बाँकेमा अश्व व्यवस्थापन तयारी

नेपालगन्जमा गाई/गोरु पछि अब छाडा छाडिने अश्व प्रजातिको पनि व्यवस्थापन गरिने भएको छ । बाँकेमा २५ लाख लागतमा घोडा, खच्चर, गाधा लगायतको व्यवस्थापनका लागि भौतिक पूर्वाधार निर्माण गरिएको हो । एनिमल नेपालले नेपालगन्ज उपमहानगरपालिकाले बिर्तामा उपलब्ध गराएको ३ कठ्ठा जग्गामा अश्वको व्यवस्थापन गर्न लागेको हो ।

नेपालगन्ज–२१ बिर्तामा रहेको उक्त जग्गामा निर्माण गरिएको भौतिक पूर्वाधारको मंगलबार औपचारिक कार्यक्रम बीच उद्घाटन गरिएको छ । अश्व व्यवस्थापन स्थलका पूर्वाधारहरुको उद्घाटन गर्दै नेपालगन्ज नगर प्रमुख डा. धवल समेशर राणाले स्थानीयलाई जनावरको संरक्षण गर्न आग्रह गरेका थिए । उनले घोडा, खच्चर, गधाको उपयोग नभएका बेला सडकमा नछाडेर अश्व संरक्षण स्थलमा ल्याएर राख्न आग्रह गरे । उपप्रमुख उमा थापा मगरले पशु व्यवस्थापनको अभावमा समुदायमा नकारात्मक प्रभाव नपरोस् भनेर अश्व संरक्षणमा उपमहानगरपालिकाले एनिमल नेपालसँग समन्वय गरेको बताइन् ।

कार्यक्रममा बोल्दै एनिमल नेपालका अध्यक्ष प्रमदा शाहले एक दशक देखि पशु संरक्षणको अभियानमा रहेको बताउँदै बाँकेमा पशु संरक्षणको अभाव देखिएकाले अश्व संरक्षणका लागि अश्व संरक्षण स्थल बनाएको बताइन् । बाँकेमा घोडा, गधा, खच्चरको प्रयोग इट्टा भट्टामा हुने गरेको छ । सिजनका बेलामा प्रयोग आउने पशुहरु बेसिजनमा सडकमै छाडिने गरेको छ । जसले गर्दा दुर्घटना समेत निम्तिने गरेको छ ।

‘बाँकेमा पशु सवारी ठोक्किदा १० जनाको ज्यान गएको तथ्यांक पाएका छौं’, एनिमल नेपालका कार्यकारी निर्देशक हरिप्रसाद जोशीले बताए । उनले बाँकेमा १ हजार २ सय अश्व प्रजातिका पशु रहेको तथ्यांक रहेको उल्लेख गर्दै भने, ‘बाँकेका ६ वटा वडामा मात्रै ८ सय अश्व प्रजातिको पशु रहेका छन् ।’ कार्यकारी निर्देशक जोशीले सिजनका बेला काममा लगाइने पशु ६ महिना सडकमा छाड्ने गरेको पाइएको उल्लेख गर्दै भने, ‘२ सय पशु सडकमा छाडिने, बाँकी घरमा आफैसँग राख्ने गरेको पाइएको छ ।’

कार्यकारी निर्देशक जोशीले उपमहानगरपालिकाले उपलब्ध गराएको ३ विगाहमा भौतिक पूर्वाधार निर्माण बाहेकको जग्गामा पशुका लागि घाँस समेत लगाउने बताए । ‘घाँसका लागि थप जग्गाको खोजीमा छौं’, उनले भने । जोशीले हाल २ सय क्षमताको रहेको अश्व संरक्षण स्थलको क्षमता ८ सय पुुर्याउने लक्ष्य रहेको जानकारी दिए । ‘घरमै छुट्टै पशु राख्ने भन्दा पनि घरमै राख्ने गर्दा रोग सर्ने जोखिम पनि देखिएकाले त्यस्ता पशु पनि यही राख्ने सोंचमा छौं’, उनले भने ।

कार्यक्रममा वडाध्यक्ष जुमन खाँले जनावरबाट कमाउने व्यक्तिले जनावरको पनि संरक्षण गर्नुपर्ने बताए । कार्यक्रममा डा. विनोद कर्ण, जनप्रतिनिधि, स्थानीयबासी लगायतको सहभागिता रहेको छ । ‘पशुको उचित व्यवस्थापनले मानव र पशु दुवैको हित हुन्छ’, डा. कर्णले दैनिक नेपालगन्जसँग भने, ‘पशु संरक्षणको दायित्व पशुधनीको पनि हो ।’

अब सडकमा छाडिने अश्व प्रजातिको पशु संरक्षणका लागि लगिने भएको छ । संरक्षण केन्द्र सञ्चालनका लागि एनिमल नेपाल, पशुधनी र उपमहानगरपालिका प्रतिनिधि सम्मिलित व्यवस्थापन समिति बनाउने एनिमल नेपालका अध्यक्ष शाहले जानकारी दिइन् ।

प्रतिक्रिया

प्रतिक्रिया