बाल विवाह : २० वर्ष नपुगी गर्दा हुने अपराध

बालविवाह गर्नाले कानूनी रुपमा श्रीमान श्रीमानको मान्यता पाइदैन । बालविवाह स्वतह बदर योग्य भएकाले बालबिवाह गरेर संगै बस्ने बच्चा जन्माउने गरे पनि उनीहरु कानूनी रुपमा श्रीमान श्रीमतीको हुदैन । उनीहरुको बिवाह दर्ता हुदैन । बालविवाह गर्ने बालिकाले श्रीमतीको नाताले श्रीमानबाट पाउनु पर्ने अंश लगायतका कुनै कानूनी हक अधिकार पाउँदिनन् ।

स्त्री र पुरुषका बीचमा पतिपत्नीको सम्बन्ध कायम गराउने धार्मिक, सामाजिक, कानूनी कार्यलाई विवाह भनिन्छ । विवाह गर्न उपयुक्त भनि तोकिएको उमेर भन्दा कम उमेरमा गरिने विवाहलाई बाल विवाह भनिन्छ । नेपालमा कानुनतः विवाह गर्ने उमेर २० बर्ष छ । नेपालको सन्दर्भमा २० वर्ष भन्दा कम उमेरमा गरिने विवाहलाई बाल विवाह भनिन्छ ।
कानूनले बालबिवाहलाई निषेध गरेता पनि समाजमा कानूनलाई छल्दै बालबिवाह हुने गरेका छन् । शारीरिक र मानसिकरुपमा परिपक्व नभई विवाह गर्नु र सन्तान जन्माउँदा विविध समस्या आउन सक्ने भएकोले विवाहका लागि उमेरको हदबन्दी तोकिएको हो । तर समाजमा कानूनी ब्यवस्थालाई चुनौती दिदै बालबिवाह हुने क्रम रोकिएको छैन । शारीरिक, मानसिक र सामाजिक रुपमा परिपक्क नभइसकेका किशोर किशोरीहरुको बीचमा हुने विवाह नै बालविवाह हो ।
बालविवाह बिभिन्न कारणले हुने गरेको पाईन्छ । पहाडी भेगमा अभिभावकहरूले घरमा काम गर्ने मान्छेको संख्या बढाउन छोराको कमै उमेरमा गर्ने गरेको पाइन्छ । कम उमेरमा विवाह गर्दा पुण्य प्राप्ती हुन्छ भन्ने परम्परागत विश्वास तथा दाईजो, छोरीको उमेर बढ्दै जाँदा दाइजोको रकम बढ्दै जान्छ । छोरीको कम उमेरमा विवाह गर्नुको मुख्य कारण मध्ये दाइजो पनि हुने गरेको पाईएको छ । गरिबी र विभेदका कारणले छोरीको बाल विवाह भएको देखिन्छ । अभिभावकमा शिक्षा तथा चेतनाको कमी, यौन तथा प्रजनन स्वास्थ्यको बारेमा जानकारी नहुँदा पनि बालबिवाह हुने गरेको पाईएको छ ।


सामाजिक ब्याप्त गलत परम्परागत मूल्य, मान्यता इज्जतका कारण वालविवाह बिरुद्ध सबै खुलेर बोल्न सकेको पाईदैन । बालबिवाह भै हाले पनि बाल उजुरीहरू कमै दर्ता हुने गर्दछन् । खराब राजनीतिक अबस्थाका कारण बाल विवाह बिरुद्धका अभियान प्रभावकारी हुन सकेका छैनन ।
मुलुकि अपराध (संहिता) ऐन २०७४ मा बालबिवाह बारे कानूनी ब्यवस्था गरेको छ । ऐनको दफा १७३ मा बाल बिवाह गर्न नहुने भनी स्पष्ट ब्यवस्था गरेको छ । यसै गरि सोहि दफाको उपदफा (१) ले बिवाह गर्ने ब्यक्तिको उमेर निर्धारण गरेको छ । जस अनुसार २० बर्ष नपुगी कसैले बालबिवाह गर्न वा गराउन हुदैन भन्ने ब्यवस्था गरेको छ । (२) उपदफा १ बिपरित भएको बिवाह स्वतः बदर योग्य हुने छ । यसै गरि उपदफा (३) मा कसुर गर्ने ब्यक्तिलाई ३ बर्षसम्म कैद र ३० हजारसम्म जरिवाना हुन्छ भनेको छ । घटना भएको ३ महिना भित्र उजुरी गरिसक्नु पर्ने ब्यवस्था कानूनले गरेको छ ।


बालविवाहको पार्ने असर ः
बालबिवाहका कारण बालिकाले बाबु आमाको माया ममता नपाउँदा त्यसको नकारात्मक असर जिबन भरी नै पर्ने पर्दछ । सारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पुग्दछ । बालिकाहरुको स्वास्थ्यमा नकारात्मक असर पुग्दछ । युएनएफपिएले गरेको एउटा अध्ययनले १५ देखि १९ वर्ष उमेरका किशोरीहरूको मृत्युुको एउटा प्रमुख कारण सानै उमेरमा गर्भवती हुनु हो भन्ने तथ्य प्रस्तुत गरेको छ । त्यस्तै २० वर्षमा विवाह भएका महिलाभन्दा १५ वर्ष उमेर नपुग्दै विवाह भएका किशोरीहरू गर्भिणी अवस्थामा वा बच्चा जन्माउँदा मृत्युको सम्भावना पाँच गुणा बढी हुन्छ ।


त्यस्तै युएनएफपिएकै अर्को अध्ययनले सानै उमेरमा यौनसम्पर्क राख्नु र बच्चा जन्माउनु तथा धेरै बच्चा जन्माएका कारण महिलाहरुको आङ खस्ने गरेको देखाएको छ । बालबिवाहले बाल मृत्यु दरमा बृद्धि गर्दछ । एक जनसंख्या तथा स्वास्थ्य सर्वेक्षण अनुसार २० वर्ष उमेर पुपुगेकी आमाले जन्माएको बच्चाभन्दा २० वर्ष नपुगेकी आमाले जन्माएको बच्चा जन्मिनासाथ र ५ वर्ष नपुग्दै मर्ने सम्भावना करिब दोब्बर बढी देखाएको छ । बालबिवाह गर्ने बालिकाहरु शिक्षा तथा विकासको अवसरबाट वञ्चित हुन्छन । अध्ययनले बहु विबाहको एउटा मुख्य कारण बालबिवाह देखाएको छ ।

बाल बिबाहबाट बाल अधिकार हनन ः
बाल विवाहका कारण बालअधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि १९८९ ले बालबालिकालाई प्रदान गरेका निम्न अधिकारहरूको प्रत्यक्ष उल्लङ्घन हुने गर्दछ । बालविवाह गर्नाले बालबालिकाको सर्वाेत्तम हितले प्राथमिकता पाउनु पर्ने अधिकार हनन हुन जान्छ । बालबालिकाको बाँच्न पाउने र उनीहरूको शारीरिक र मानसिक विकासको अधिकारमा आघात पार्दछ । बालबालिकाहरू उनीहरूको अभिभावकसँग बस्न पाउने अधिकार बालविवाहले असर पु¥याउछ । बालबिवाहले शारीरिक एवं मानसिक हिंसा, दुव्र्यवहार, बेवास्ता, शोषण र यौन दुव्र्यवहारबाट सुरक्षित हुन पाउने अधिकार हनन गर्दछ । स्वास्थ्यमा नकारात्मक असर पु¥याउने परम्परागत प्रचलनबाट सुरक्षित हुन पाउने अधिकारमा आघात पु¥याउछ । बालबिवाहले शिक्षामा समान अधिकारलाई कुण्ठित गर्न सक्दछ ।


