कोभिडविरुद्ध खोप समीक्षाः अब निरन्तर खोप

कोरोना विरुद्धको खोप अभियान जिल्लामा निरन्तर चलिरहेको छ । गत बर्ष माघदेखि सुरु भएको अभियान एक बर्ष पुगेको अवसरमा मंगलबार स्वास्थ्य कार्यालय बाँकेले त्यसको समीक्षा गरेको छ ।

कोडिभ १९ खोप सम्बन्धी जिल्ला स्तरीय समीक्षा तथा योजना तर्जुमा कार्यक्रममा प्रथम चरणमा खोप लगाएका २५ प्रतिशतले दोस्रो डोज नलगाएको तथ्यांकबाट देखिएको जानकारी दिइएको थियो ।

‘अहिले खोपको कमी छैन, अब बाँकी रहेकालाई पनि खोप लगाउने कार्य जारी रहेको छ’, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजंग शाहले भने, ‘पहिलो खोप लगाएर दोस्रो खोप लगाउनु भएको छैन भने सम्पर्क गर्नुहोस् ।’ उनले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन विश्वका विभिन्न देशमा देखिएपछि बाँकेमा पुनः खोप लगाउनेको संख्या बढेको जानकारी दिए । ‘एक महिनामा मै खोप लगाउने लक्षित वर्गको संख्या २० प्रतिशतले थपिएको छ’, स्वास्थ्य कार्यालयका खोप कार्यक्रम प्रमुख नरेश श्रेष्ठले भने ।

बाँकी रहेको जनसंख्याका लागि खोप लगाएर अभियान सार्थक बनाउनका लागि सबैको सहयोगको खाँचो छ ।

धीरजंग शाह
प्रमुख, स्वास्थ्य कार्यालय बाँके


स्वास्थ्य कार्यालयका प्रमुख शाहले कोभिडबाट खोपले सुरक्षा दिने पुष्टि भएकाले कोभिड बढ्दा मात्रै खोप लगाउन हतार नगर्न र उपलब्ध भैरहेका बेला लगाउन आग्रह गरे । उनले पहिलो खोप एक ठाउँमा र दोस्रो खोप अर्को ठाउँमा लगाउँदा पनि पहिलो भन्दा दोस्रो खोप लगाउनको संख्यामा कमी देखिएको जानकारी दिए । उनले अब फेरि बाँकी रहेको जनसंख्याका लागि खोप लगाएर अभियान सार्थक बनाउनका लागि सबैको सहयोगको खाँचो रहेको औंल्याए । ‘अब कसरी जाँदा प्रभावकारी हुन्छ भनेर छलफलमा छौं’, बाँकेका विभिन्न स्थानीय तहका स्वास्थ्य शाखाका प्रमुख तथा प्रतिनिधि उपस्थित रहेको कार्यक्रममा उनले भने ।


बाँकेमा ६ लाख १९ हजार ३ सय ३७ जनसंख्या रहेकोमा अझै १ लाख ४१ हजार ६ सय ७४ जनालाई कोभिड विरुद्धको खोप लगाउन बाँकी रहेको छ । स्वास्थ्य कार्यालयका प्रमुख शाहले जिल्लाको लक्षित वर्ग मध्ये ७० प्रतिशतले पहिलो र ४५ प्रतिशतले दोस्रो खोप लगाएको बताए ।


बाँकेमा १ लाख ९७ हजार ५ सय १७ जनाले कोभिडको दुवै खोप लगाएका छन् । बाँकेमा कोरोना विरुद्धको कोभिशिल्ड, एक्स्ट्राजेनेका, भेरोसेल, जनसन र फाइजर खोप लगाइएको हो । खोप लगाउने लक्षित समूह १८ वर्ष उमेरमाथिका ४ लाख ६ हजार १ सय ६५ जनामध्ये ४८.६ प्रतिशतले खोपको दोस्रो मात्रा पूरा गरे । पहिलो डोज लगाउनेको संख्या भने २ लाख ६४ हजार ४ सय ९१ छ ।


स्वास्थ्य कार्यालयका प्रमुख शाहले कोभिडको खोपले कोभिड विरुद्ध काम गर्ने भएपनि स्वास्थ्य सतर्कतामा लापरवाही नगर्न आग्रह गरेका छन् । ‘नयाँ नयाँ भेरियन्ट देखिंदै जानसक्छ त्यसैले स्वास्थ्य सतर्कता र पूर्वतयारीमा रहीरहनु पर्दछ’, उनले भने ।

बाँकेमा ४ सहित २ सय ९० मा कोरोना, निको हुने दर ९८ प्रतिशत
बाँकेमा चार जना सहित देशभर पछिल्लो २४ घण्टामा थप २९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १७ हजार ८९ जनाको नमुना परीक्षण गरिएको थियो । बाँकेमा ५९ जनाको परीक्षण गर्दा ४ जनामा कोरोना पुष्टि भएपनि सबै बाहिरि जिल्लाका रहेका छन् ।


गत २४ घण्टामा २३२ जना कोरोनाबाट निको भएका छन् । यससँगै निको हुनेको संख्या आठ लाख नौ हजार ३८७ पुगेको छ । निको हुने दर ९८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा पीसीआर विधिबाट कोरोना परीक्षण गरिँदा संक्रमितको संख्या आठ लाख २६ हजार २०६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पीसीआर विधिबाट परीक्षण गर्नेको संख्या ४७ लाख ८४ हजार २३१ र एन्टिजेन विधिबाट परीक्षण गर्नेको संख्या सात लाख ८९ हजार १२४ पुगेको छ । कूल सङक्रमण दर १७ दशमलव तीन प्रतिशत छ ।


कोभिडविरुद्धको खोप लगाउनेको संख्या पछिल्लो २४ घण्टामा दुई लाख ४७ हजार ८१४ रहेको छ । हाल सक्रिय संक्रमितको संख्या पाँच हजार २४२ रहेको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट तीन जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५७७ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर एक दशमलव चार प्रतिशत रहेको छ । हाल भेन्टेलेटरमा रहनेको संख्या २५ र आईसीयूमा ९५ जना छन् । होम आइसोलेसनमा चार हजार ९९३, संस्थागत आइसोलेसनमा २४९ रहेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया