्थापक सदस्यका रूपमा र थप दुई कार्यकाल सदस्यका रूपमा काम गरे । यो बिचमा साइकल अभियानमा मेरो सक्रियता र निरन्तरता साथै टुर डे ठाकुरद्वाराको सफल नेतृत्वले नै आज साथीहरूले मलाई बिश्वास गरि सर्वसम्मत रूपमा क्लबको अध्यक्षमा निर्वाचित गर्नुभयो । हाम्रो क्लबले अब साइकल अभियानलाई प्रकृति, पर्यटन, स्वास्थ्य र खेलकुद सङ्गै जोडेर अघि बढाएको हुँदा यिनै बिषय केन्द्रित अभियानमा मेरो कार्यकालमा काम हुनेछ ।

राजनीति छवि÷पृष्ठभूमिको मानिस कुन सुरमा साइकल क्लब तिर हो त ?
हो म सानैदेखि राजनीतिमा सक्रिय थिए र अझै पनि छु । यहि बीच सन् २०१७ को नाकाबन्दी पछि नेपालमा पेट्रोलियम पदार्थको अभाव र महङ्गी बढ्यो । त्यसपछि मैले साइकल चलाउन सुरु गरे । यही बीच हामीले क्लब गठन गरियो । त्यसपछि साइकलको बेजोडको नसा लाग्यो । म साइकल मै भारतको नैनिताल, श्रावस्ती अनि मुगुको रारासम्म साइकल मै पुगेको छु । साइकलले नयाँ सम्बन्धहरु देश र बिदेशमा स्थापित भए अर्को रमाइलो कुरा साइकलको चेनको सम्बन्ध राजनीतिको जस्तो स्वार्थपूर्ण छैन त्यसैले यो अभियानमा हिड्दा राजनीतिलाई पर राखेर साइकल मात्रै सम्झेर अघि बढ्ने गरेको छु ।

यस्ता क्लबले साइकल यात्राको श्रीवृद्धिदेखि सडक सुरक्षाका लागि लेनको अनिवार्य व्यवस्थाका लागि आन्दोलन गर्ने कि रमाइलो मात्रै ?
धेरै महत्वपूर्ण प्रश्न छ यो । हाम्रो साइकल अभियानको सुरूवातबाट नै हामीले प्राथमिकता साथ उठाएको मुद्दा हो सडकमा साइकल लेन । तर, आम सर्वसाधारणले त सजिलोसँग बुझ्न् गाह्रो छ नै नीति निर्माण र कार्यान्वयन तहमा रहेकाहरुलाई समेत अझै यो बिषयको महत्व बुझाउन सकिएन कि जस्तो लाग्दै छ । साइकल हाम्रो तराईको महत्वपूर्ण सवारी हो । धेरै आम मानिसहरूले अहिले पनि साइकल चढ्छन् । साइकल लेन हेल्मेट लगाएर महङ्गो साइकल चढ्नेका लागि मात्रै मागेको होइन । यो खासमा आम सर्वसाधारणको लागि आवश्यक छ । सडकमा साइकल लेन नहुँदा प्रत्येक महिना साधारण ज्यालादारी र मजदुरी गर्न र आफ्नो काममा निस्केका सर्वसाधारणले ज्यान गुमाइरहेको तथ्य हामी सङ्ग छ । त्यसैले साइकल लेनको मुद्दा हामीले उठाइनैरहेका छौं । तर, यसको लागि सडक नै तताउने गरि आन्दोलन गरिएको छैन ।

संयोजक भनेर आयोजना हुँदा र अब कमान्डनै सम्हालेर मैदानमा आउँदाको फरक अनुभूति ?
हो हिजो इभेन्ट डाइरेक्टरको रूपमा यो इभेन्टमा लाग्दा अलि सजिलो सजिलो लागेको थियो किनभने म भन्दा माथिल्लो तहमा काम गर्ने अरु साथीहरू पनि हुनुहुन्थ्यो । आज आफैं क्लबको अध्यक्ष (कमान्डर) भएर काम गर्दा धेरै स्ट्रेस र दबाब महसुस गरेको छु, गएको एकहप्ता कामको यति धेरै तनाव भयो कि निद्रा नलाग्ने र एकोहोरो टाउको दुख्ने समस्या देखा पर्यो । औषधी नै खानपर्ने अवस्था आयो ।

के छ यो पटकको फरक तयारी जस्ले आयोजना गज्जब होला भन्ने लागोस ?
हामीले टुर डे ठाकुरद्वार बाँके र बर्दियाको पर्यटनलाई उजागर गर्दै यहाँका पर्यटकीय क्षेत्रको बिस्तार र प्रचारप्रसारमा टेवा पुर्याउनलाई आयोजना गर्दै आएको हो । यस चौथो संस्करणमा आइपुग्दा हामीले यसलाई नेपालगन्ज साइकल उत्सव अन्तर्गत नेपालकै उत्कृष्ट साइकल इभेन्टका रूपमा स्थापित गर्नेगरी लागि परेका छौं । नेपालको सातै प्रदेशबाट झन्डै ३० महिला सहित २ सय जना सहभागी आउँदै गर्दा भारतको बरेली, नैनिताल, हरियाणा, लखनउ गरि १० भारतीय साइक्लिष्टहरुले समेत सहभागिता जनाउदै हुनुहुन्छ । सहभागिताका हिसाबले यो चौथो संस्करण बिशेष बन्ने छ भन्ने लागेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया