संकटमा लुम्बिनी प्रदेश सरकार, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता

लुम्बिनी प्रदेशका मुख्यमन्त्री विरुद्ध विपक्षी गठबन्धनले मंगलबार अविश्वासको प्रस्ताव दर्ता भएको छ । लुम्बिनी प्रदेशसभामा विपक्षी गठबन्धनले सरकार विरूद्ध तेस्रो पटक अविश्वास प्रस्ताव दर्ता गरेको हो ।

‘पहिलो पटक ध्यानाकर्षण, त्यसपछि निवेदन र अहिले अविश्वासको प्रस्ताव नै दर्ता गरेका हौं’, बाँकेबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने काँग्रेस सांसद सुरेन्द्र बहादुर बहादुर हमालले प्रदेशसभा सचिवालयमा मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि दैनिक नेपालगन्जसँग भने । उनका अनुसार, एक मतको तलमाथि भएकाले निकै खिचातानीको अवस्थामा प्रदेश सभाको राजनीति अगाडि बढेको छ ।

सांसद हमालले विपक्षी गठबन्धनको तर्फबाट प्रदेशसभा सचिवालयमा सरकारविरूद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको जानकारी दिंदै प्रदेश प्रमुखसमक्ष प्रदेशसभाको विशेष अधिवेशन आह्वानको लागि निवेदन बुझाएका बताए ।
३४ जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीविरूद्ध संसद् सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गरिएको हो । यसअघि सोमबार प्रदेशप्रमुख अमिक शेरचनसमक्ष संविधानको धारा १६८ (२) अनुसार बहुमत सरकार गठन गर्न प्रस्ताव आह्वान गर्न विपक्षी गठबन्धनले समावेदन बुझाएको थियो ।

अविश्वास प्रस्तावमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका गरी ३४ प्रदेशसभा सदस्यले हस्ताक्षर छ । यसअघि विपक्षी गठबन्धनले वैशाख ६ र २६ गते सरकारविरूद्ध अविश्वास प्रस्ताव दर्ता गरेको थियो ।
८७ सदस्यीय प्रदेशसभामा ८० सदस्य छन् । नेकपा विभाजनपछि एमालेमा रहेका दुई प्रदेशसभा सदस्यलाई माओवादी केन्द्रको कारबाहीपछि पदमुक्त भएका थिए ।

मुख्यमन्त्रीविरूद्ध बुझाइएको अविश्वास प्रस्तावमा नेपाली कांग्रेसका १६ माओवादी केन्द्रका १४ जसपाका ३ र राष्ट्रिय जनमोर्चाका एक सांसदले हस्ताक्षर गरेका छन् । सरकारको समर्थनमा नेकपा एमालेका ३९ प्रदेशसभा सदस्य रहेका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया