
अतिक्रमित संरचनाका कारण किसानलाई नोक्सानी
निकै लामो प्रतिक्षापछि सिक्टा सिंचाई आयोजनाबाट पानी बग्न थालेपछि खुशी भएका किसानहरुका लागि हिउँदमा भने दुःख थपिएको छ । बाँकेको नेपालगन्ज उपमहानगरपालिका–२० मनिकापुरको सेरोफेरो र जानकी गाउँपालिकाका किसानहरुका लागि आवश्यकता भन्दा बढी पानी खेतमा पुगेर दुःख थपिएको हो ।
‘निरन्तरको पानीले उम्रिएको गहुँ कुहिएको छ’, खेतमा बढी भएको पानी मोटर लगाएर बाहिर फाल्दै गरेको अवस्थामा भेटिएका स्थानीय किसानले दैनिक नेपालगन्जसँग भने, ‘चाहिने बेला बाहेकको बढी पानीले नोक्सान पुर्याएको छ ।’ अधिकांस किसानहरुले गुनासोलाई सिक्टा सिंचाई आयोजना र स्थानीय प्रशासनसम्म पुर्याएपनि सुनुवाई नभएको दुःखेसो गरे ।
स्थानीय प्रशासनले गुनासा सुनुवाई गर्न आयोजनालाई निर्देशन दिएको छ । अतिक्रमित संरचना हटाउन र नहर अतिक्रमण मुक्त गर्न स्थानीय प्रशासनले सहयोग गरेको जनाएको छ । ‘आयोजना प्रमुखले अतिक्रमण हटाउन राम्रो पहल गर्नुभएको हो’, बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङ्गले अभियान रोकिंदा किसान मारमा परेको गुनासो आफु कहाँ आइपुगेको जानकारी दिंदै भने, ‘सिक्टाले तत्काल अभियान सुरु गरे सुरक्षा दिन स्थानीय प्रशासन तयार छ ।’
आयोजना प्रमुख लोक बहादुर थापाले अतिक्रमित संरचनाका कारण नहर जीर्ण बन्दा किसानहरु मारमा परेको प्रतिक्रिया दिए । ‘किसानका गुनासालाई सम्बोधनको प्रयास गरेका छौं’, आयोजना प्रमुख थापाले दैनिक नेपालगन्जसँग भने, ‘हामी छिट्टै समस्या समाधानका लागि छुट्टै टिम परिचालन गरिसकेका छौं ।’
झण्डै २५ हजार हेक्टर खेतीयोग्य जमिनका लागि यसैबर्षदेखि निरन्तर पानी उपलब्ध गराएको हो । ‘अहिले पनि निरन्तर ५ क्युमेक्स पानी मूल नहरबाट प्रवाह भैरहेको छ’, आयोजना प्रमुख थापाले जेठी नालासम्म पुगेको पानीले टिटिहिरियासम्मका किसान लाभान्वित भएको जानकारी दिंदै भने, ‘मूल नहरबाट खपत नभएको पानीलाई टेलबाट छाडिंदा जेठी नालाबाट लिफ्टिङ्ग गरेर किसानले राप्तीको पानी उपयोग गरिरहेका छन् ।’
सिक्टाको पानीले धान खेती गरेका बाँकेका किसानले गहुँ र तोरीका लागि पनि पर्याप्त सिंचाई सुविधा लिइरहेको आयोजना प्रमुख थापाले जानकारी दिए । ‘त्यसैक्रममा कतिपय ठाउँको जीर्ण नहर र अतिक्रमणका कारण चुहावट हुँदा किसानले नोक्सानी ब्यहोर्नु परेको हो ।’ आयोजना प्रमुख थापाले क्षति न्यूनिकरणका लागि जीर्ण नहरको मर्मत सम्हार र अतिक्रमण हटाउने तर्फ सिक्टा सिंचाई आयोजना अगाडि बढेको जानकारी दिए ।
बाँके जिल्लाको अगैयास्थित राप्ती नदीमा बाँध निर्माण गरी सिँचाइ आयोजना सुरु गरिएको हो । अगैयाबाट (दायाँतर्फ) कोहलपुर नगरपालिका र नेपालगन्ज उपनगरपालिकालगायत साविक ३४ गाविस र (बायाँतर्फ बिनौना, बैजापुर, फत्तेपुर, गङ्गापुर, मटेहिया, नरैनापुर, कटकुईया, कालाफाँटा र लक्ष्मणपुर गरी नौ साविकका गाविस अर्थात् राप्ती सोनारी र नरैेनापुर गाउँपालिका पर्छन् ।
एक तथ्यांक अनुसार, सिँचाइ सुविधा नपुग्दा बाँकेवासीको सरदर प्रतिव्यक्ति आम्दानी रु एक हजार ४९२ छ । जमीनमा नियमित सिँचाइ पुग्दा प्रतिव्यक्ति आम्दानी दोब्बर अर्थात् रु दुई हजार ५६५ पुग्नुका साथै बाँझो जमीन पुनःप्रयोगमा समेत आउने सम्बद्धहरुको दावी छ । अहिलेपनि बाँकेका ४६ हजार ७१५ घरधुरीका चार लाख ४९ हजार ५८८ जनसंख्याको जीवनको आधार कृषि हो । जिल्लाको ५७ हजार खेती योग्य जमिन मध्ये ५२ हजार हेक्टरमा नियमित कृषि उत्पादन भइरहेको भएपनि किसानलाई लगानी अनुसारको प्रतिफल छैन ।
आर्थिक वर्ष २०७६ ÷०७७ सम्ममा २५ अर्ब २ करोडको लागतमा आयोजना पुरा गर्ने लक्ष्य राखिएको थियो । तरपनि, हाल सम्म ब्यारेज तथा पश्चिम क्षेत्रको मुल नहर निर्माणको काम सम्पन्न गरि करिब २१ सय हेक्टर सिचाई सुबिधा पुर्याउने सिधनिया शाखाको काम सकिएको छ । त्यही शाखाबाट १६ हजार हेक्टरमा सिंचाई सुविधा उपलब्ध गराइसकिएको हो ।
राज्यको आफ्नै लगानीमा सुरु भएको सिक्टा सिंचाईं आयोजनामा राज्यले चाह्यो भने आउने वर्षनै ठुलो उपलब्धी दिनसक्ने देखिन्छ । २०७५ साउन ७ गते चंगाई खोला नजिकै भत्किएको मूलनहरको मर्मत संहारलाई लिएर उत्पन्न अन्योललाई चिरेर अगाडी बढेजस्तै शाखा नहर निर्माणलाई तिब्रता दिने र आयोजना छिट्टै सक्नेतर्फ सरकारको ध्यान पुग्नुपर्छ ।
सिक्टा बनेपछि पहिलो चरणमा बाँकेको करिब ३४ र दोस्रो चरणमा ९ हजार गरेर करिब ४३ हजार हेक्टर क्षेत्रमा वर्षभरि नै भरपर्दाे सिँचाइ सुविधा पुग्ने योजनामा उल्लेख छ । सम्बद्ध विज्ञहरुका अनुसार, उत्पादन र उत्पादकत्वमा करिब २ गुणा वृद्धि भइ एकैसाथ ४६ हजार ७ सय १५ घरपरिवारका करिब ४ लाख ५० हजार सदस्य प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन् । सिंचाइ उपलब्धता भएमा सुक्खा र खडेरीको अन्त्य भइ उत्पादन र उत्पादकत्व वृद्धि हुने जस्ले किसानको आर्थिक समृद्धिको ढोका खुल्ने अपेक्षा गरिएको छ ।