यसै गरि बालबिवाहले बालबालिकाको उमेर अनुसार आराम गर्न पाउने, मनोरञ्जन गर्न पाउने र सांस्कृतिक कार्यक्रममा सहभागी हुन पाउने अधिकारमा असर पार्दछ । आर्थिक शोषण विरुद्धको अधिकारमा आघात पु¥याउछ । बालविवाहले शारीरिक एवं मानसिक स्वास्थ्य तथा उनीहरूको विकासमा नकारात्मक असर पु¥याउने कुनै पनि कामबाट सुरक्षित हुन पाउने अधिकार प्राप्तीमा असर पार्दछ । बालविवाहले यौन दुव्र्यवहार र शोषण विरुद्धको अधिकारमा हनन हुन सक्दछ ।

बाल विवाह न्युनीकरण गर्ने हामी सबैको जिम्मेबारी ः
बाल विवाह भईरहको भोज र समारोहमा सामेल नहुने । बालबिवाह हुन लागेमा रोक्ने प्रर्यत्न गर्ने । आफ्नो रोक्न नसकिएमा प्रहरी प्रशासनमा खवर गरि कानूनी प्रक्रियामा लैजाने । बाल विवाहले बालबालिकामा पार्ने नकारात्मक असरका बारेमा समाजमा विशेष गरी बालबालिका स्वयं र अभिभावकहरूमा जनचेतना जगाउने । बाल विवाह समाज विरुद्धको दण्डनीय र जघन्य अपराध हो भन्ने विषयमा व्यापक प्रचार प्रसार गर्ने । बालिकालाई शिक्षा दिने विषयमा जोड दिने गर्नु पर्दछ । समाजमा कुनै बालबालिकाको सानै उमेरमा विवाह हुन लागेको छ भने त्यस प्रति गम्भीर चासो राख्ने । बालबिवाह कानूनी अपराधका साथै यसले बालवालिकाको शारिरीक र मानसिक बिकाशमा असर पार्छ भन्ने कुरा ब्यापक प्रचार प्रशार गरिनु पर्दछ ।

बालविवाहका नकरात्मक असरहरुका वारे गाँउ स्तरमा पुजा पाठ, चाडपर्व गर्दाका दिन समुदायहरुलाई जानकारी गराने खालका कार्यक्रमहरु गर्ने । विवाह गर्नका लागि लगन मागेर विवाह गर्ने चलन भएका कारण आउँदा दिनमा बिवाहको कुराकानी हुनु अघि नै जन्मदर्ता वा बिद्यालयको मार्कसिट आधार मान्ने । उमेर नपुगेको खण्डमा विवाहको लगन नदिने । बिवाहको कुराकानी बन्द गर्र्ने । बालबालिका कारण जन्मेको ३५ दिन भित्र जन्मदर्ता गराउन प्रोत्साहन गर्नु पर्दछ ।

बालबिवाह रोक्न सल्लाह सुझाव दिदा दिदै पनि यदि कसैले विवाह गर्न गराउन लागेमा बालक्लव, किशोर किशोरी क्लव, बालअधिकारको क्षेत्रमा कार्यरत बिभिन्न मानव अधिकारवादी संघ सस्था, राष्ट्रिय मानव अधिकार आयोग, स्थानिय बालसंरक्षण समिति, बाल कल्याण समिति, स्थानिय तहको महिला तथा बालबालिका शाखा र नजिकैको प्रहरी चौकीमा खवर गरि बालविवाह रोक्न सहयोग गर्नु पर्दछ । पैसा नलाग्ने १०९८ बाल हेल्पलाईनमा खवर गरि बालबिवाह रोकथामका लागी जोसुकैले सहयोग पु¥याउनु पर्दछ ।

