अहिले फोटो पत्रकारहरुको व्यवसायिक अवस्था कस्तो छ ?

समग्रमा कोभिडले सबैलाई असर पारेको छ । त्यसमा फोटो पत्रकार दोहोरो मारमा परे । सबैभन्दा रिस्कमा काम गर्नुपर्यो भने सँगसँगै ठूलो मिडिया हाउसहरुले राखेका फोटो पत्रकारलाई तलब नदिने, दिएपनि आधा मात्रै दिने, ढिला गर्ने हुँदा त्यसको चर्को अप्ठ्यारोमा परेका छन् । यसले गर्दा धेरैजसो साथीहरुमा नेपाली फोटो पत्रकारितामा अलिकति फ्रस्टेसन देखिएको छ । काम गरे अनुसारको पारिश्रमिक नपाउने समस्या छन् । दैनिक पत्रकारितामा कार्यरतमा त्यो समस्या देखियो ।

मोफसल भन्दा पनि काठमाडौंमा भएका अनलाइन पत्रकारितामा जति दिन्छु भनेको त्यति दिएको पाइन्छ । तर, खासै त्यस्तो स्थापित हुने खालको देखिंदैन । त्यसको कारण के भने सबै चिज आफैले लगानी गर्नुपर्ने, बाइक, क्यामेरा लगायत । लगानी अनुसार प्रतिफल आउने नदिएपछि नयाँ आएकाहरु पुनः छाडेर जाने, अर्कोतिर ट्राइ गर्ने, स्थापित भएका साथीहरु पनि अलिकति फ्रस्टेसनमा जाने देखिएको छ । कोभिडले गर्दा त्यो समस्या झन् बढी देखियो ।

फोटो पत्रकारितामा आकर्षण बढ्दै गएको छ कि घट्दै ?

एकताका एकदमै आकर्षण थियो । पछिल्लो समय फोटोग्राफी बढिरहेको छ । फोटोग्राफी बढेको अनुपातमा फोटो पत्रकारिता चाहीँ घटेको छ । त्यसको कारण भनेको लगानी धेरै गर्नुपर्ने, लगानी अनुसार प्रतिफल नआउने, आएपनि श्रमको मूल्य नपाउँदा निरुत्साहित छ ।

प्रविधिसँग फोटोग्राफर अपग्रेड छन् । पछिल्लो समय टेक्निकल नलेजमा अपग्रेड छन् । मूल समस्या प्रतिफल नै हो । यसले आकर्षण भन्दा विकर्षण तिर गैरहेको छ ।

फोटोग्राफी र फोटो पत्रकारिताबारे बुझाइ पनि प्रष्ट नभएको हो की ?

फोटोग्राफी मेन जग, पिलर हो । फोटो पत्रकारिता त्यसको एउटा हाँगा हो । फोटोग्राफी जसरी आफुले फोटो खिच्दा पनि भयो । फोटोको पत्रकारिता गर्दा फोटोग्राफीको नलेज हुनुपर्छ ।

नेपालगन्ज फोटो फेष्टिबल जस्ता फोटो प्रदर्शनीले फोटोग्राफरलाई फाइदा पुर्याउँछ कि फोटो पत्रकारलाई ?

नेपालगन्जमा दोस्रो पटक फोटो प्रदर्शनी हुँदैन । आज पनि हामीले प्रदर्शनीका लागि आएका फोटोहरु हेरेका छौं । फोटो फेष्टिबलले सबभन्दा बढी फोटोग्राफीलाई नै फाइदा पुर्याउँछ । फोटोग्राफी व्यवसायिक रुपमा मात्रै नभई सौखका लागि पनि गर्न सकिन्छ । त्यसमा एउटा विधागत नेपालगन्ज फेष्टिबलमा समाचार, खेलकुद, फोटोकथा जुन विधागत राखिएको छ । त्यसले फोटो पत्रकारितालाई सकारात्मक प्रभाव पार्छ । दैनिक जीवन यापन, सांस्कृतिक पर्यटक जस्ता विधा छन् । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको फोटोहरु आएका छन् । समग्र नेपालगन्जका सामाजिक गतिविधि, खेलकुद, यहाँबाट राम्रो ठाउँ, संस्कृतिको बारेमा प्रदर्शनी हुँदा फोटोग्राफी र यहाँको संस्कृति, रहनसहनलाई पनि चिनाउँछ । यसले आफ्नो ठाउँको पर्यटन प्रवद्र्धन पनि हुने आएको फोटोहरुले देखाउँछ ।

पिजे क्लब आफै पनि राष्ट्रव्यापी फोटो प्रदर्शनी र इभेन्ट गर्दै आएको छ । यस्ता प्रदर्शनीले कस्तो प्रभाव पार्छ ?

पछिल्लो समय पिजे क्लबको प्रदर्शनी ल्याउँदा यहाँको दुई, तीन वटा मात्रै फोटो प्रदर्शनी भएको थियो । जुन द्वन्द्वसँग रिलेटेड थियो । हामीले विभिन्न विधागत हिसाबले फोटो लिएर आएका थियौं । प्रदर्शनीले पूर्व इलामदेखि पश्चिम रारासम्म चिनाउन सक्छ । फोटो प्रदर्शनीले फोटो चिन्ने काम हुन्छ । यसले मानिसले फोटो किन्न चाहन्छन् । जसले फोटोग्राफीको प्रवद्र्धन मात्रै भएन व्यवसाय पनि हुने भयो ।

निःशुल्क फोटो प्रदर्शनीले सबै मानिससँग समान व्यवहार गर्दछ । अध्ययनका लागि ठाउँ विशेष चिन्न फोटो प्रदर्शनी एकदमै महत्वपूर्ण छ ।

प्रतिक्रिया

प्रतिक्रिया