तपाई नेकपा एमालेको जिल्ला अध्यक्ष बन्ने हैसियत राख्नुहुन्छ ? कसरी ! पार्टी केन्द्रीय सदस्य समेत रहेका जिल्ला इन्चार्ज सुर्य ढकाल, केन्द्रीय सदस्य एवं सहइन्चार्ज मो. हारुन, प्रतिनिधिसभा सदस्य समेत रहेका पूर्व अध्यक्ष नन्दलाल रोकाय सहित ड्यासमा रहेका अग्रज नेताहरुका जिज्ञासामा नेकपा एमाले बाँकेका अध्यक्ष पदका आकांक्षीहरुले बुधबार ‘अन्तरवार्ता’ दिएका छन् । केन्द्रीय सदस्यहरु पशुपति दयाल मिश्र, शान्ति ढकाल, दिपा शर्मा मात्रै होइन केन्द्रीय अनुशासन आयोगका सदस्य देवराज भार सहित प्रदेश कमिटिका सदस्य समेत बसेर भोलि शुक्रबार हुने जिल्ला अधिवेशनका लागि नेतृत्वका अकांक्षीहरुसँग झण्डै चार घण्टा लामो ‘अन्तरवार्ता’ गरेका हुन् ।
जिल्ला अध्यक्ष निरक गुरुङ्ग, उपाध्यक्ष किस्मत कुमार कक्षपति र सचिव रत्न खत्रीले आफ्ना स्वभाविक दाबेदारीका ‘दलील’ पेश गरे । ‘नेकपा एमालेलाई डायनामिक ढंगले अगाडि बढाउन नेतृत्व पनि त्यसै प्रकारको चाहिन्छ भन्ने कुरामा सबैको मतैक्यता रह्यो’, दाबेदार मध्येका कक्षपतिले दैनिक नेपालगन्जसँग भने, ‘सबै अकांक्षीहरुले आ–आफ्ना आधार र दाबीका कुराहरु गर्नुभयो ।’
निकै लामो कम्युनिष्ट आन्दोलनको फेहरिस्त सार्वजनिक गर्दै सामाजिक सञ्जाल मार्फत नेकपा एमाले बाँकेको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका अशोक कर्माचार्यदेखि सञ्चारमाध्यममा छाइरहेका डिल्ली बिसीसम्मले आफ्ना आकांक्षाका दाबी प्रस्तुत गरेका थिए । पुराना कम्युनिष्ट नेता कर्माचार्यले २०३४ सालदेखिको पार्टी आबद्धता र पार्टी संकटमा पर्दाको पछिल्लो संघर्षमा आफ्नो योगदानसम्मका चर्चा हाइकमाण्ड समक्ष राखे । ‘कम्युनिष्ट आन्दोलनमा मात्रै होइन बाँकेमा पार्टी बनाउने देखि संकटका बेला पार्टी नेतृत्वको रक्षा गर्न एउटा योध्दाका रुपमा आफुलाई उभ्याएको छु’, कर्माचार्यले दैनिक नेपालगन्जसँग भने, ‘जेल परेपछि शिक्षक जागिर नै गुमाएको मैले कहिलेसम्म अवसरहरुबाट वञ्चित रहनुपर्ने ?’
नेतृत्व समक्ष आकांक्षा राख्नेहरुमा गोपाल गिरी र घननाथ खनाल पनि छन् । ‘अघिल्लो पटक नै अध्यक्ष पदका लागि मेरो दाबेदारी थियो’, हाइकमाण्ड समक्ष आफ्ना उम्मेदवारीका आधार प्रस्तुत गरेपछि दैनिक नेपालगन्जसँग संक्षिप्त कुरा गर्दै गिरीले भने, ‘त्यतिबेला नेतृत्वको भनाइ र आश्वासन मानेर म ब्याक भएको हुँ ।’ गिरीले आफ्नो दाबेदारीलाई स्वभाविक भएको बताउँदै भने, ‘बाँकेको एमाले इतिहासमा मेरो योगदान र लगानीलाई कम आँकिनु हुँदैन ।’
‘सर्वसम्मत नेतृत्व चयनका लागि पहल थालिएको हो’, दिनभरी दाबेदारहरुसँग दोहोरो संवाद गरेका जिल्ला पार्टी इन्चार्ज सुर्य ढकालले नेतृत्वका आकांक्षीहरुसँग दुई बुंदे सहमति गरिएको खुलासा गर्दै भने, ‘१, उहाँहरु सातै जना दाबेदारबाट आफु एक जना कुनैलाई सर्वसम्मत रुपमा प्रस्तुत गर्नुहुनेछ, २, अथवा केन्द्रीय सदस्य सहित वरिष्ठ नेताहरुको समूहले सर्वसम्मतका लागि गरेको प्रस्तावित नामलाई उहाँहरुले अनुमोदन गर्नुहुनेछ ।’ इन्चार्ज ढकालले बिहीबार तीन बजेसम्म आकांक्षीहरुलाई एक ठाउँ बसेर नाम टुंगो लगाउन ‘डेडलाइन’ दिइएको जानकारी दिंदै भने, ‘त्यसो भएन भने साँझ ६ बजेसम्म हामी नाम टुंगो लगाउँछौं ।’
सबै जसोले नेतृत्व तिरै दाबी गरिरहँदा अन्य पदहरुमा भने खासै चर्चा र बहस भैरहेको छैन । यद्यपि, सामाजिक सञ्जाल मार्फत युवा नेता सतिश निरौलाले पदाधिकारीमा आफ्नो दाबेदारी रहेको बताइरहेका छन् भने डुडुवाका वडाध्यक्ष मोहन मिश्रले आफुलाई आठौं अधिवेशनमा जिल्ला सदस्यको उम्मेदवारी दिने सार्वजनिक गरेका छन् ।
जिल्लामा महिलाहरुले नेतृत्वमा दाबी सार्वजनिक गरेका देखिंदैनन् । ‘म उपसचिवका लागि योग्य छु’, महिला नेतृ कृष्णा पाठकले दैनिक नेपालगन्जसँग भनिन्, ‘अरु साथीहरुका पनि नाम सुनिएको छ तर खुलेर आउनु भएको दैखिदैन ।’