कोरोना संक्रमण १८ बर्ष मूनिका बालबालिकाहरुमा पनि देखिन थालेको छ । जिल्ला कोभिड व्यवस्थापन समिति बाँकेका अनुसार, सोमबार ५ जना १८ बर्ष मूनिका बालबालिकामा कोभिड संक्रमण पुष्टि भएको छ । शनिबार र आइतबार पनि २ जना १८ बर्ष मूनिका बालबालिकामा कोभिड पुष्टि भएको थियो । शुक्रबार ८ जना १८ जना मूनिका बालबालिकामा कोभिड पुष्टि भएको कोभिड व्यवस्थापन समितिका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिएका छन् ।
कोभिड तेस्रो लहरको सम्भावना औंल्याउँदै गर्दा बालबालिका बढी प्रभावित हुने आशंकाका बीच बालबालिकामा देखिएको संक्रमणले अभिभावकहरुमा चिन्ता थपिएको छ ।
कोभिडका कारण लामो समयदेखि बालबालिका विद्यालय जान पाएका छैनन् । अब विद्यालय सञ्चालन गर्ने कि भन्ने बहस पनि सुरु भएको छ । यसै बेला तेस्रो लहरको सम्भावना र बालबालिका प्रभावित हुने आशंका बीच थप चिन्ता थपिदिएको छ ।
स्वास्थ्य मन्त्रालयले तेस्रो गत जेठ २१ गते सबैखाले अस्पताल तथा स्वास्थ्य संस्थाहरूका नाममा परिपत्र गर्दै कम्तीमा २० प्रतिशत शय्या कोभिड बिरामी बालबालिकाका लागि प्रयोग हुनेगरी तयारी अवस्थामा राख्न भनेको थियो । त्यस अनुसार, भेरी अस्पताल नेपालगन्जले तयारी गरिरहेको छ । यसअघि अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश बहादुर थापाले कुनैपनि उमेर समूहका कोभिड संक्रमितको उपचारमा अस्पताल तयार रहेको बताएका थिए ।
खोप र स्वास्थ्य मापदण्डको पालनाको विषय अझै ठूलो प्राथमिकतामा राखेर बालबालिकालाई जोगाउने कामलाई प्राथमिकता दिनुपर्ने स्वास्थ्य क्षेत्रका अधिकारीहरु बताउँछन् ।
सरकारले बालबालिकाका लागि कोरोना भाइरसविरुद्धको खोप ल्याउने तयारी गरेको छ । बालबालिकाका लागि फाइजरको खोप ल्याउने तयारी सरकारले गरेको छ । तर, कहिले खोप आउने र लगाउने भन्ने आशंका अभिभावकहरुमा रहेको छ ।