कोरोनाको दोस्रो लहर सँगै सीमा नाका कडाई गर्ने माग देशभर उठेको थियो । कोरोनाको पहिलो लहर नियन्त्रणमा आएपछि पनि औपचारिक रुपमा नाका खुलेको थिएन । यद्यपि, काम विशेष भन्दै आउजाउ गर्न भने रोक लगाइएन । भारतमा पहिलो लहरको कोरोना संक्रमण फैलिएपछि भारतमा रहेका लाखौं नेपाली कष्ट सहदै नेपाल फर्किएका थिए । उनीहरु कोरोनाको पहिलो लहर नियन्त्रणमा आएपनि पुनः भारत तर्फ कमाउनका लागि गए । भारतमा कोरोनाको दोस्रो लहरसँग ह्वात्तै संक्रमितहरु बढे ।

भारतमा दोस्रो लहरको संक्रमण बढेपछि नेपालीहरु फेरि ज्यान जोगाउन घर फर्किए । भारतमा संक्रमित बढेसँगै नेपालमा पनि कोरोनाको दोस्रो लहर देखियो । बाँकेमा गत चैत्र अन्तिम सातादेखि कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्यो । अस्पतालले धान्न नसक्ने अवस्था आएपछि बैशाख ९ देखि नेपालगन्ज र १३ गतेदेखि जिल्लाभर निषेधाज्ञा जारी भयो ।
जिल्लामा निषेधाज्ञा जारी भएपछि भारतबाट आउने नेपालीहरुलाई भने रोकिएन । सुरुमा नेपालगन्ज बसपार्कबाट सम्बन्धित जिल्ला जाने व्यवस्था गरिएकोमा पछि नाकाबाटै सम्बन्धित जिल्ला पठाउन थालियो । अहिले भारतबाट आउने नेपालीलाई सीमामा स्वास्थ्य परीक्षणपछि नाकाबाटै सम्बन्धित जिल्ला पठाउने गरिएको इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज विष्णु गिरीले जानकारी दिए ।
जमुनाह नाकाबाट बैशाखयता ६० हजार ९ सय ७८ जना नेपाल भित्रिएको तथ्यांक जमुनाह प्रहरीको रहेको छ । सोही अवधीमा ६ हजार ४ सय ३९ जना भारत गएका छन् । ‘भारतबाट आउने मध्ये २ सय जना कोरोना पोजेटिभ पाइएको थियो’, जमुनाह इन्चार्ज गिरी भन्छन्, ‘भारतबाट आउनेलाई हेल्थ डेस्कमा स्वास्थ्य परीक्षण गर्ने, पोजेटिभ आएका आइसोलेसन पठाउने तथा अन्यलाई सम्बन्धित जिल्ला नाकाबाट नै पठाउने व्यवस्था छ ।’ पछिल्ला दिन सीमाबाट आउने र जाने दुवैको संख्यामा कमी आएको छ । जमुनाह प्रहरीका अनुसार, सोमबार १ सय २६ जना नेपाल आएका छन् भने २ सय ७३ जना भारत गएका छन् । ‘एक÷डेढ सयको हाराहारीमा आउने, जाने क्रम छ’, उनले भने ।
कोरोनाको पहिलो लहरमा भारतबाट आउने नेपालीलाई सुरुका दिनमा नाकामै क्वारेन्टाइन बनाएर राख्ने गरिएको थियो । त्यो सम्भव नभएपछि सम्बन्धित जिल्लामा क्वारेन्टाइन बस्ने गरी समन्वय गरी पठाइन्थ्यो । तर, यसपटक पहिलो लहर भन्दा घातक भएपनि नाकामा क्वारेन्टाइन बनाएर राखिएको छैन । दोस्रो लहरको संक्रमण फैलिसकेपछि मात्रै भारतबाट आउनेको परीक्षण नाकामा गर्न थालिएकाले पहाडि जिल्लासम्म पनि कोरोना संक्रमण पुगेको छ ।
मुख्य नाकामा लापरवाही भएको विषय पटकपटक उठ्ने गरेको छ । अझ भित्री नाकाहरुमा निर्बाध आवागमन हुने गरेको लुकेको छैन । जिल्लाको ६५ किलोमिटर भारतसँग जोडिएकाले आवागमन रोक्न सबै ठाउँमा निगारानी गर्ने जनशक्ति नेपालसँग अहिले छैन । भारतीय सुरक्षा प्रशासनले नेपाल भित्रिन रोक लगाएको छैन । अहिले पनि भित्री नाकाहरुबाट भारत किनमेल तथा काम विशेषले आउजाउ गरेको पाइन्छ ।
भित्री नाकाहरुबाट भारत जाने आउने क्रम जारी रहेको तथ्य बीच बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल सहितको टोली डुडुवा गाउँपालिका अन्तर्गत जोडिएको भारतसँगको नाका अनुगमन गरेका छन् । ‘भित्री नाकाबाट भारत आउजाउ भैरहेको भन्ने गुनासो आएपछि हामी स्थलगत रुपमा हेर्न गएका हौं’, बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक ओम रानाले भने, ‘तर, त्यस्तो अवस्थामा भने पाएनौं ।’ उनले सीमामा खटिएका सुरक्षा अधिकारीहरुलाई नाकाबाट आउजाउ गर्न नदिन निर्देशन दिएको जानकारी दिए । ‘सीमा नाकामा हुने अवैध कार्य हुन नदिन तथा कोभिडको जोखिम रहेकाले आवतजावत गर्न नदिन निर्देशन दिइएको हो’, उनले भने ।
नाकामा अनुगमनका लागि प्रमुख जिल्ला अधिकारी गेलाल, सहायक प्रजिअ शंकर बहादुर विष्ट, प्रहरी उपरीक्षक ओम राना, सशस्त्र प्रहरी उपरीक्षक अशोक बम, राष्ट्रिय अनुसन्धानका उप निर्देशक नरेन्द्र गिरी लगायत पुगेका थिए ।