डुडुवा गाउँपालिकाले छात्रा प्रोत्साहन अन्र्तगत एसइइ पास गरेका छात्राहरुलाई साइकल वितरण गरेको छ । बजारसम्म गएर उच्च शिक्षा हासिल गर्न सहजता तथा उत्प्रेरणाका लागि गाउँपालिका अन्र्तगतका विद्यालयहरुका छात्रालाई साइकिल वितरण गरिएको हो ।
विक्रम संम्बद २०७७ सालमा एसइइ पास गरेका गाउँपालिकाका ५ वटा माध्यमिक विद्यालयका १ सय २२ जना छात्रालाई साइकल वितरण गरिएको हो । शनिबार एक समारोहका बीच साइकल वितरण गर्दै गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले किशोरीहरुलाई उच्च शिक्षा हासिल गर्न प्रोत्साहन गरेका भन्दै भोलीका दिनमा उच्च शिक्षा हासिल गर्न बजार आउजाउ गर्न मद्दत पुग्ने बताए ।
अध्यक्ष चौधरीले उच्च शिक्षा हासिल गर्न डुडुवा मै क्याम्पसको स्थापनाका लागि पहल सुरु भएको भन्दै त्यसले पनि किशोरी शिक्षा हासिल गर्ने विश्वास व्यक्त गरे । उनले विशेष गरि मधेशी समुदायका किशोरीहरु साधारण कक्षा पढेपछि विभिन्न कारणले उच्च शिक्षा हासिल गर्न नसकेको समस्यालाई यो कार्यक्रमले अन्त्य गर्ने बताए ।
गाउँपालिका अन्र्तगत ५ वटा माध्यमिक विद्यालयका १ सय २२ जना छात्राले २०७७ सालमा एसइइ पास गरेको शिक्षा शाखाले जनाएको छ । गाउँपालिकामा गतवर्षसम्म ५ वटा मावि रहेकोमा यस वर्ष २०७८ मा शाहपुर्वा मावि कम्दी र जनता मावि होलियाको स्तरबृद्धि गरि मावि बनाइएको छ ।