आइतबार बाँके प्रहरीले ३ जनालाई चितुवाको छाला सहित पक्राउ गर्यो । दाङमा प्रतिबन्धित बन्यजन्तु ५ थान रेडपाण्डाको छालासहित ३ जना पक्राउ परेको शनिबार सार्वजनिक गर्यो । रोल्पाको सुनिलस्मृति गाउँपालिका वडा नं. ७ बस्ने वर्ष ३२ का राम बहादुर थापा, लुङग्री गाउँपालिका वडा नं.३ बस्ने वर्ष २० का रुपक खडका र सुनछहरी गाउँपालिका वडा नं.७ बस्ने वर्ष १९ का राम कुमार पुन मगरलाई पक्राउ गरिएको दाङका प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।
गत बर्ष चैत्र ४ गते बाँके प्रहरीले बाघको छाला सहित ४ जना पक्राउ गरेको थियो । प्रहरीले बैजनाथ–१ च्यामा स्थित सुर्खेत–कोहलपुर सडकखण्डमा बाघको छाला, हड्डी सहित ४ जनालाई गरेको थियो । प्रहरीले पाटेबाघको छाला १ र २ केजी ५ सय ग्राम हड्डी बरामद गरेको थियो । प्रहरीले त्यसअघि गैडाको खाग सहित २ जना मानिस पक्राउ गरेको छ । कोहलपुर–११ नजिकै वन्यजन्तुको अंग तस्करी भैरहेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले गैडाको २ थान खाग सहित २ जनालाई पक्राउ गरेको थियो ।
बाँकेमा गत बर्ष चैत्र ५ गते बाँके प्रहरीले रेड पाण्डाको छाला, भालुको पित्त र कस्तुरीको बिना सहित ३ जना मानिस पक्राउ गरेको थियो । बैजनाथ गाउँपालिका वडा नं.१ चिसापानी बजारबाट दुर्लभ बन्यजन्तु रेडपाण्डाको छाला थान १ (एक), भालुको पित्त थान–२, कस्तुरीको बिना थान–१ फेला पारेको थियो ।
प्रहरीले गत बर्ष फागुन १२ गते बाँके वैजनाथ गा.पा.वडा नं.२ बाट १० किलोग्रामको हात्तीको दाँत सहित १ जनालाई पक्राउ गर्यो । २९ ईन्च लम्बाई, तौल गर्दा १० किलोग्राम रहेको हात्तीको दाँत फेला पारेको थियो ।
त्यस्तै, बाँके प्रहरीले गत माघको ९ गते चितुवाको छाला सहित ३ जनालाई पक्राउ गर्यो । प्रहरीले नेपालगन्ज १ बाट गत माघको २८ गते कस्तुरीको बिना र जंगली जनावरको दाँत सहित ५ जना मानिस पक्राउ गरेका थियो । माघ १४ गते रेड पाण्डाको छाला सहित ३ जना मानिस कोहलपुर नगरपालिका–१२ चप्परगौरी स्थित एक होटलबाट पक्राउ परे ।
माथिका वन्यजन्तु तस्करीका क्रममा बाँकेमा फेला परेका केही घटना मात्रै हुन् । देशभर वन्यजन्तुको अंग सहित पक्राउका धेरै घटनाहरु हुने गरेका छन् । प्रहरी अधिकारीहरुले वन्यजन्तुको अंग तस्करीका लागि मारिने गरेको बताउँछन् । ‘तस्करहरुले विदेशमा महंगोमा बिक्री हुने भएकाले संरक्षित तथा दुर्लभ वन्यजन्तु मार्ने गरेको पाइन्छ’, प्रहरी भन्छन् ।
बाँकेमा वन्यजन्तु तस्करी भैरहेको प्रहरीले पक्राउ गरेका विवरणहरुबाट पुष्टि हुन्छ । विभिन्न जिल्लाबाट तस्करहरुले वन्यजन्तुका अंग बाँके हुँदै अन्य जिल्ला लग्न खोज्दा तथा बाँकेमै अर्को व्यक्तिलाई बिक्री गर्न खोज्दा प्रहरीको फन्दामा पर्ने गरेका छन् । यसले पहाडी जिल्लामा वन्यजन्तु मार्ने र त्यसका अंगहरु बाँकेलाई ट्रान्जिट बनाएर तस्करीका लागि लग्ने गरेको पाइन्छ ।
विश्वमा नै बन्यजन्तु चोरी–सिकार, बासस्थान विनाश, खान्कीको अभाव, मानिस र वन्यजन्तुबीचको द्वन्द्व, आखेटोपहारको अवैध व्यापार लगायतका कारणले वन्यजन्तु संरक्षणमा चुनौती बढ्दै गएको छ । यसबाट नेपाल पनि अछुतो छैन । नेपालमा नेपालकै वन्यजन्तु मात्रै नभई विदेशबाट तस्करी गरेर नेपाल ल्याई अन्य देश समेत पुर्याउने गरेको पक्राउ परेका तस्करहरुबाट खुल्दै आएको छ ।
वन्यजन्तुको चोरी–सिकारी गर्न स्थानीय मान्छे बिना सम्भव नभएकाले तस्करहरुले स्थानीय सोझासिधालाई प्रलोभनमा पार्ने गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको भनाइ छ । पक्राउ परेका उनीहरु आफूभन्दा माथिल्लो व्यक्तिलाई समेत नचिन्ने भएकाले प्रहरीले मुख्य तस्करलाई पक्राउ गर्न सकेको देखिँदैन ।
वन्यजन्तु संरक्षणकै लागि भनेर नेपाली सेना, नेपाल प्रहरी, वन विभाग, राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण बिभाग लगायतका विभिन्न अंगहरु परिचालित छन् । यसबाहेक गैरसरकारी क्षेत्रबाट पनि ठूलो मात्रामा स्रोतसाधन र जनशक्ति वन्यजन्तुको संरक्षणका लागि परिचालन छ । तर, तस्करी नियन्त्रणका लागि अपेक्षित नतिजा निस्कन सकेको छैन । राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ (१) बमोजिमको ५ लाख देखि १० लाखसम्म जरिवाना र ५ वर्ष देखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ ।
के का लागि कुन वन्यजन्तुको तस्करी ?
गैंडा – खाग, खुर र छाला
बाघ – छाला र हड्डी
चितुवा – छाला र हड्डी
भालु – पित्त र नङ्ग्रा
हाब्रे – छाला
सालक – खपटा
कस्तुरी – विना
हात्ती – दाह्रा
चिरु – साहतुस
यी बाहेक रेडपाण्डा, अजिङ्गर, सालक, त्यस्तै पशुपंक्षी हुचिल, लाटोकोशेरो लगायतको पनि तस्करी हुने गरेको छ ।
चितुवाको छाला सहित तीन पक्राउ
इलाका प्रहरी कार्यालय कोहलपुरमा दुर्लभ वन्यजन्तु चितुवाको छाला सहित तीन जनालाई पक्राउ गरेको छ । बैजनाथ गाउँपालिका वडा नं. ५ बाट चेकजाँचका क्रममा तीन जना चितुवा सहित फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले ईलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले १ थान चितुवाको छाला सहित बैजनाथ गाउँपालिका ५ बस्ने याम बहादुर बिश्वकर्मा, बर्दियाका अकाश परियार र लाल बहादुर बिकलाई नियन्त्रणमा लिएको जानकारी दिएको छ ।
गत आ.व.मा १२ मुद्दा
वन्यजन्तुको अवैध ओसारपोसार घटनामा प्रहरीले निकुञ्ज क्षेत्र भए बाँके राष्ट्रिय निकुञ्ज नभए डिभिजन वन कार्यालय बाँकेमा अनुसन्धान र मुद्दाका लागि पठाउने गरेको छ । गत आर्थिक बर्ष २०७७/०७८ मा संरक्षित वन्यजन्तुको ओसारपोसार मुद्दा १२ वटा मुद्दा दर्ता भएको छ । त्यसअघिको आ.व. २०७६/०७७ मा १ एउटा मात्रै उक्त प्रकृतिको मुद्दा दर्ता डिभिजन वन कार्यालय बाँकेबाट भएको थियो ।
डिभिजन वन कार्यालय बाँकेका अनुसार आ.व. २०७६/०७७ मा जिल्ला प्रहरी कार्यालय बाँकेको जाहेरीमा १० केजी हड्डी सहित १ थान चितुवाको छाला सहित दुई जना विरुद्ध मुद्दा दायर भएको थियो ।
त्यस्तै, २०७७÷०७८ मा १२ वटा मुद्दामा ३५ जना विरुद्ध विभिन्न खालका वन्यजन्तुको तस्करीमा मुद्दा चलेको डिभिजन वन कार्यालय बाँके जानकारी दिएको छ । चालु आर्थिक बर्ष २०७८÷०७९ को कार्तिक सम्म ५ वटा मुद्दा दर्ता भएका छन् ।