
बाँके नरैनापुर गाउँपालिका स्थित गंगापुर स्वास्थ्य चौकीको भे १ झ २३८ नं. को एम्बुलेन्स मर्मत नगरिएपछि भैसी बाँध्ने काममा प्रयोग हुन थालेको छ ।
नेपालगन्जको रामनगर स्थित शिव मन्दिरमा थन्क्याइएको एम्बुलेन्स मर्मत गरी सञ्चालनमा नल्याउँदा त्यसको प्रभाव भने बिरामीले भोग्नु परिरहेको छ । नरैनापुरमा एउटा एम्बुलेन्स मात्रै छ । उक्त एम्बुलेन्सले बिरामी बोकेर हिडेपछि अर्कोलाई तत्काल आवश्यक परे निजी सवारी खोज्नुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन् ।
करिब ६ महिनादेखि थन्किदा पनि एम्बुलेन्स मर्मतामा चासो नदिइएको स्थानीय बताउँछन् । एम्बुलेन्स नहुँदा गर्भवती, सुत्केरी महिला समस्यामा पर्ने गरेका छन् ।
उक्त एम्बुलेन्स सभासद दिनेशचन्द्र यादवको सांसद विकास कोषको रकमबाट खरिद गरिएको हो । मर्मत नगरिएपछि एम्बुलेन्सका पाटपुर्जा जीर्ण हुँदै गएको छ । सभासद दिनेशचन्द्र यादवका निजी सचिव समेत भइसकेका सोहनलाल यादवले एम्बुलेन्स थन्किदा बिरामीले सास्ती ब्यहोर्नु परेको बताउँछन् ।