तेस्रो लहरको तयारीमा भेरी अस्पताल

कोरोना महामारीको पछिल्ला दुई चरणमा पश्चिम नेपालका नागरिकको स्वास्थ्य सेवामा अग्रणी ढंगले सेवारत भेरी अस्पतालले सम्भावित तेस्रो लहरको तयारीका लागि आवश्यक पूर्वाधार निर्माण अगाडि बढाएको जनाएको छ । दोस्रो लहरकै बिरामीहरुको चाप कम भैरहेपनि संक्रमण नरोकिएका कारण कोभिड वार्ड सुचारु रहेको भेरी अस्पताल नेपालगन्जमा तेस्रो लहरका लागि आवश्यक पूर्वाधार निर्माण अगाडि बढाइएको हो ।

‘सरकारले नै सम्भावित तेस्रो लहरको पूर्व तयारीका लागि आवश्यक निर्देशन दिएकाले सोही अनुसार काम भैरहेको छ’, भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापाले दैनिक नेपालगन्जसँग भने, ‘कम्तिमा २० शैय्याको बाल केन्द्रित आइसियु निर्माण कार्य अन्तिममा पुगेको छ ।’ सँगसँगै त्यसका लागि आवश्यक जनशक्ति र उपकरणका लागि पनि अस्पतालले पहल गरिरहेको जनाएको छ ।
‘आवश्यक सावधानी नपअनाएर संक्रमण कुन बेला अर्को रुप लिन्छ भन्न सक्ने अवस्था छैन’, पहिलो र दोस्रो लहरमा देशकै धेरै कोरोना बिरामीहरुको उपचार गर्ने अस्पताल मध्ये दरिएको भेरी अस्पतालका प्रमुख डा. थापाले सचेतनाका लागि आव्हान गर्दै भने, ‘कोरोना संक्रमण न्यूनिकरण भएको हो, नियन्त्रण होइन ।’ यस्तो अवस्थामा आवश्यक स्वास्थ्य सतर्कता र मापदण्ड पालनामा सबै पक्ष गम्भीर भैदिए मात्रै विगतको जस्तो विडम्वना नआउने डा. थापाको भनाइ छ ।

कोरोना संक्रमणको दोस्रो लहरमा अक्सिजनको कहाली लाग्दो अभाव झेलेका बिरामीहरुका लागि अक्सिजन पाइप सहितको शैय्या व्यवस्थापन र लिक्विड अक्सिजन ट्यांक स्थापना गरेको भेरीले अक्सिजन प्लान्ट स्थापना पहल अगाडि बढाएको छ । ‘हाम्रो योजना अनुसार काम अगाडि बढ्यो भने अक्सिजन प्लान्ट स्थापना हुन्छ,’ डा. थापाले भने, ‘अक्सिजन प्लान्ट भएपछि दीर्घकालीन रुपमै अक्सिजनको समस्या समाधान हुन्छ ।’

प्रतिक्रिया

प्रतिक्रिया