पूर्णिमा साहित्य रत्न–२०७५ कथाकार, प्राज्ञ माया ठकुरीलाई प्रदान गरिएको छ । नेपाली आख्यानका क्षेत्रमा अतुलनिय योगदान दिए वापत ठकुरीलाई रु.२५,५५५ राशीले सम्मान गरिएको हो । गत वर्ष नै उनलाई सम्मान गर्ने गरि कार्यक्रम तय भए पनि कोरोना संक्रमणको क्रास तथा लकडाउनले गर्दा सो सम्मान रोकिएको पूर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष कपिल अन्जानले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कथाकार सनत रेग्मीले बाँकेको कोहलपुरमा राजधानी पछिको राम्रो साहित्यको गतिविधि हुँदै आएको भन्दै प्रशंसा गरे । रेग्मीले भने–‘माया ठकुरीको योगदान नेपाली साहित्यका क्षेत्रमा धेरै छ । उनी आख्यानका एउटा बलियो खम्बा हुन् ।’
कार्यक्रममा शेखर दहितको थारु भाषामा लेखिएको कथा संग्रह गयर्वा बुडुक खिस्सा ‘ठाँह्रा’ पनि विमोचन गरिएको थियो । विमोचित कृतिका बारेमा बोल्दै लेखक सागर गैरेले दहितको कृतिमा थारु समुदायले बाँच्दै आएको हालको परिवेश भन्दा झण्डै ३०–४० वर्षअघिको समयलाई चित्रण गरेको बताए । उनले बदलिँदो हालको समयमा विस्तारै हराउँदै गएको थारु समुदायको पहिचान लगायतका कुरा कृतिमा समेटिएको बताए । कृतिकार दहितले आफूले आफ्नै समुदायको कुरा कथामा समेट्दा आफूलाई निकै खुसी लागेको बताएका थिए ।

कार्यक्रममा प्राज्ञ सभा सदस्य हरि तिमिल्सिना, पूर्णिमाका निवर्तमान अध्यक्ष महानन्द ढकाल, साहित्यकार सुशील चौधरी, पुष्कर रिजाल ‘पुष्प’, प्रदिप भट्टराई, सुमित्रा न्यौपाने, विक्रम शिशिर, भावना पाठक, निरञ्जना चन्द, हेम प्रकाश मंजील, डा. देवेन्द्र आचार्य, सोम डेमनडौरा, श्रीभद्र सुवेदी, तुलसी पौडेल लगायत सहभागी थिए ।
त्यसैबीच, कोहलपुर उद्योग वाणिज्य संघको हालै भएको निर्वाचनमा सफल प्रतिष्ठानका कार्यसमिति तथा आजीवन सदस्य प्रदिप भट्टराई, चण्डी प्रसाद गैरे, दीपक बहादुर भण्डारी र अर्जुन सुदेवीलाई पनि सम्मान गरिएको थियो ।










