बाँके प्रहरीले समात्यो ४ सय ७८ फरार

बाँके प्रहरीले अदालतबाट सजाय पाएका तथा अदालत तथा प्रहरीमा उजुरी तथा मुद्दा परी फरार रहेकाहरुको खोजतलासलाई तिव्र पारेको छ । प्रहरीले चालु आ.व.को पुस २० गतेसम्म ४ सय ७८ जना फरारलाई पक्राउ गर्न सफल भएको बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक ओम रानाले सोमबार जिल्ला प्रहरी कार्यालय बाँकेमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।


प्रहरीका अनुसार, फरार पक्राउ भएका ४ सय ७८ मध्ये ३८४ जना अदालतबाट कैद तथा जरिवाना भएका, मुद्दा मुलतबीमा रहेका ४१ र चालु मुद्दामा फरार रहेका ५३ जना रहेका छन् ।
प्रहरीले सोमबार पनि पत्रकार सम्मेलनमा विभिन्न घटनाका फरार पक्राउ गरी सार्वजनिक गरेको थियो । प्रहरी टोलीले बाल यौन दुरुपयोग मुद्दामा बाँके जिल्ला अदालतको २०७५ फागुन २९ गतेको आदेशले ६ महिना कैद सजाय भई फरार रहेका कोहलपुर–१ बस्ने आकाश सार्कीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । उनलाई तत्काल अदालत बुझाइने प्रहरीले जानकारी दिएको छ ।

त्यस्तै चोरी मुद्दामा बाँके जिल्ला अदालतको मिति २०७५ पुस १० गतेको आदेशले ११ दिन कैद र १५ हजार जरिवाना भई फरार रहेका कोहलपुर–११ वस्ने सुरज परियारलाई समेत पनि प्रहरीले सोमबार नै पक्राउ गरी सार्वजनिक गरेको हो ।


२०७७ मंसिर १२ गते नेपालगन्ज–२ बाट १२ ग्राम ब्राउनसुगर सहित पक्राउ पर्ने आएका सुनिल बोहराको वयानबाट अभियोग लागेकी भारतीय नागरिक मिना गोडिया भन्ने कैलाशा गोडियालाई पनि प्रहरीले सोमबार नै पक्राउ गरेको छ । उनीमाथि थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया