कोभिड १९ को सम्भावित तेश्रो लहर, अपनाउनु पर्ने सावधानी र पूर्व तयारीका सवाल

अक्सिजन र बेड उपलब्ध भएको भए कोरोना संक्रमणको दोश्रो चरणमा धेरैको ज्यान बच्न सक्थ्यो । सिमा समुचित ब्यवस्थापन गर्न नसक्दा र स्वास्थ्य मापदण्ड पालना नगर्ने प्रवृत्तिले बिगतमा कोरोना संक्रमणमा एक्कासी बढोत्तरी भयो ।
स्थानिय तहले निर्माण गरेका आईसोलेसन सेन्टर कोभिड अस्पताल मापदण्ड अनुसार संचान नहुने, कोरोना संक्रमितले स्वास्थ्य मापदण्ड पालना नगर्ने, होम आईसोलेसन बसेका संक्रमित बिरामीहरु जटिल स्वास्थ्य अवस्था हुँदा नहुदा सम्म घरैमा बस्ने गर्नाले पनि धेरैले ज्यान गुमाए ।

अस्पतालहरुमा बिरामीको बढ्दो चापका कारण कोभिड बिरामीको उपचार गर्ने अस्पतालमा आवश्यक दक्ष जनशक्ति र श्रोत साधनको समुचित ब्यवस्थापन मिलाउन नसक्दा र स्वास्थ्य संस्था बिचको प्रभावकारी समन्वयको अभावमा पनिे बिगतमा धेरैका ज्यान गएका तथ्यहरु हामीले भोगेकै हो ।

कोरोना संक्रमणको संभावित तेस्रो लहरको जोखिम र त्यसलाई न्युनिकरण गर्न ब्यवस्थित रुपमा पुर्ब तयारी गर्नका लागि तत्काल अवलम्वन गर्नुपर्ने उपायका सम्बन्धमा अध्ययन गरि प्रतिवेदन बुझाउन बाल रोग बिशेषज्ञ डा. बिनोद खेतानको संयोजकत्वमा गठित ८ सदस्यित समितिले हालै बाँकेका प्रमुख जिल्ला अधिकारीलाई सिफारिस प्रतिवेदन बुझाएको छ ।

अधिकारकर्मी र कानून ब्यवशायीद्धारा दायर रिटमा उच्च अदालत तुल्सीपुर नेपालगंज इजलासले कोभिड–१९ संक्रमणको तेश्रो लहरको सम्भावित जोखिम र त्यसलाई न्यूनीकरण गर्नको लागि व्यवस्थित रुपमा पूर्व तयारी गर्न जिल्ला कोभिड व्यवस्थापन समिति लगायतका सरोकारवालाका नाममा अन्तरिम आदेश जारी गरेको थियो ।

अदालतको आदेश बमोजिम गठित सिफारिस समितिले बुझाएको प्रतिवेदमा कोरोना संक्रमण, नियन्त्रण र उपचारमा बिगतमा भएका कमी कमजोरी औल्याउदै भावी दिनमा गर्नु पर्ने कार्यमा सम्बन्धमा सरोकारवाला निकायहरुलाई सिफारिस गरेको जनाएको छ । समितिले बिगतमा स्वास्थ्य मापदण्ड पालना समस्या देखिएको, नेपाल भारत खुल्ला सिमानाको समुचित ब्यवस्थापन हुन नसक्दा कोरोना रसंक्रमणमा मद्धत पुगेको औल्याएको छ । यसै गरि कोरोना संक्रमणको दोश्रो चरणमा अक्सिजनको अभाव, अस्पतालमा बेड नपाउने, अस्पतालमा आम नागरिकको सहज पहुँच पुग्न नसकेकोले यस्ता कुरामा सुधार गरि आम नागरिकले सहज तरिकाले गुणस्तरिय स्वास्थ्य सेवामा पाउन पाउने वातारण मिलाउनु पर्नेमा जोड दिएको छ । जुन कुराको प्रभावकारी कार्यान्वयन हुन जरुरी छ ।

कोरोना रोकथाम र नियन्त्रणका लागी सबै नागरिकलाई खोपको ब्यवस्था गर्न, सबै नागरिकलाई निशुल्क कोरोना उपचारको ब्यवस्था मिलाउन र कडाईका साथ सिमा ब्यवस्थापन गर्न सुझाएकोले समयमै यस्ता कुरामा सरोकारवाला ध्यान पुग्न जरुरी छ ।
कोरोना रोकथामको लागी जनचेतमा अभिबृद्धि, पिसिआरको परिक्षणको दायरा बढाउने, स्वास्थ्य मापदण्डको पालना गराउने, मापदण्ड अनुसारका आईसोलेसन केन्द्र संचालन गर्ने, कोरोना संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई तालिमको ब्यवस्था मिलाउने, कोरोना अस्पतालहरुमा बिरामीको संख्याको अनुपातमा दक्ष जनशक्तिको ब्यवस्था मिलाउन पनि उत्तिकै जरुरी छ । जुन कुरा सिफारिस समितिले पनि आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।

यसै बिच कोभिड १९ को संभावित तेश्रो लहरको प्रभावबाट बच्न गर्नु पर्ने पुर्व तयारी पोष्ट कोभिड १९ को प्रभाव सम्बन्धमा अध्ययन गरि प्रतिवेदन पेश गर्न गठित समितिको प्रतिवेदनलाई कोभिड १९ संकट ब्यवस्थापन केन्द्र बाँकेका बैठकमा श्रावण २१ गते पेश गरिएको थियो । उक्त बैठकले उक्त प्रतिवेदनमा सिफारिस गरिएका बिषयमा सम्बन्धित सबै सरोकारवालाहरुको तर्फबाट प्रभावकारी कार्यान्वयनको ब्यवस्था मिलाउने निर्णय गरेको जनाएको छ । जुन निर्णय सकारात्मक छ र यसको कार्यान्वयनमा सबै लाग्नु पर्दछ ।

कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारका एउटा निकायको एक्लो प्रयासले मात्र संभव छैन । यसका लागी सबै सरोकारवालाको भुमिका र सक्रियताको उत्तिकै जरुरी छ । यसका लागी समुदाय स्तरमा गर्नु पर्ने, अस्पताल स्तरमा गर्नु पर्ने, सिमा ब्यवस्थापनको समुचित ब्यवस्था मिलाउने लगायतका कार्यहरु हुन जरुरी छ । अनावश्यक डर, त्रास तथा प्रपोगाण्डा फैलिन नदिन सहि सुचना सम्प्रेषण गर्ने, महामारी नियन्त्रणको वेला एक अर्कालाई दोषारोपण भन्दा सेवा संचालन सहजिकरण गर्ने, तिनै तहका सरकारको समन्वयका साथै जनसहभागीता र जनपरिचालन गर्ने ।रोगको रोगथाम, नियन्त्रणका लागी सरकारी, गैर सरकारी क्षेत्र लगाएत सम्वन्धीत सरोकारवालाहरुको जिम्वेवारी बाँडफाँड गर्ने, स्वास्थ्यकर्मीहरु, समुदायमा आधारित क्रियाकलापहरु संचालन गर्ने, प्राईभेट सेक्टर, मेडिकल कलेज र आवश्यकता अनुसार निजि क्षेत्रमा सेवा प्रदान गर्ने स्वास्थ्यकर्महरु समेत विपदको वेला परिचालन गर्ने, होम आइसोलेसनमा रहेका विरामीहरुको स्थानिय तहका स्वास्थ्यकर्मी द्धारा नियमित निगरानी, उपचार गर्नु पर्ने र स्थानिय तहमा कम्ती १ एम्बुलेन्सको व्यवस्था हुनुपर्ने, स्वास्थ्य मापदण्डको पालना कडाईका साथ गर्न समुदायका सबै सरोकारवालाहरुको परिचालन गर्न तयारी अवस्थामा राख्न जरुरी छ ।
यसै गरि अस्पताल स्तरमा नियन्त्रण र व्यवस्थापनका लागी अस्पतालमा नागरिक वडापत्रको ब्यवस्था, सेवाग्राही सहायकता कक्षको ब्यवस्था, सेवाग्राहीका लागी प्रारम्भिक परामर्श सेवा, बिरामी मैत्री संरचना र ब्यवहार, तत्काल रेस्पोन्सको ब्यवस्थापनका लागी अन्तर वार्ड समन्वयको व्यवस्था हुनु पर्ने भनी सिफारिस समितिले दिएको सुझाव कार्यान्वय गरिनु पर्दछ । यसै गरि सुझाव समितिले दिएको प्रभावकारी सुचना संयन्त्र र प्रणालीको बिकाश गरि सुचना अधिकारीको ब्यवस्था गर्ने, गुनासो सुन्ने अधिकारीको ब्यवस्था गर्ने, कर्मचारीको उचित ब्यवस्थापनका लागी विरामी डाक्टरको अनुपात दक्ष स्वास्थ्यकर्मीको ब्यवस्था मिलाउने भनी सिफारिस समितिले दिएको प्रतिवेदन कायान्वयनमा सम्बन्धीत पक्ष लाग्नु पर्दछ ।

यसै गरि अस्पताल भित्र आवश्यक उपकरण (सबै उमेर समुहका विरामीलाई प्रयोग गर्न सकिने गरि युनिभर्सल भेन्टीलेटरको व्यवस्था र आवश्यक औषधी पाउने ब्यवस्था मिलाउने, अस्पतालको प्रत्येक वार्ड प्रवेश गर्ने ढोकामा हातधुने पानी र स्यानीटाईजरको ब्यवस्था मिलाउने, कोभिड वार्डमा अगाडी कोरोना संक्रमण रोकथाम र नियन्त्रणमा सघाउ पु¥याउने खालका पोष्ट र पम्पलेट सम्पर्क भएसम्म टेलि भिडियोको ब्यवस्था मिलाउने, अस्पताल भित्र उपचारका लागी आउने कोभिड बिरामीको लागी सिघ्र जाँच भर्ना र उपचारका लागी सम्पर्क ब्यक्ति र स्थानको बारेमा इलोक्टोनिक बोड मार्फत जानकारी गराउने ब्यवस्था मिलाउने र कोरोना संक्रमित बिरामीको उपचारमा संलग्न र हुने स्वास्थ्यकर्मी देखि सरसफाईकर्मीसम्मलाई तालिमको ब्यवस्था मिलाउनु पर्दछ । तेश्रो चरणको कोभिड संक्रमणको असर बालबालिका पर्ने कुरालाई मध्यनजर राख्दै, अस्पतालहरुले बालबालिकाका लागी आवश्यक बेडसख्या छुट्याउने, बालरोग बिशेषज्ञको रोष्टर तयार गरि आवश्यकता अनुसार परिचालन गर्ने ब्यवस्था मिलाउनु पर्दछ ।

पोष्ट कोभिड केशको व्यवस्थापनका लागी कोभिड संक्रमण भई रिपोर्ट नेगेटिभ भएका र लक्षण चिन्ह नहराएका विरामीहरु चिकित्सकको सम्पर्कमा आउने र चिकित्सकको सल्लाह बमोजीम व्यवस्थापन गर्ने, लक्षण भएका तर कोरोना जाँच नेगेटिभ भएका विरामीहरुको उपचारकोलागी अस्पतालले व्यवस्थापन समुचित ब्यवस्थापन मिलाउने, लक्षण भएका र न्यूमोनियाका समस्या भएका विरामीहरु निरन्तर चिकित्सकहरुको निगरानीमा उपचार गर्ने ब्यवस्था मिलाउन जरुरी देखिन्छ । कोरोना रोकथाम र नियन्त्रणका लागी सिमा ब्यवस्थापन महत्वपुर्व बिषय भएकाले बेलैमा सिमा व्यवस्थापनमा सम्बन्धमा गरिनु पर्ने पुर्व तयारीका कार्य गरिनु पर्दछ ।

यसै गरि सिफारिस समितिले जिल्ला कोभिड व्यवस्थापन समिति जिल्ला भित्र सबै स्थानिय तह संग समन्वय गरि कोभिड रोकथाम तथा नियन्त्रणका लागी जिल्ला भर समन्वयात्मक तरीका वाट साधन, स्रोतको व्यवस्थापन गर्ने, जिल्लामा ंसंचालित कोभिड अस्पतालहरुमा अक्सिजनको कमि हुन नदिई निरन्तर रुपमा सेवा प्रदान गर्नका लागी अक्सिजन उत्पादन उद्योग तथा सप्लायर्स संग समन्वय तथा अनुगमन गर्ने साथै बाहिरी जिल्लामा समेत अक्सिजन सप्लाईको व्यवस्थापनमा सहजिकरण समन्वय र अनुगमन गर्ने लगायतका कार्य गर्न दिएको सिफारिस कार्यान्वयनमा ढिलाई गरिनु हुदैन । जिल्लाको अबस्था विश्लेषण गरि आवश्यक थप सहयोग तथा व्यवस्थापनको आवश्यक परेमा प्रदेश सरकार तथा संघिय सरकारका निकायहरु संग समन्वय गर्ने, केन्द्र तथा प्रदेश सरकारवाट प्राप्त निति तथा निर्देशन जिल्लामा कार्यन्वयन गराउने, कोभिडका विरामीहरुको संख्या बढदै गएको अवस्थामा जिल्लामा संचालित कोभिड अस्पतालहरु संग समन्वय गरि गुण स्तरिय सेवा प्रवाह गर्नका लागी सहयोग गर्ने तथा अस्पतालहरुको सेवा अनुगमन गर्ने कार्यलाई पनि जिल्ला कोभिड व्यवस्थापन समितिले प्राथमिकता साथ गर्नु पर्दछ ।

स्वास्थ्य मापदण्ड पालनामा हेलचेक्राई र कमी, होम आईलोलेसनमा बसेका संक्रमितद्धारा स्वास्थ्य मापदण्ड पालना नगर्ने प्रबित्ति, कतिपय स्थानियत तहमा संचालित क्वारेन्टाइन, आईलेसन केन्द्र, अस्थायी कोभिड अस्पताल मापदण्ड बिपरित संचालन हुनु, अस्पतालमा नियमित अक्सिजन आपुर्ति हुन नसक्नु, अस्पतालले अक्सिजन भण्डार गर्ने अक्सिजन प्रान्ट निमार्ण नगर्नु, यति मात्रामा संक्रमण फैलिन सक्छ भन्ने कुराको आँकलन गरि समयमै अस्पतालहरुमा बेड, अक्सिजन लगायतको ब्यवस्थापन गर्नमा कमजोरी हुनु, सरकारले कोरोना संक्रमितको निशुल्क उपचार पाउने भनेता पनि सबै लक्षित बर्गको त्यसका पहुँच पुग्न नसक्नु, सरोकारवाला निकाय बिचमा आवश्यक समन्वय हुन नसक्नु, स्वास्थ्य जनशक्तिको आवश्यक मात्रामा परिचालन गर्न नस्कनु, रेम्डिसिभिर लगायतका कोरोना संक्रमति बिरामीले प्रयोग गर्ने औषधीको कालो बजारी हुन र सेवाग्राहीले बढी मुल्य तिर्न पर्नु, नेपाल भारत खुल्ला हुनु । उचित सिमा ब्यवस्थापनमा हुन नसक्नु, बाहिरी देशबाट आएका ब्यक्तिहरु सोझै गाउँमा जानु, उनीहरुले उचित स्वास्थ्य मापदण्डपालना पालना नगर्दा समुदायस्तरमा सिघ्र कोरोना संक्रमण फैलिकाले कुरालाई मध्य नजर राख्दै भावी रणनीति बनाई कोरोना रोकथाम र नियन्त्रणमा सरोकारवाला निकायले कार्य गर्न जरुरी छ । सरकारी र निजि अस्पतालहरुले तेस्रो लहरमा असर गर्न सक्ने उमेर समुह बालबालिकाहरुको उपचारको लागी आफनो स्विकृत बेड संख्याको कम्तिमा २० प्रतिशत बेड कोभिड भएका बालबालिकाको उपचारका लागी छुटयाई कार्यान्वयन ल्याउने जिल्लामा उपलव्ध सबै बालरोग विशेषज्ञहरुको रोष्टर तयार गरि कोभिडको तेस्रो लहर फैलिएर बालवालिकालाई असर गरेको अवस्थामा जिल्ला भित्र जुनसुकै बेला आवश्यक स्वास्थ्य संस्था वा स्थानिय तह वा समुदाय तह सम्म खटाउन सकिने ब्यबस्था मिलाउन पर्ने सिफारिस समितिले दिएको सिफारिस कार्यान्वयनमा ल्याउन जरुरी छ । (लेखक गौतम सिफारिस समितिका सदस्य हुन् ।)

प्रतिक्रिया

प्रतिक्रिया