बाँकेको राप्तीसोनारी गाउँपालिकामा बाघको आतंक बढ्दै गएको छ । पछिल्लो दिन बाघको चहलपहल बढेपछि मानिसहरु आतंकित रहेका छन् । गत तीन महिनामा बाघको आक्रमणबाट तीन जनाको ज्यान गैसकेको छ । बाघको आक्रमणबाट बिहीबार पनि राप्तीसोनारी गाउँपालिका–४ प्रसोनाकी ५२ वर्षीया लीला विष्टको मृत्यु भएको छ । यसअघि बाँके निकुञ्जको गाभर र नरैनापुरमा दुई जनाको बाघको आक्रमणबाट मृत्यु भइसकेको छ ।
बुधबारमात्रै राप्तीसोनारी–४ बैजापुरकी ३० वर्षीया दुर्गा थारूलाई बाघले आक्रमण गरेको थियो । बाघको पञ्जाबाट उम्किएर बच्न सफल उनको शरीरका विभिन्न ठाउँमा बाघको नङ्ग्राले चोट लागेकोे छ । केही दिनअघि राप्तीसोनारीका वडा नं ५ र ६ को जङ्गलमा मोटरसाइकलमा सवार एक शिक्षकलाई बाघले झम्टेको थियो ।
बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहले शुक्रबारदेखि नै त्यस क्षेत्रमा हात्तीसहितको टोली पठाएर बाघलाई लखेट्ने बताएका छन् । सोही अनुसार दुई वटा हात्ती बैजापुर पुगेका छन् ।
शुक्रबार सिद्धेश्वरी सामुदायिक वनमा बाख्रा चराउन गएका बाँके राप्तीसोनारी–५ का बमबहादुर पुन शुक्रबार पाटेबाघको आक्रमणबाट जोगिए । सामुदायिक वनमा बाख्रा चराउन गएका उनी बाघको आक्रमणबाट जोगिए पनि बाख्रा भने बाघले खाएको छ । बाघले १ बाख्रा खाएको, ३ वटा घाइते बनाएको र ४ वटा हराएको स्थानीयबासीले जानकारी दिएका छन् ।