स्वास्थ्य कार्यालय बाँकेले चैत्र भित्र लक्षित वर्गका सबैलाई खोप लगाउने गरी तयारी अगाडि बढाएको छ । देशमा हाल पर्याप्त खोप रहेको र बाँकेमै पनि खोप स्टकमा रहेकाले लक्षित वर्गलाई चैत्र भित्र खोप लगाइसक्ने योजना बनाएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीर जंग शाहले जानकारी दिएका छन् ।
स्वास्थ्य कार्यालयले मंगलबारदेखि सुरु भएको समिक्षामा एक बर्षसम्म बाँकेमा चलेको खोप अभियानको समिक्षा गर्दै आगामी दिनको रणनीति तय गरेको थियो । स्वास्थ्य कार्यालयका प्रमुख शाहले स्थानीय तहका स्वास्थ्य शाखाका प्रमुख तथा प्रतिनिधि उपस्थितिमा समिक्षा तथा आगामी दिनमा अख्तियार गर्नुपर्ने रणनीतिका बारेमा छलफल गरेको जानकारी दिंदै स्थानीय तहले बाँकी रहेका नागरिकलाई खोप अभियानमा सहभागी गराउन योजना बनाउने बताए ।
स्वास्थ्य कार्यालय प्रमुख शाहले हाल बाँकेमा २५ हजार जनाका लागि लगाउन मिल्ने खोप स्टक रहेको जानकारी दिए । ‘थप चाहिएमा आवश्यकता अनुसार माग गर्न सक्छौं’, उनले भने, ‘खोपको रेकर्डिङ, इप्रमाणपत्र जारी लगायतका विषयमा पनि दुरुस्त गर्ने गरी समिक्षामा छलफल गरेका छौं ।’
दुई दिने खोप सम्बन्धी समिक्षा बुधबार सकिएको छ । हाल १२ देखि १७ बर्षका लागि लगाइने भनेको कोरोना विरुद्धको खोप भने तत्कालका लागि स्थगित गरिएको छ । ‘त्यसका लागि पनि पहल भैरहेको छ’, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख शाहले भने ।
बाँकेमा थपिएनन् संक्रमित: देशभर २ सय ३६ मा पुष्टि
बाँकेका विभिन्न प्रयोगशालामा ४९ जनाको कोरोना परीक्षण गर्दा एक जनामा पनि कोरोना पुष्टि भएको छ । जिल्ला कोभिड व्यवस्थापन केन्द्रले दिएको जानकारी अनुसार, तीन वटा प्रयोगशालामा भएको परीक्षणमा बाँके र जिल्ला बाहिरका कसैमा पनि कोरोना पुष्टि नभएको हो ।
त्यस्तै, देशभर पछिल्लो २४ घण्टामा थप २३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ७ हजार २ सय ३३ जनाको पीसीआर परीक्षण गर्दा २१७ जना र ४ हजार ४३ जनाको एन्टीजेन परीक्षण गर्दा १९ जना गरी २३६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने २७२ जना निको भएका छन् । मन्त्रालयका अनुसार भक्तपुरमा १३, ललितपुरमा ३३ र काठमाडौंमा ७६ गरी काठमाडौं उपत्यकामा जम्मा १२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २२ हजार ४३३ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ५७९ पुगेको छ भने ८ लाख ९ जहार ३५९ जना संक्रमणमुक्त भएका छन् ।










