बाँके जिल्लाका नेवार समुदायले वर्षभरि दिवंगत भएका पितृहरूको सम्मान, सम्झना तथा मुक्तिका लागि मनाइने गाईजात्रा पर्व सोमवार पहिलो पटक नेपालगन्जमा महोत्सवको रुपमा आयोजना गरेका छन् । नेवारहरुको संगठन नेवाः पुचः बाँके, नेवाः देयः दवू बाँके र बाँके जिल्लामा रहेका ६ वटा विभिन्न गुठीहरुको संयुक्त आयोजनामा पहिलो पटक ‘गाईजात्रा विशेष महोत्सव’ को रुपमा मनाइएको हो ।

‘भाषा, संस्कृति र परम्पराको जगेर्ना गरौँ’ भन्ने मूल नाराका विहान नेपालगन्जको धम्बोझी चोक चोकबाट यस वर्ष दिवंगत भएका नेवार समुदायका परिवारका सदस्यहरुबाट तयार गरिएका विशेष रुपमा सिंगारिएका गाईका प्रतिक बालबालिकाहरु, तायः मचा लगायतका झाँकीहरुले दिवंगतहरुको सम्झनामा तयार पारिएका निर्गुण, भजन र बाजा गाजाका साथ नगर परिक्रमा गरी बागेश्वरी मन्दिर परिसरमा विशेष कार्यक्रममा परिणत भएको थियो ।
नेपालगन्जमा यसअघि व्यक्तिगत रुपमा घर–घरबाट बागेश्वरी मन्दिरमा पुगेर विधिवत रुपमा गाईजात्रा मनाएर संस्कार पूरा गर्ने गरिन्थ्यो । नेवा पुचः, बाँकेका पार्षद पूर्णलाल चुकेका अनुसार, घरघरबाट व्यक्तिहरु बागेश्वरी मन्दिरमा आएर संस्कार पूरा गर्थे । यसपालीबाट सामुहिक रुपमा गाईजात्रा मनाउन शुरु गरिएको छ । गाईजात्रा दिवंगत आफन्तको सम्झना मनाउने गरिन्छ ।

नेपालगन्जको धम्बोझीचोकबाट झाँकी, बाजागाजासहित शुरु भएको गाईजात्रा सेतु विक चोक, त्रिवेणी मोड, घरबारी टोल हुँदै बागेश्वरी मन्दिर परिसरमा रहेको पार्कमा पुगेको थियो । विशेषगरि नेपालगन्ज उपमहानगरपालिका अन्तर्गत बसोबास गर्ने वर्षभरी दिवंगत भएका व्यक्तिको सम्मान र सम्झनामा दिवंगत व्यक्तिको तस्वीर, विभिन्न झाँकी, तायः मचा समेत आफन्तजन, परिवारका सयौं सदस्यहरुको सहभागितामा संयुक्त रुपमा निकालिएको गाईजात्राका सहभागीहरुले नगर परिक्रमा गरी बागेश्वरी मन्दिरमा दर्शन गरेर मन्दिर परिसरमा आयोजित कार्यक्रममा विभिन्न नेवार अगुवाहरुले गाईजात्राको महत्वको बारेमा प्रकाश पारेका थिए । नेपालगन्ज लगायत कोहलपुर, खजुरा र राँझामा पनि गाईजात्रा निकालिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि नेवाः पुच बाँकेका संस्थापक तथा पार्षद् पत्रकार पूर्ण लाल चुकेले गाईजात्रा नेपालमा मनाइने पर्वहरु मध्य अर्को महत्वपूर्ण राष्ट्रिय साँस्कृतिक पर्व हो भन्दै यो पर्व नेवारी संस्कृति र संस्कारबाट प्रारम्भ भएकोले खासगरी काठमाडौं उपत्यकाका तीन शहर र पछि नेवारहरूको बसोबास भएका देशका अन्य शहर बजारहरूमा विशेष महत्वका साथ मनाइने गरेको बताए ।
नेवार समुदायमा वर्षदिन भित्र दिवंगत भएका पितृहरूको सम्मान, सम्झना तथा मुक्तिका लागि गाईजात्रा मनाउने प्रचलन रही आएको छ । प्रत्येक वर्ष जनैपूर्णिमाको भोलिपल्ट अर्थात् भाद्र कृष्णपक्ष प्रतिपदादेखि अष्टमीसम्म यो पर्व मनाउने गरिन्छ ।
गाई जात्रा मनाउनुको रोचक ऐतिहासिक प्रशंगको चर्चा गर्दै ऐतिहासिक तथ्यका आधारमा मध्ययुग अर्थात् आज भन्दा ३८० वर्ष पूर्व विक्रम सम्वत् १६९८ मा तत्कालीन राजा प्रताप मल्लले गाईजात्रा मनाउने चलन बसाएको बताउँदै मल्ल राजाका मृत्यु भभएका छोराको शोकले विह्वल आफ्नी रानीलाई मानिस जन्मे पछि एक पटक मर्नै पर्छ भन्ने सम्झाउनका लागि अनेक उपाय गर्ने क्रममा काठमाडौं उपत्यकाका नेवारहरुलाई भाद्र कृष्णपक्ष प्रतिपदाको दिन आफ्ना मृतक सदस्यको सम्झनामा गाईजात्रा निकाली शहर परिक्रमा गर्न लगाएका थिए ।
गाईको भेषमा, विभिन्न देवीदेवताको रंगीचङ्गी पोशाक लगाएर सिंगारिएका बालबालिकाहरु हरेक मृतकका आफन्तहरू घर–घरबाट निस्किएर जात्रामा सहभागी बनेको देखेपछि रानीको शोक केही कम भएको र त्यसपछि हरेक वर्ष गाईजात्रा मनाउने परम्पराको शुरुवात भएको चर्चा पार्षद् चुकेले गरे । उनले पछिल्लो समयमा गाईजात्रा हाँस्यव्यंग्य विधालाई उजागर गर्ने पर्वका रूपमा पनि स्थापित हुँदै आएको र सो पर्वको अवसरमा नेपालका विभिन्न पत्रपत्रिकाले हाँस्यव्यंग्यका विशेषाङ्क प्रकाशित गर्ने गरेको र हाँस्य कलाकारहरूले समाज र राष्ट्रमा हुने गरेका विकृति–विसंगतिलाई व्यंग्यात्मक प्रहसन मार्फत् औंल्याउने गरेको पनि उल्लेख गरे ।

सो अवसरमा विशिष्ठ अतिथि नेवाः देयः दवू बाँकेका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठले अहिलेसम्म नेवाः पुचः बाँकेको अगुवाईमा दिवंगत व्यक्तिका परिवारले निकाल्ने गरेको गाईजात्राको साँस्कृतिक महत्वलाई उजागर गर्न र नेवार संस्कृतिको जगेर्ना गर्नका लागि नेवाः देयः दवू बाँके, नेवाः पुचः बाँके र गुठीहरुले संयुक्त रुपमा गाईजात्रालाई विशेष रुपमा मनाउने परम्पराको थालनी गरिएको बताए ।
नेवाः पुचः बाँकेकी अध्यक्ष नन्दा श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा उपाध्यक्ष जीतेन्द्र जोशीले स्वागत भाषण र कार्यक्रम सञ्चालन विवेक श्रेष्ठले गरेका थिए । उल्लेखनीय छ, गाईजात्रामा नेवाः पुचः बाँकेका प्रमुख पार्षद् स्व. राम नारायण श्रेष्ठ, सल्लाहकार गिरिधर श्रेष्ठ, नागरिक अगुवा कृष्ण प्रसाद श्रेष्ठका स्वर्गीय बुवा, सल्लाहकार ज्ञानेन्द्र श्रेष्ठकी स्वर्गीय पत्नी, सदस्य चन्द्र श्रेष्ठकी स्वर्गीय पत्नी लगायत दुई दर्जन दिवंगतहरुको सम्झनामा उनीहरुको आत्माको शान्तिका लागि गाईको भेषमा, विभिन्न देवीदेवताको रंगीचङ्गी पोशाक लगाएर सिंगारिएका बालबालिकाहरु सहितका झाँकीहरु प्रदर्शन गरिएको सल्लाहकार ज्ञानेन्द्र श्रेष्ठले बताए ।

काठमाडौं, भक्तपुर, ललितपुर, रुपन्देही, पाल्पा, गुल्मी, प्युठान, बाग्लुङ, म्याग्दी, सुनसरी, मोरङ लगायतका नेवार बाहुल्य भएको शहर बजारमा नेवारी परम्परा अनुसार गाईजात्रा मनाउने प्रचलन कायमै छ । नेवारहरुको छाता संगठन नेवाः देयः दवूको माग अनुसार, नेपाल सरकारले यस वर्ष गाई जात्रा पर्वलाई राष्ट्रिय पर्वको रुपमा घोषणा गरी सार्वजनिक विदा दिएको थियो ।