बालविबाह कानूनी अपराधका साथै यसले बालबिवाह गर्ने बालवालिकाको शारिरीक र मानसिक असर पार्ने भएकाले यसको रोकथाममा लाग्नु हामी सबैको दायित्व र कर्तब्य पनि हो । पहिले बालविवाह अभिभावले बढी गरि दिन्थे भने अहिले बालबालिका आफैले भागेर बालविवाह गर्ने प्रबृत्ति बढेको छ । फेसबुक म्यासेन्जर लगायतका सामाजिक सञ्जालको दुरुपयोग र क्षणिक शारिरीक आकर्षणमा बालबालिकाले बाल बिवाह गर्ने प्रबृत्ति बढ्दै जानु गंभिर समस्याको रुपमा रहेको छ ।

पछिल्लो समय बालबालिका मात्रै होईन कि कतिपय अभिभावकहरुमा पनि सामाजिक सञ्जालको सहि प्रयोग भन्दा दुरुपयोग गर्ने प्रबृत्तिले त्यसको असर बालवालिकासम्म पनि पर्ने गरेको देखिएको छ । आफुले जतिवेला पनि सामाजिक संञ्जालमा झुम्मिने र बालबालिकालाई प्रयोग नगर भनेर अर्ति दिदैमा बालबालिका मान्दैनन । बालबालिकालाई उचित समय नदिने र उनीहरुको समस्या सहजै अभिभावकसंग भन्न सक्ने वातावरण नहुदा बालबालिकाको ध्यान समाजिक सञ्जाल तर्फ जाने र जसका कारण क्षणभरमा मायाजालमा फस्ने अपरिपक्क अवस्थामै बिवाह गर्ने प्रबत्तिले धेरै बालबालिकाहरु सुनौलो भबिश्यमा गंभिर आधात पु¥याई रहेको छ ।
कानूनले त्यसै बिवाह गर्ने उमेर बिस बर्ष गराएको होईन । यसले पार्ने शारिरीक र मानसिक असरलाई रोक्नका लागी नै बालबिवाहमा रोक लगाईएको हो । उमेर परिपक्क नभई बिवाह गर्नाले पढाईलेखाई र बृद्धि बिकाशमा असर पार्ने, कम शरिर पुर्ण रुपमा बिकसिल नभई बच्चा जन्माउनाले आमा र बच्चाको स्वास्थ्यमा गंभिर असर पार्ने, मातृशिसु मृत्यु दर बढ्ने भएकाले बालविवाहमा रोक लगाईएको हो ।

अन्त्यमा बाल विवाह गैरकानुनी हो, यसबाट बालबालिकाले शारीरिक, मानसिक र शैक्षिक विकासको अवसर र रहर सबै गुमाउनुपर्छ भएकाले यस्तो गलत अपराधिक कार्यको विरुद्ध संगठित आवाज उठाउन जरुरी छ । बालविवाहले बालविाह गर्र्नेे बालबालिकाको शारिरीक र मानसिक रुपमा गंभिर असर पार्ने गर्दछ । बालविवाह गर्नाले कानूनी रुपमा श्रीमान श्रीमानको मान्यता पाइदैन । बालविवाह स्वतह बदर योग्य भएकाले बालबिवाह गरेर संगै बस्ने बच्चा जन्माउने गरे पनि उनीहरु कानूनी रुपमा श्रीमान श्रीमतीको हुदैन । उनीहरुको बिवाह दर्ता हुदैन । बालविवाह गर्ने बालिकाले श्रीमतीको नाताले श्रीमानबाट पाउनु पर्ने अंश लगायतका कुनै कानूनी हक अधिकार पाउदिनन । बालबिवाह गर्दा कानूनी हक अधिकार नपाईने शारिरीक र मानसिक क्षति मात्रै हुने भएकाले बालबिवाह रोक्न सबैले आआफ्नो तर्फबाट पहल गरौ । बालविबाह हुनै नदिन जनचेतना फैलाउ । यति गर्दा पनि कहि कतै बालविवाह हुन लागेमा प्रहरीमा खवर गरौ । बिवाहवारी २० बर्ष पारि मात्रै गरौ । लेखक अधिवक्ता हुन ।

प्रतिक्रिया

प्रतिक्रिया