अझै आधा करको दायरा बाहिरै !

नेपालगन्जका करिब ५० प्रतिशत व्यवसाय दर्ता नै नभई सञ्चालनमा रहेको एउटा सर्वेक्षणले देखाएको छ । सोमबार नेपालगन्ज उपमहानगरपालिकाले आयोजना गरेको निदान कार्यशालामा जिआइजेडले प्रकाशन गरेको सर्वेक्षणले नेपालगन्जका करिब ५० प्रतिशत व्यवसाय दर्ता विना नै सञ्चालनमा रहेको देखाएको हो ।

नेपालगन्ज नगर प्रमुख डा. धवल समशेर राणाको सभापतित्वमा भएको कार्यक्रममा नगरमा रहेका ७ हजार १८७ पसल व्यवसाय मध्ये आधा दर्ता बिना नै सञ्चालन रहेको तथ्यांक व्यवसायिक वातावरण सर्वेक्षणकी डा. दिप्ती काफ्लेले प्रस्तुत गरेकी हुन् ।
नेपालगन्ज उपमहानगरपालिका आन्तरिक राजश्व वृद्धिमा निकै प्रयासरत् रहेको छ । तथ्यांकले आधा व्यवसाय दर्ता विना रहेको देखाएकाले तिनलाई करको दायरामा ल्याउन सके उपमहानगरपालिका लगायत राजश्व लिने कार्यालयको राजश्व वृद्धि हुने देखिन्छ । ‘करको दर भन्दा दायरा बढाउने र सबैलाई थोरै भएपनि कर लिएर समेट्न सक्ने हो भने यो उपमहानगरपालिकाको आन्तरिक आय वृद्धिका लागि राम्रो अवसर हो’, कार्यक्रमका सहभागी भने ।

नेपालगन्जमा सबैभन्दा बढी रोजगारी सिर्जना व्यापारिक क्षेत्रबाट भएको तथ्यांकले देखाएको छ । कार्यक्रममा नेपालगन्जमा रहेका ७ हजार १ सय ७८ व्यवसायीहरुको सर्वेक्षण परियोजना अन्तर्गत गरिएको जानकारी दिइएको थियो । जसको योगदान कुल रोजगारको ३१ प्रतिशत रहेको छ । सबैभन्दा बढी रोजगारी दिन क्षेत्र व्यापार नै भएको सर्वेक्षणले देखाएको छ । व्यापारमा इलेक्ट्रोनिक, बिजुली सामान, औषधी, सौन्दर्य, जुत्ता, भाँडा, स्टेशनरी, कृषि, जडिबुटी, अटो पार्टस्, थोक र कृषि उत्पादनहरु, हार्डवेयर र निर्माण सामाग्रीका खुद्रा बिक्रेता समावेश छन् ।

सर्वेक्षणले नेपालगन्ज उपमहानगरपालिकामा ९ सय ५ साना र मध्यम स्तरका निर्माता व्यवसायी रहेको जानकारी दिइएको थियो । जसमा चामल, गहुँ, नुडल्स, बिस्कुल, बेकरी, डेरी र मिठाई, हस्तनिर्मित जुत्ता, इट्टा र ब्लक लगायत रहेका छन् । समग्र निर्माण क्षेत्रमा कुल रोजगारको २५ प्रतिशत योगदान रहेको तथ्यांक कार्यक्रममा सार्वजनिक गरिएको थियो ।

नेपालगन्जमा पर्यटन तथा आतिथ्य व्यवसाय सञ्चालन गर्ने १ हजार ३७ प्रतिष्ठान रहेको कार्यक्रममा सार्वजनिक गरिएको थियो । जसले कुल रोजगारको ११ प्रतिशत योगदान गरेको तथ्यांक कार्यक्रममा प्रस्तुत गरिएको थियो । पर्यटन तथा आतिथ्य उद्यममा योगदान पुग्नुमा बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज निकट हुनु, मानसरोवर यात्ताको गेटवे हुनु लगायत रहेका छन् ।

नेपाल–जर्मन संयुक्त पहल अन्तर्गत जीआइजेडले सहयोग गरेको स्थानीय तथा प्रादेशिक आर्थिक विकास परियोजना (एलपीइडी) परियोजनाले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम गरी तीन प्रदेशका ११ नगरपालिकाहरुमा आर्थिक सुशासन तथा व्यवसायिक भावनाको आकलनका लागि सन् २०२०÷२०२१ मा व्यवसायिक वातावरण सर्वेक्षण (बीसीएस) गरेको थियो ।

बीसीएसले ११ नगरपालिकामा गरेको सर्वेक्षणपछि सार्वजनिक तथ्यांक अनुसार, नगरपालिकाहरुमा ८८.३ प्रतिशत व्यापार तथा सेवा क्षेत्र, १०.८ प्रतिशत उत्पादन क्षेत्र, १.१ प्रतिशत कृषि क्षेत्र रहेको देखाएको छ । जसमध्ये ९५.२ प्रतिशत लघुउद्यमहरु, ४.४ साना उद्यमहरु, ०.३ मझौला र ०.१ प्रतिशत ठूला व्यवसायहरु रहेका छन् । ४७ वटा सूचकको प्रयोग गरिएको सर्वेक्षणमा नेपालगन्ज उपमहानगरपालिका पाँचौं स्थानमा रहेको छ । ११ नगरपालिकामध्ये उपमहानगरपालिका पाँचौ स्थानमा रहेको हो ।

बीसीएसले नेपालगन्ज उपमहानगरपालिकाको कमजोरीका रुपमा न्यून प्रतिव्यक्ति स्थानीय बजेट, कर्जा बिस्तारको वृद्धि न्यून, तुलनात्मक रुपमा पुरानो व्यवसायिक जनसंख्या र उत्पादन (वस्तु तथा सेवा) मा नवप्रवर्तक सीमित, गम्भीर व्यवसायिक चुनौतिहरु उच्च रहेको धारणा र सरकारी अधिकारीहरुको कार्यमा स्थिरता कम, भौतिक बजारहरुको घनत्व पातलो रहेको औंल्याएको छ ।

एलपीइडीका डा. कल्याण गौलीले परियोजनाको उद्देश्यहरु बारे प्रकाश पारेको कार्यक्रममा नेपालगन्ज नगर प्रमुख डा. धवल समशेर राणाले सर्वेक्षणका नतिजा आगामी दिनमा योजनाहरु बनाउन काम लाग्ने बताए । उनले नगरका उद्यमीलाई टेवा दिने र नयाँ उद्यमीलाई प्रबद्र्धन गर्न जीआइजेडसँग सहकार्य गरेर कार्यक्रमको तयारी गरिरहेको बताए । उनले भने, ‘अहिले पाइलट प्रोजेक्टको रुपमा काम सुरु भइसकेको छ । चाँडै सम्झौता गरेर कार्यक्रम सञ्चालन हुनेछ ।’ जस अन्तर्गत च्याउ पकेट क्षेत्र, प्रांगारिक वा जैविक मल उत्पादन प्रबद्र्धन कार्यक्रमलगायत हुनेछन् ।

कार्यक्रममा अन्तरप्रेरणा परियोजनाका निर्देशक निरज खनालले व्यवसायको दीर्घकाल, युवाहरुलाई व्यवसायमा आकर्षित गर्न तथा सुझाव दिने कार्य परियोजना अन्तर्गत भैरहेको बताएका थिए । उनले ९० प्रतिशत उद्योग खोलिएको २ बर्षमा बन्द हुने गरेको उल्लेख गर्दै त्यसलाई न्यूनीकरण गर्ने प्रयास गरिरहेको बताएका थिए । ‘स्थानीय आवश्यक र सम्भावनालाई मध्यनजर सोही अनुसार युवालाई व्यवसायमा प्रेरित गरिरहेका छौं’, उनले भने, ‘यसले स्थानीय स्तरमा रोजगारी सिर्जनासँगै पलायन समेत रोक्छ ।’
नेपालगन्ज वडा नं. १० का अध्यक्ष विन्दुभुषण बस्नेतले स्वागत गरेको कार्यक्रममा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी, नेपालगन्ज नगरका विभिन्न वडाका वडाध्यक्ष, विभिन्न व्यवसायिक संगठनका प्रमुख तथा प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया