भेरी अस्पतालमा गत साता विहीवार राती स्वास्थ्यकर्मी आक्रमणको घटनालाई लिएर समग्र स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानुन माग गरिएको छ । त्यसका लागि नेपाल चिकित्सक संघले देशव्यापी रुपमै एकसाताको अल्टिमेटम समेत दिएर अध्यादेशमार्फतनै कानुन ल्याउन दबाब दिएको हो ।

नेपालगन्जमा संघका अध्यक्ष डा. विनोद कर्णको संयोजकत्वमा सात सदस्यीय संघर्ष समिति गठन गरि हरेक अपरान्ह ५ बजेदेखि ६ बजेसम्म भेरी अस्पताल परिसरमा प्रदर्शन गरिंदै आएको छ । विहीवार पाँचौ दिनपनि उसैगरि प्रदर्शन र प्ले कार्ड बोकेर स्वास्थ्यकर्मीले एक घण्टा बिताए । अगुवाहरुले आफ्ना माग सुनुवाई गर्न ध्यानाकर्षण गर्दै शान्तिपूर्ण विरोधको भाषा बुझ्न आग्रह गरे, नबुझे आन्दोलनका रुपमा सशक्त अगाडी बढ्ने चेतावनी दिए ।

संघर्ष समितिका संयोजकसमेत रहेका नेपाल चिकित्सक संघ भेरीका अध्यक्ष डा. कर्णले नियमित काम गर्दागर्दै शान्तिपूर्ण विरोध प्रदर्शन गरिंदै आएको बताए । संघका अध्यक्ष डा. कर्णले दैनिक नेपालगन्ज सँग कुराकानीमा भनेका छन्, हाम्रो विरोध प्रदर्शन भनेको आउँदा दिनमा यस्ता घटना नदोहोरिस् भनेर हेल्थ प्रोटेक्सन एक्ट आओस् भनेर दबाबका लागि हो ।

दिनभरि काममा खट्ने चिकित्सक देखि नर्ससम्मका सबै स्वास्थ्यकर्मी दिनहुँ एक घण्टा आफ्नो सुरक्षाका लागि कानुन निर्माणको दबाबका लागि दिने गरेको बताएका छन् ।
विहीवार पाँचौ दिनको प्रदर्शनमा डा. कर्ण, नर्सिंग संघका अध्यक्ष लक्ष्मी केसी ओली, संघर्ष समितिका सदस्य होमनाथ सुवेदी, शिला शर्मा, प्रचण्ड गौत, कुहिनूर फारुकी र सुमन गिरिले संयुक्त विज्ञप्तिमार्फत शान्तिपूर्ण विरोध कार्यक्रमलाई उत्तेजित नबनाउन चेतावनी दिएका छन् । उनीहरुले भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालको एउटा भनाइलाई लिएर आपत्ति जनाएका हुन् । अध्यक्ष धितालले घटनाका दोषीलाई कानुनी कारबाही प्रक्रिया अगाडी बढिरहेका बेला अस्पताललाई प्रभावित गर्नेगरि राजनीति नगर्न चेतावनी दिएका थिए ।
(तस्विरः हारुन कबिर\दैनिक नेपालगन्ज)







