विभाजित नेकपा, कार्यकर्ताको अमिलो मन

नेकपा प्रचण्ड–माधव नेपाल समूहले बाँकेमा जिल्ला स्तरीय भेला तथा प्रशिक्षण नेपालगन्जमा आयोजना गर्यो । जिल्ला विकास समितिको हलमा आयोजना गरिएको कार्यक्रममा हल भरिभराउ भएर बाहिर समेत मानिसहरुको बाक्लो उपस्थिति रहेको थियो । तर, हर्ष कसैमा भने देखिएन । एउटा कौलुहलता, निन्याउरोपन सबैमा स्पष्ट देखिन्थ्यो । जे सोंचेको थिएन, जे चाहना थिएन, त्यही भयो भन्ने । तैपनि आफ्ना अग्रजको निर्देशन र व्यक्तिगत जिज्ञासा मेटाउन बाँकेका वडास्तर देखिका नेता तथा कार्यकर्ताले त्यहाँ उपस्थिति जनाए । प्रतिनिधिसभा विघटनको आक्रोश, फुटले पार्टी कमजोर हुने अवस्थाको चिन्ता भने सबैमा पाइन्थ्यो ।

प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि पार्टी स्पष्ट रुपमा दुई चिरामा विभाजित भएको छ । एकातर्फ प्रचण्ड–माधव नेपाल छन् भने अर्को तर्फ केपी ओली । हठात् रुपमा प्रतिनिधिसभा विघटन भयो, नयाँ निर्वाचन घोषणा गरियो, नेकपाका दुवै पक्षधरले जिल्ला जिल्लामा प्रशिक्षण सुरु गरे । तर, वडास्तरबाट काम गर्ने नेता, कार्यकर्ताले अझै किन अकस्मात यस्तो भयो भन्ने बुझेका छैनन् । कोहि अग्रजको बाटोमा छन् त कोही सुर्य चिन्ह र नेकपाको आधिकारिकता कस्ले पाउँछ भन्ने कुरेर बसेका छन् ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र एक भएर नेकपा बनेको थियो । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको आफ्नै छुट्टाछुट्टै पृष्ठभूमि रहेको छ । अहिले नेकपा पुनः विभाजनमा रहँदा पूर्व माओवादी केन्द्र र पूर्व नेकपा एमाले हालको दुवै पक्षधर समूहमा देखिएका छन् ।
नेकपा फुटले कार्यकर्ता तथा स्थानीय स्तरका नेताको मन भने अमिलो भएको छ । विगतको दुवै पार्टी आ–आफ्नै इतिहासमा टेकेर आजको अवस्थामा आए । तर, एक भएको कम्युनिष्ट फेरि टुक्राको अवस्थामा छ । यो कुरा स्थानीय नेता, कार्यकर्तालाई चित्त बुझेको छैन । कतिपयले त केन्द्रीय राजनीति बुझेका सम्म छैनन् । बस् यत्ति भन्छन्, ‘किन भयो, कसरी भयो, जसरी पनि एक भइदिए हुन्थ्यो ।’

जिल्ला समन्वय समितिको हातामा भेटिएका स्थानीय नेता तथा कार्यकर्ता खासै खुलेर बोल्न चाहँदैनथे । उनीहरु औपचारिकता पूरा गर्न त्यहाँ पुगेका थिए जस्तो लाग्दथ्यो । पर्ख र हेरको अवस्था धेरैको पाइन्थ्यो । कसैमा झण्डै दुई तिहाई सिट जित्दा पनि पाँच बर्ष चलाउन नसकेका नेता प्रति रुष्ट थिए । तर, सबैको एउटा मत थियो, कम्युनिष्ट फुट्न हुँदैन थियो, कम्युनिष्ट फुट्दा धेरैको सपना, आकांक्षा र अपेक्षा पनि त्यससँगै फुटेको छ ।

जिससको हल भरिभराउ भएपनि विभिन्न समूह जिसस बाहिर आफ्नै धुनमा थियो । हलको माइकमा नेताको सम्बोधन सुनिरहेका उनीहरु सुन्दै, छलफल गर्दै थिए । दैनिक नेपालगन्ज प्रतिनिधि त्यहाँ पुगेर नेकपाको भविष्य तथा पार्टी विभाजनको अवस्थामा रहेको सोध्दा कौशिला कठायत बोल्न चाहिनन् । के भए राम्रो हुन्थ्यो भन्ने प्रश्नमा भने उनले जवाफ थियो, ‘हाम्रा अग्रज सँग कुरा गर्नुस् हामी के बोल्ने ?’ उनको रुष्टता पार्टी फ्ट्नुमा थियो । कुरा गर्दै जाँदा उनले भनिन्, ‘यो दिन देख्नुपर्छ भन्ने थाहा भएको भए जनयुद्धमा होमिन्नथे ।’ कठायत सुरुमा बोल्न नचाहे पनि खुल्दै गइन्, निराशा व्यक्त गरिन् र भनिन्, ‘विगतमा गरेको आन्दोलनले जनताले चाहना पूरा होला भनेको अवस्था फेरिएन ।’

बैजनाथ गाउँपालिका पार्टी वडाध्यक्ष कुँवेर रिजाल पनि झण्डै दुई तिहाई हुँदा पनि आफ्नै सरकार विघटन गर्नुलाई उचित मान्दैनन् । पार्टी भित्रको विवाद छताछुल्ल मात्रै भएन कम्युनिष्ट सरकारको अस्थिरताको छवि जनतामा पुर्याइएकोमा उनी बेखुशी छन् । ‘सरकारप्रति जनताको धेरै आशा जोडिएको थियो, जनताले बहुमत दिए, अति खोई त त्यसको सम्मान’, उनले भने ।
बैजनाथकै युवा संघ सदस्य प्रेम बहादुर विष्ट पनि नफुटेर मिलेर गएको भए मुलुकमा स्थायित्व हुने धारणा राख्छन् । ‘बहुमत थियो, पाँच बर्षसम्म जनताको चाहना पूरा गर्न सरकार लाग्नु पर्ने हो’, उनी भन्छन्, ‘तर, विडम्वना केन्द्रीय विवादले समस्या पार्यो ।’

कोहलपुर–३का वडा कमिटि सदस्य विष्णु माया सिंह भने अग्रजको सुझाव अनुसार कार्यक्रममा आएकी थिइन् । ‘नेकपालाई जिताउन, जनताका अपेक्षा पूरा गरुन् भनेर आफ्नो तहबाट काम गरेका हौं’, उनले त्यसबाहेक केही बताउन नचाहेको उल्लेख गर्दै भनिन्, ‘टाउको जता हामी उतै ।’

‘फुटले पार्टीलाई कमजोर बनाउँछ, हामी फेरि बलियो बन्नै पर्छ,’ नेकपाकै स्थानीय स्तरका नेता टंक भन्छन्, ‘चाहना कसैको थिएन तर संविधान विपरित प्रतिनिधिसभा विघटन गरियो, हामी त्यसको प्रतिवाद गर्छौ ।’

दैनिक नेपालगन्जसँगको कुराकानीमा कतिपय स्थानीय स्तरका नेता भने खुल्न चाहेका थिएनन् । ‘यति लेखिदिनु कम्युनिष्ट एक होस्, हिजो गरेको जनयुद्ध, संघर्ष र आन्दोलनले दिएको म्यान्डेट नेताले बुझेर कार्यान्वयन गरुन्’, उनीहरु भन्थे ।

प्रतिक्रिया

प्रतिक्रिया