कन्फ्युजमा चल्दै कक्षा ११

१०/१० बर्षमा पाठ्यक्रम परिवर्तन गर्नुपर्छ भन्ने मान्यता रहेको छ । सोही मान्यता अनुसार १२ करोड रुपैयाँ भन्दा बढी खर्च गरेर पाठ्यक्रम विकास केन्द्रले यस बर्षदेखि लागु हुने गरी नयाँ पाठ्यक्रम ल्यायो ।

कक्षा १ र कक्षा ११ मा नयाँ पाठ्यक्रम लागु गर्ने निर्णय सरकारले गरेको छ । कक्षा ११ मा गत भदौदेखि नै नयाँ पाठ्यक्रमको आधारमा पढाइ सुरु गर्न थालिएको थियो । नयाँ पाठ्यक्रममा कक्षा ११ र १२ मा संकाय प्रणाली अन्त्य गरेर अनिवार्य र ऐच्छिक विषय राखिएको छ ।
कक्षा १ मा नयाँ पाठ्यक्रम लागु गर्दा खासै चर्चा र विरोध भएन । तर, कक्षा ११ मा नयाँ पाठ्यक्रम लागु भएसँगै सर्वोच्च अदालतमा त्यसलाई रोक्न र हाल पुरानै पाठ्यक्रम लागु गर्नका लागि रिट पर्यो । असोज २८ गते सर्वोच्चमा परेको मुद्दाको टुंगो नलाग्दा देशभर कक्षा ११ मा पुरानो वा नयाँ पाठ्यक्रम पढाउने भन्ने अन्योलता सिर्जना भएको छ । सर्वोच्चले कात्तिक १९ गरे रिटमा सुनुवाई गर्दै ‘पाठ्यक्रम प्रारूप कार्यान्वयन नगर्नू, यथास्थितिमा राख्नू’ भनी अन्तरिम आदेश दिएपछि थप अन्योलता सिर्जना भयो । पुरानो वा नयाँ पाठ्यक्रम पूर्ण रुपमा लागु गरी पढाउँदा अदालतले दिने फैसलाले त्यसलाई प्रभाव पार्ने हुँदा कसरी अध्यापन अगाडि बढाउने बढ्ने विद्यालय, शिक्षक र विद्यार्थी अलमलमा रहेका छन् ।

कोभिडको जोखिमका कारण समयमा हुन सकेन । त्यसैले कलेजले अहिले आफ्नै हिसाबले अध्यापन अघि बढाएका छन् । हिसान बाँके, बर्दिया अध्यक्ष डा. अवनिन्द्रदत्त मिश्रले अदालतको रिटका कारण द्विविधा रहेको बताए । उनले कलेजहरुले अहिले नयाँ पाठ्यक्रमसँग मिल्ने विषय तथा विषयवस्तु मात्रै अध्यापन गराइरहेको जानकारी दिए ।

अध्यक्ष मिश्रले नयाँ पाठ्यक्रम लागु गर्दा शिक्षकलाई तालिम, अभिमूखिकरण आवश्यक पर्ने र शैक्षिक सत्रमा भएको ढिलाईका कारण यस बर्ष त्यो निकै चुनौतिपूर्ण हुने बताए । ‘हाम्रो माग भनेको यो बर्ष पुरानै पाठ्यक्रमलाई निरन्तरता दिइयोस् भन्ने हो’, उनले भने ।

ब्राइण्डल्याण्ड कलेजका डा. राजेशकेशर खनालले नयाँ पाठ्यक्रमसँग मिल्ने विषयवस्तु कलेजहरुले अध्यापन गराइरहेको जानकारी दिएका छन् । ‘पुराना पाठ्यक्रममा रहेका नयाँ पाठ्यक्रमसँग मिल्ने विषयवस्तु अध्यापन भैरहेको छ’, उनले भने, ‘सर्वोच्चको फैसला पछि नयाँ वा पुराना पाठ्यक्रम लागु हुन्छ भन्ने निश्चित हुन्छ ।’ म्यानेजमेन्ट, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट, अर्थशास्त्र जस्ता विषय ८० प्रतिशतसम्म नयाँ पाठ्यक्रमसँग मिल्ने बताइन्छ ।

नेपाली, अंग्रेजी परिवर्तन हुनुका साथै सामाजिक शिक्षा थपिएको छ । नेपाली, र अंग्रेजीको पाठ्यक्रम परिवर्तन भएपनि ब्याकरण मिल्ने भएकाले सुरुमा ब्याकरण पढाइरहेको कलेजहरु बताउँछन् । ‘दुई महिना ढिलो गरी कक्षा ११ को अध्यापन सुरु भएको छ, त्यसैले यो विषय छिटो टुङ्गो लगाइनु पर्छ’, उनले भने ।

सर्वोच्च अदालतले रिटको सुनुवाई पटकपटक सार्दै आएको छ । कोरोनाका कारण आन्तरिक मूल्यांकनको आधारमा कक्षा १० को नतिजा प्रकाशन गरिएको थियो । शैक्षिक सत्र खेर नजाओस् भन्ने उद्देश्यले आन्तरिक मूल्यांकन गरी १० को नतिजा निकालेपनि कक्षा ११ को शैक्षिक सत्र खेर जाने चिन्ता विद्यार्थी, अभिभावक तथा शिक्षकहरुमा रहेको छ । कतिपयले व्यवसायिक स्वार्थका कारण पनि नयाँ पाठ्यक्रम लागु गर्न अवरोध गरिएको आरोप लगाउँदै आएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया