
युरोपेली सहर मात्रै होइन एतिवेला गल्फ मुलुक लगायत संसारका धेरै मुलुकको ध्यान र लगानी साइकल मैत्री सहर तर्फ बढिरहेको बेला नेपालमा पनि साइकल मैत्री सहर र सडकमा साइकल लेनको बहस चलिरहेको नै छ ।
साइकलका लागि लेन अर्थात अलग्गै सडक भन्दा धेरै मानिसहरूको नेपालमा अहिले पनि छिटो टिप्पणी आइहाल्छ नेपाली उखान झैं – ‘खान नपाउने जोगी, जाइफलको भोगी’ भन्ने पाराको अर्थात अहिले कै सडकको दुरावस्था र मन्दगतिको बिकास निर्माणले पनि साइकल लेनको कुरा उठ्ना साथ तितो उत्तरहरु आउने गरेका छन् अझ आजभोलि माउन्टेन बाइक अर्थात् महङ्गो साइकल चढ्ने सस्कृतिको बिकासले त झन् साइकल लेनको कुरा उठ्नासाथ यो मुद्दा सम्पन्नहरुको भन्नेहरु पनि थुप्रै छन् ।

देश बाहिर र भित्र चलिरहेको साइकल लेनको बहस र मुद्दा हामीले पनि निरन्तर रूपमा नेपालगन्जमा नेपालगन्ज साइक्लिङ क्लब मार्फत उठाइनै रहेका छौं, देशदुनिया घुमेका र बुझेका मात्रै होइन साइकलप्रेमी मेयरका रूपमा चिनिएका डाक्टर धवल समसेर राणा नेपालगन्ज उपमहानगरको मेयर भैरहँदा स्वभाविक रूपमा यो अभियानमा जुटेका हामीहरु नेपालगन्ज उपमहानगरले हाम्रो मागलाई र मुद्दालाई सम्मान गर्नेछ भन्नेमा हामी आशावादी छौं । तर, उहाँको कार्यकालको उत्तरार्धमा भैरहदा अझै पनि सहरमा साइकल लेन र साइकल मैत्री सहर बन्न नसक्दा हामी चिन्तित पनि छौं तर पनि हामीले आशा मारेका छैनौं ।
अहिले म सङ्ग ठ्याक्कै तथ्यांक त हात परेको छैन तर पछिल्लो ५ बर्ष एताको दुर्घटनाको आकडा भेटिए बाके जिल्ला मा पक्कै पनि सडक दुर्घटनामा परि ५ सय भन्दा बढी साइकल यात्रीहरुले ज्यान गुमाएको हुन सक्ने मेरो अनुमान छ, सडक दुर्घटनाबाट आम साइकल यात्रीहरुको जीवन जोगाउन पनि शहर मा साइकल लेनको आवश्यकता छ र यो सम्भव छ ।
नेपालगन्ज, बिरगंज, जनकपुर, बिराटनगर जस्ता तराईको सहरहरुमा साइकलको प्रयोग बढी नै हुने गर्दछ, स्कुल÷कलेज जाने बिद्यार्थी, तरकारी र दुध बेच्ने ब्यापारी अनि दैनिक ज्याला मजदुरीका लागि निस्कने मजदुरहरु धेरैले प्रयोग गर्ने सवारी साधन हो साइकल त्यसैले पनि यो साइकल लेन धनी र सम्पन्न मानिसहरूका लागि भन्दापनि आम मानिसहरूका लागि आवश्यकताको बिषय हो ।
सडकमा साइकल लेन बन्दा र साइकल मैत्री सहर बनाउँदा बिस्तारै साइकल संस्कृति पनि बढ्दै जानेछ र अहिले बिलासी जिवनशैली बिताउने सस्कारले बिस्थापित हुँदै गएको सवारी साइकल पुनस्र्थापित हुनेछ, साइकलको प्रयोगमा धेरै भन्दा धेरै मानिसहरूको रुचि जगाउन सके स्वस्थ सहर, वातावरण मैत्री सहर बनाउने अभियानमा पनि टेवा पुग्ने छ । नगरपालिकाका रूपमा आफुलाइ बिकासको गतिमा अगाडि बढाइरहेको कोहलपुर नगरपालिका र सहर उन्मुख टाउनका रूपमा अगाडि बढिरहेको खजुरा गाउँपालिकालाई पनि साइकल मैत्री अवधारणाबाट अगाडि बढाउन सम्भव छ अझै खजुरा गाउँ पालिकाले त ‘ग्रीनसिटी’ प्रोजेक्ट अगाडि सारिरहदा साइकल मैत्री पालिका बन्न जरुरी मात्रै होइन अत्यावश्यक नै छ ।
सडकमा साइकल लेनको बिषय उठिरहेको बेला आउने अप्ठ्यारो र केही चुनौती अवश्य होलान् तर नेपालगन्ज उपमहानगरपालिका ‘महानगर’ बन्ने सपना देखिरहेका बेला महानगर कस्तो छन् एसियाली र दक्षिण एसियाली मुलुकहरूमा त्यसको पनि अध्ययन र अवलोकन गर्न जरुरी छ त्यसैले साइकल मैत्री सहर र सहरमा साइकल लेन दोश्रो कार्यकालबाट जाँदाजाँदै नेपालगन्ज उपमहानगरका मेयर सापले चासो राखेर सुरुवात मात्रै गरिदिए पनि दीर्घकालीन रूपमा यो बिषय र मुद्दा नेपालगन्जमा स्थापित हुनेछ र यसको भाइव (प्रभाव) ले देशका अन्य सहरहरुलाई पनि साइकल मैत्री बन्न उत्प्रेरित गर्नेछ । (निरौला नेपालगन्ज साइक्लिङ क्लबका अध्यक्ष हुन् ।)