७० जनाको क्षमता भएको बाँके स्थित बालसुधार गृहमा हाल १७७ जना बालकहरु रहेका छन् । १७७ बालक मध्ये करणी सम्बन्धी अपराधको बिवादमा परेका मात्रै एक सय बढी बालकहरु रहेका छन् । करणी सम्बन्धी अपराध अन्तरगत जवरजस्ती करणी, जवरजस्ती करणी उद्योग, सामुहिक जवरजस्ती करणी र अपहरण तथा जवरजस्ती करणी रहेका छन् ।


उल्लेखित तथ्याङ्कले करणी सम्बन्धी अपराधको कानूनी बिवादमा बालकहरुको संलग्नता बढ्रदै गएको देखाएको छ । निश्चयनै यौन अपराधमा बालकहरुको संख्या बढ्दै जानु चिन्ताको बिषय बनेको छ । यसले बालकहरु किन यौन अपराधको कानूनी बिवादमा पर्ने गर्छन् भन्ने बिषयमा अनुसन्धान गरि यसको रोकथाममा लाग्नु पर्ने देखाएको छ ।


कानूनी हिसावले हेर्दा करणी सम्बन्धी कानूनी बिवादमा परेका सबै बालकहरुले अपराधिक मनसायपुर्वक अपराध गरेका हुन्छन् भन्ने बुझिए पनि यथार्थमा यस्तो हुदैन । करणीका मुद्दामा बालकहरु पर्नुमा बिभिन्न कारणहरु रहने गर्दछ । केटी साथीका कारण दुवैको सहमतिमा शारिरीक सम्पर्क हुने तर अभिभावकले सम्बन्ध स्वीकार्न नसक्दा बलत्कारको उजुरी पर्ने गर्दछ । कतिको जात नमिलेर त कतिको धनी गरिव भएर पनि केटी पक्षकाले बलत्कारमा उजुरी गर्दा बालकहरु करणीका मुद्धामा पर्ने गरेको गुनासो कानूनी बिवाद परेका बालकहरुले गरेका छन् ।


अपराधमा सजाय भोगेका केही प्रतिशत बाहेक अधिकांश बालकहरु प्रेम सम्बन्धमा रहेका, बालबिवाह गरेका, सहमतिमै शारिरीक सम्बन्ध राखेका बालकहरु कानूनले अपराध मान्दा र तिनका अभिभावकले उनीहरुको सम्बन्ध छुटाउन प्रहरीमा करणीको उजुरी दिने गरेका कारण बालकहरु जवरजस्ती करणीको मुद्धामा पर्ने गर्दछन् । अन्तरजातीय र धनी गरिवका बिचमा प्रेमसम्बन्ध भै शारिरीक सम्बन्ध राखेका केटा केटीको सम्बन्ध नस्वीकार्ने अभिभावकले जवरजस्ती करणीको उजुरी गरि दिदा धेरै बालकहरु जवरजस्ती करणीको अपराधमा फस्ने गरेको पाईएको छ । १८ बर्ष भन्दा कम उमेरको केटाले १८ बर्ष मुनीकी केटीको सहमतिमै शारिरीक सम्बन्ध राखे पनि हाम्रो कानूनले अपराध मानेको र यसको प्रयोग गर्दै छोरीको मंजुरी भएर पनि अभिभावकले सम्बन्ध तोड्नका लागी बलत्कारको अपराधमा प्रहरीमा उजुरी गरिदिदा बालकहरु करणीका अपराधमा पर्ने गर्दछन् । उल्लेखित कानूनी ब्यवस्थाका कारण बालकहरुलाई यस्तो अपराधमा संलग्न हुनबाट जोगाउनका लागी उनीहरुलाई कानूनी चेतना जगाउन जरुरी छ भने बालकहरु स्वयम पनि कम उमेरमा मायाप्रेममा फसी शारिरीक सम्बन्ध राँख्दा त्यसबाट हुने करणी सम्बन्धी अपराध र कानूनी सजायबारे बेलैमा सचेत हुन जरुरी छ ।


करणी सम्बन्धी कानूनी ब्यवस्था ः
मुलुकी अपराध (संहिता) ऐन २०७४ को परिच्छेद १८ मा करणी सम्बन्धी कसुरको बारेमा ब्यवस्था गरिएको छ । जस अनुसार दफा २१९ मा कसैले जवर्जस्ती करणी गर्न हुँदैन भन्ने ब्यवस्था गरेको छ । कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जवर्जस्ती करणी गरेको मानिने कानूनले ब्यवस्था गरेको छ ।

करकाप, अनुचित प्रभाव, डर, त्रास, झुक्यानमा पारी वा अपहरण गरी वा शरीर बन्धक लिई लिएको मञ्जुरीलाई कानूनले मञ्जुरी मानिने छैन । यसै गरि होस ठेगानमा नरहेको अवस्थामा लिएको मञ्जुरीलाई पनि मञ्जुरी मानिने छैन । गुदद्वार वा मुखमा लिङ्ग पसाएमा, गुदद्वार, मुख वा योनीमा लिङ्ग केही मात्र पसेको भएमा, लिङ्ग बाहेक अन्य कुनै वस्तु योनीमा प्रवेश गराएमा पनि जवर्जस्ती करणी गरेको मानिने कानूनले भनेको छ ।


जवर्जस्ती करणी गर्ने व्यक्तिलाई त्यसरी करणी गर्दाको परिस्थिति र महिलाको उमेर हेरी देहाय बमोजिम कैद हुनेछ ब्यवस्था कानूनले गरेको छ । दश वर्षभन्दा कम उमेरकी बालिका, पूर्ण अशक्त, अपाङ्गता भएका वा सत्तरी वर्षभन्दा बढी उमेरका महिला भए जन्म कैद हुन्छ । दश वर्ष वा दश वर्षभन्दा बढी चौध वर्षभन्दा कम उमेरकी बालिका भए अठार वर्षदखि बीस वर्षसम्म कैद हुन्छ । चौध वर्ष वा चौध वर्षभन्दा बढी सोह्र वर्षभन्दा कम उमेरकी बालिका भए बाह्र वर्षदेखि चौध वर्षसम्म कैद हुन्छ । यसै गरि सोह्र वर्ष वा सोह्र वर्षभन्दा बढी अठार वर्षभन्दा कम उमेरकी महिला भए दश वर्षदेखि बाह्र वर्षसम्म कैद हुन्छ । अठार वर्ष वा अठार वर्षभन्दा बढी उमेरकी महिला भए सात वर्षदेखि दश वर्षसम्म कैद हुने ब्यवस्था छ । बैबाहिक सम्बन्ध कायम रहेको अवस्थामा पतिले आफ्नै पत्नीलाई जवरजस्ती करणी गरेमा पाँच वर्ष सम्म कैद हुनेछ ।


कसैले पनि बालयौन दुरुपयोग गर्न वा गराउन हुँदैन । कसैले करणीका आशयले बालबालिकालाई अस्वाभाविक रुपमा एकान्तमा लगेमा, यौन सम्बन्धी निजको अङ्ग छोएमा वा समातेमा, यौन सम्बन्धी आफ्नो अङ्ग निजलाई छुन वा समाउन लगाएमा वा निजसँग अन्य कुनै किसिमको यौनजन्य अस्वाभाविक व्यवहार गरेमा बालयौन दुरुपयोग गरेको मानिनेछ । सो बमोजिमको कसूर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिबाना हुनेछ । कसैले कसैको मञ्जुरी विना अप्राकृतिक मैथुन गर्नु वा गराउनु हुँदैन । यसको प्रयोजनको लागि बालबालिकाले दिएको मञ्जुरीलाई मञ्जुरी मानिने छैन । सो बमोजिमको कसूर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँँसम्म जरिबाना हुनेछ ।


कानूनमा करणी सम्बन्धी कसुरलाई गंभिर फौजदारी अपराध मानेको छ । यस्ता गंभिर अपराधमा बालकको संलग्नता बढ्रदै जाने कुरालाई बेलैमा चिन्तनमनन गरिएन भने भोली यसले अझ बिकराल रुप नलेला भन्न सकिदैन । सर्वप्रथम त बालबालिकालाई यस्तो अपराधमा संलग्न हुन नदिन अभिभावकहरुले बेलैमा बिचार पु¥याउनु पर्दछ । आफ्ना बालबालिकाको आनीबानी क्रियाकलाप र संगतका बारेमा अभिभावकहरु हरदम सचेत भई उनीहरुको निगरानी गरिहनु पर्दछ । छोरीलाई लैंगिक हिंशाबाट बच्ने उपाय सिकाय जस्तै छोरालाई पनि यौनजन्य हिंशा गर्नु हुदैन भन्ने बारेमा सचेत बनाईरहनु पर्दछ । महिला उपरको गलत हेराई, छुवाई गर्न नहुने कुरा सिकाउनु पर्दछ ।
बालकहरु जिज्ञासु र चन्चल स्वभावका हुने भएका कारण उनीहरुले अपराधिक मनसाय नराखिकन जिज्ञासा स्वरुप कुनै कार्य गर्दा त्यस्तो कार्य कानूनी हिसावले अपराध हुने भएकाले यस्ता कुरामा अभिभावकले बिशेष ख्याल राख्नु पर्ने हुन्छ । पछिल्लो समय इन्टरनेट लगायतका सामाजिक संजालको दुरुपयोगका कारणले पनि करणी सम्बन्धी अपराध घटेका छन् । अभिभावकहरु नै बालबच्चाको अगाडी मर्यादामा नबस्ने, बिभिन्न कारणले एकै कोठामा बस्नु पर्ने बाध्यतामा रहेका पतिपत्नीले छोराछोरी साथै रहेको समयमा शारिरीक सम्बन्ध कायम राख्ने र यस्तो कार्य बालक छोराले देख्ने गर्नाले पनि बालकहरुमा उत्सुकता पैदा भई करणी सम्बन्धी अपराधमा फस्ने गरेको पाईएको छ । यसै गरि अश्लिल साईट हेर्ने बाबुआमाको मोवाईलको पहुँच छोराहरुमा पुग्दा पनि त्यसैको सिको गरि बालकहरु यौन कार्य गरेको पनि पाईएको छ ।
बालबालिकाहरु बिभिन्न कारणले अपराधिक क्रियाकलापमा लागेका हुन्छन् । अपराधको परिणाम थाहा नपाई देखासिकि र परिस्थितिका कारणले पनि बालबालिकाहरु अपराधिक कार्यमा लाग्ने गरेको पाईएको छ । घर परिवार र सामाजिक परिवेसको नकारात्मक असर पर्नु, आमाबाबुले उचित हेरचाह र संरक्षकत्व प्रदान नगर्नु, गरिवी, वारिवारिक बेमेल, झै झगडा लगायतका कारण बालबालिकाहरु करणी लगायतका अपराधिक कार्य तर्फ लाग्ने गरेको पाईएको छ ।


बालकले गर्ने कानूनको उल्लंघन सोची विचारी गरेको हुँदैन । बाल दुराचारबाट बालक स्वंयम पीडित हुन्छ । बालन्याय प्रशासनको उद्देश्य विज्याईकर्तालाई सुधार्नु हुन्छ न कि दण्ड गर्नु । वालवालिकाले गल्ती गर्छन्, अपराध गर्दैनन् । वालवालिकाले गरेको कामको प्रकृति र परीणाम थाहा पाउदैनन्, अपराध मानिएको कार्य वालवालिकावाट भएको अवस्थामा पनि उनीहरुको मनशाय तत्व सवल र पूर्ण हुंदैन त्यसैले वालकलाइ सजाय गर्न सकिन्न, सच्याउन सकीन्छ भनिएको हो । त्यहि उदेश्य पुरा गर्न बालन्यायको बिकाश भएको हो । वालन्यायको मुख्य उदेश्य भनेको कानूनको बिवादमा आएका बालबालिकाहरुलाई अपराधीको रुपमा हेर्ने भन्दा पनि उनीहरुको आचरणमा सुधार ल्याउनु हो । उनीहरुलाई असर नागरिक बनाई समाजमा पुनस्थापित गराउनु हो ।


अत करणी लगायतका अपराधमा बालबालिकाको बढ्दो सख्यालाई रोकि बिभिन्न कारणले अपराधिक कार्यमा संलग्न हुन पुगेका बालबालिकाहरुलाई सद्मार्गमा लगाउन र समाजमा पुनस्थापना गराई भबिश्यका देशका कर्णधार बनाउन सबै सरोकारवाला निकाय लाग्न जरुरी छ । लेखक अधिवक्ता हुन ।

प्रतिक्रिया

प्रतिक्रिया