नेपालगन्ज उपमहानगरपालिकाले असमान रुपमा बजेट विनियोजन गर्दै आएको खर्च शिर्षकमा छुट्याएको बजेटले स्पष्ट हुन्छ । एउटा वडामा सञ्चालित योजनामा कुनै वडामा बढी त कतै कम बजेट विनियोजन भएको पाइन्छ । कार्यालय सञ्चालनका लागि हुने एकै किसिमको खर्चमा पनि उपमहानगरपालिकाबाट छुट्याइने बजेटमा भिन्नता पाइन्छ । उपमहानगरले सबैलाई ५० प्रतिशत समान, जनसंख्या र राजश्वमा योगदानको तीन वटा सूचकको आधारमा वडाको बजेट सिलिङ गर्दै आएको बताउने गरेको छ । तर, यी तीन विषय बाहेक पनि कतिपय खर्च समान हुने गरेका छन् । कतिपय योजना वडाको प्राथमिकतामा तय हुने गरेकाले पनि बजेटमा भिन्नता स्वभाविक हुने गरेको जनप्रतिनिधि बताउँछन् । यद्यपि, उपमहानगरपालिकाबाट प्राप्त बजेटमा वडाध्यक्षहरु सन्तुष्ट भने पाइँदैनन् । एउटै प्रकृतिका समान हुने खर्चमा बजेटमा भिन्नता पाइन्छ । वडाध्यक्षको प्रभावले पनि त्यसमा काम गर्ने विश्लेषक बताउँछन् ।
नेपालगन्ज उपमहानगरपालिकाको वडा नं. १ ले कार्यालयको इन्धन प्रयोजनका लागि ६० हजार बजेट चालु आ.व.का लागि पाएको छ । वडाले नगरमा तरकारी आत्मनिर्भर बनाउन एक घर एक करेशा बारी योजना कार्यान्वयनमा ल्याएको थियो । जसको सकारात्मक प्रभाव पनि रहेको छ । जसका लागि चालु आ.व.मा पनि १ लाख बजेट विनियोजन गरिएको छ । वडा नंं. १ ले बाटो, घाटो नाली निर्माण सँगै अन्य कार्यक्रमलाई पनि केन्द्रित गरेको बजेटमा देखिन्छ । वडाले सवारी मर्मतका लागि ५० हजार बजेट पाएको छ । वडा नं. १ ले कार्यालय तथा मसलन्द सामाग्रीमा २ लाख रुपैयाँ बजेट प्राप्त गरेको छ ।
वडा नं. २ ले कार्यालय प्रयोजनका लागि इन्धन खर्च ५० हजार पाएको छ । जुन वडा नं. १ को तुलनामा १० हजारले कम हो । खासगरी इन्धन खर्च सबै वडामा समान हुनुपर्ने मानिन्छ । तर, प्रत्येक वडापिच्छे इन्धनको खर्च फरक छ । जनप्रतिनिधि वडामा रहेको सवारीसाधन र आवश्यकताका आधारमा इन्धन खर्चमा भिन्नता हुनसक्ने भन्दै बजेटको बचाउ गर्दछन् । वडा नं. २ ले कार्यालय तथा मसलन्द सामाग्रीमा २५ हजार प्राप्त गरेको छ । जुन वडा नं. १ को २ लाखको तुलनामा ज्यादै न्यून हो ।
इन्धन र मसलन्द प्रतिनिधिमूलक उदाहरण मात्रै हो । वडामा कर्मचारी समान छन् जनसंख्या र भूगोल जस्तो भएपनि कतिपय खर्च समान हुन्छन् । तर, बजेटमा भने फरक पाइन्छ ।
वडा नं. १ ले सञ्चार महसुल तथा रिचार्ज खर्च ५० हजार हजार पाएको छ । त्यही वडा नं. २ ले सञ्चालका लागि २० हजार बजेट प्राप्त गरेको छ ।
वडा नं. ३ ले कार्यालय प्रयोजनका लागि इन्धन खर्च ५० हजार, कर्मचारी सञ्चार सुविधाका लागि ४० हजार, वडा नं. ४ ले इन्धन खर्च ७५ हजार, सञ्चार महसुल वापत ५० हजार रुपैयाँ प्राप्त गरेको छ ।
उपमहानगरपालिकाको बार्षिक योजना किताब हेर्ने हो भने धरै किसिमका विविधता पाइन्छ । एउटा उपमहानगरपालिकामा वडामा बजेटका कार्यक्रम, प्राथमिकता, बजेटमा निकै भिन्नता पाइन्छ ।
वडा नं.५ ले कार्यालय प्रयोजनका लागि इन्धनका दुई शिर्षकमा बजेट पाएको छ । एउटा कार्यालय प्रयोजन र अर्को अन्य । कार्यालय प्रयोजनका लागि १ लाख र अन्य प्रयोजनका लागि इन्धन खर्चका लागि १० हजार बजेट उपमहानगरपालिकाले विनियोजन गरेको छ । उक्त वडाले मसलन्द तथा कार्यालय सामाग्रीका लागि २ लाख रुपैयाँ बजेट पाएको छ ।
वडा नं. ६ ले कार्यालयको इन्धन प्रयोजनका लागि १ लाख तथा अन्य प्रयोजनका लागि १० हजार रुपैयाँ इन्धनका लागि छुट्याएको छ । उक्त कार्यालयले मसलन्द तथा कार्यालय सामाग्रीका लागि २ लाख बजेट प्राप्त गरेको छ । वडा नं. ६ ले सञ्चार महसुलका लागि ६० हजार रुपैयाँ बजेट प्राप्त गरेको छ ।
वडा नं. ७ ले कार्यालय प्रयोजनको इन्धनका लागि चालु आ.व.मा ७५ हजार रुपैयाँ प्राप्त गरेको छ । केही वडाले अन्य प्रयोजनका लागि थप १० हजारको इन्धन प्राप्त गर्दा केही वडा त्यसबाट वञ्चित देखिन्छ । एउटा सानो उदाहरणले बजेट बाँडफाँडमा भएको प्रभावलाई स्पष्ट रुपमा देख्न सकिन्छ ।
वडा नं. ८ ले इन्धन कार्यालय प्रयोजनका लागि ४५ हजार र इन्धन अन्य प्रयोजनका लागि ७५ हजार प्राप्त गरेको छ । उक्त वडाले कार्यालय तथा मसलन्द सामाग्रीका लागि १ लाख ८१ हजार रुपैयाँ प्राप्त गरेको उपमहानगरपालिकाले सार्वजनिक गरेको बार्षिक योजना किताबमा उल्लेख रहेको छ । उक्त वडाले सञ्चार महसुलका लागि ५० हजार प्राप्त गरेको छ ।










