‘सप्तरंग सांगीतिक यात्रा’ नेपालगन्जमा आज

कला संस्कृतिलाई उजागर गर्दै मंसिर २४ काँकडभिट्टाबाट सुरु भएको ‘सप्तरंग–३’ आज विहीवार नेपालगन्ज आइ पुग्ने भएको छ । गृष्मा ब्रोर्डकास्टिङको आयोजनामा सात वटै प्रदेशमा देशका चुनिएका कलाकारहरुको प्रस्तुतिसहितको सप्तरंग सांगीतिक यात्रा आज नेपालगन्ज आइपुग्ने भएको हो ।
सातै प्रदेशमा सांगीतिक यात्राको माध्यमबाट स्वास्थ्य र समृद्धिको नारालाई प्रवर्द्धन गरिने योजना आयोजकको छ । नेपालगन्जमा सामुदायिक प्रहरीले यसको समन्वय गरेको छ । ‘समुदाय– प्रहरी साझेदारी कार्यक्रमको अवधारणालाई जनतामाझ पु¥याउन यो कार्यक्रम गर्न लागिएको हो,’ जनताका लागि समर्पित नेपाल प्रहरीसँग निर्धक्क हुन आम जनतालाई प्रेरित गर्न खोजिएको जानकारी दिंदै बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले दैनिक नेपालगन्जसँग भने ।
नेपाली चलचित्रका महानायक राजेश हमालसहित प्रसिद्ध कलाकारहरुको सहभागितामा हुने कार्यक्रमलाई प्रहरी उपरीक्षक अधिकारीले प्रहरीको समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आयोजना हुने बताए । शान्तिपूर्ण र सुरक्षित समाजको परिकल्पनालाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ सद्भाव र ऐक्यवद्धताका लागि कार्यक्रम आयोजना गरिएको अधिकारीको भनाइ छ । मंसिर २४ देखि काँकडभिट्टाबाट सुरु भएको ‘सप्तरंग–३’ मंगलवार चितवनमा आयोजना भएको थियो । नेपालगन्जबाट शनिवार सुर्खेतमा आयोजना हुने कार्यक्रमका लागि कलाकार त्यसतर्फ लाग्नेछन्, पुस ९ गते पोखरामा गएर यात्रा अन्त्य हुनेछ ।
‘सप्तरंग–३’ मा अभिनेता राजेश हमाल, गायक बद्री पंगेनी, प्रमोद खरेल, रामकृष्ण ढकाल, अनिल सिंह , हास्य कलाकार सन्दीप छेत्री, राजा राजेन्द्र पोखरेल गायिका मिलन नेवार र अस्मिता अधिकारी तथा मोडेल उषा उप्रेती जस्ता कलाकारहरू सहभागी हुने गरेका छन् । अधिकाँश कलाकार बुधवारनै नेपालगन्ज आइसकेको जानकारी दिंदै स्थानीय आयोजकले बाँकी कलाकार आज विहीवार आइपुग्ने जनाएको छ ।
गृष्मा ब्रोडकास्टिङले विगत पाँच वर्ष देखि मनोरञ्जनको क्षेत्रमा आफ्नो मौलिक कार्यक्रमहरूमार्फत सिंगो देश र विदेशमा रहिआएका आप्रवासी नेपालीहरूलाई एउटै साझा सागिंतिक धागोमा गाँस्दै आएको छ । नेपाल र नेपालीलाई चिनाऔं र सारा विश्वमा फैलिएका नेपालीहरूले आफ्नो देशको प्रतिनिधित्व गर्दै जाति, धर्म, भाषा र वेशभूषालाई विश्वसामु आफै चिनाउनेछन् भन्ने मूल हेतुलाई आत्मसाथ गरी नेपाल चार जात छत्तीस वर्णको साझा फूलबारी हो भन्ने भनाइलाई प्रस्ट्याएको छ ।
‘नेपालगन्जमा हामी प्रहरी–समुदाय सम्बन्ध र साझेदारीकै सवाललाई प्राथमिकतामा राखेका छौं,’ प्रहरी उपरीक्षक अधिकारीले प्रष्ट पारे । उनका अनुसार, स्थानीय विपी चोकबाट कलाकारहरु सम्मिलित र्याली बजार हुँदै राम लिला मैदानमा पुगि सांगीतिक प्रस्तुति गरिनेछ । प्रवेश निशुल्क र खुल्ला हुने आयोजकले जनाएको छ ।