
विश्वमा नेपाल मात्रै यस्तो देश हो जसको बिविधतामा संसार रमाउन सक्छ । संसारमा भएका अनेकानेक भूगोलमा बस्ने मानिसहरुको लागि शान्तिको प्रस्थान विन्दु नै नेपालको प्राकृतिक सौन्दर्यता हुन सक्छ । संसारका सबैखाले मानिसहरुको प्रेरणाको श्रोत नेपाल नै हुन सक्छ । यहाँका अनेकौं जातजातिहरु र तिनका परम्पराहरु, यहाँका अनेकौं वैदिककाल देखिका जिवन्त इतिहासहरु संसारका लागि आफ्नो मौलिकता स्थापित गराउने आधारशीला हुनसक्छन् । हाम्रा मौलिकतामा आधारित सभ्यता र सँस्कृतिले संसारलाई सत्मार्गको गोरेटो देखाउन सक्छ । नेपालको साँस्कृतिक उत्कृष्टता र यहाँको मौलिकतामा आधारित प्राकृतिक संरक्षण सहितका विकासका कार्यहरुले दुनियाँलाई र मानव सभ्यतालाई परिचय दिन सक्छ ।
हामी विश्व गुरु हौं । मानव उत्पतिको मूल भूमि यहि हिमवत खण्ड हो । हामी कहाँ नै मानव जातिको उत्थानको कल्याणका आधारहरु तय भएका हुन । यसको बारेमा धेरै तथ्यहरु खुलि सकेका छन् र अझै खुल्ने क्रम जारी छ । हामी केहि सय बर्ष पहिला पत्ता लागेको भूमिका सन्तान होइर्नौं । हामी कुनै आफ्नै छोरीसँग बिहे र बलात्कार गरेर जन्मेका अवैध सन्तानका खलक होइनौं । हामी कुनै विपरित विचारलाई मारेर आफ्नो अस्तित्व कायम गरेकाहरुका अनुयायीहरु होइनौं । हामी कुनैपनि मानवलाई घाँटीमा दाम्लो हालेर हाट बजारमा बेच्ने र महासागरमा लगेर फाल्नेहरुको संस्कारबाट हुर्केका मानव पनि होइनौं । हाम्रो त आफ्नो थिति छ, नीति छ , आफ्नै सँस्कृति र परम्परा छ, वसुधैव कुटुम्कम को महान भातृत्व र सहृदयताको आर्दश मात्रै होइन व्यवहारमा नै प्रयोग गर्दै आएको समाजका मानवहरु हौं । हाम्रो आफ्नै गौरवशाली इतिहास छ । हामीसँग त मौलिकताको महासागर छ ।
तर हामीले आफैलाई कहिल्यै पनि चिन्ने प्रयास गरेनौं । हाम्रा राज्य संञ्चालकहरुले नेपाललाई चिन्ने आवश्यकता ठानेनन् । नेपालका पढेलेखका भनिएका आधुनिक बुद्धिजिवीहरुले नेपाललाई सधैं तल्लो दर्जाको देशमा राखेर नयाँ पुस्तालाई आफ्नो यौन, उत्पीडन, साम्प्रदायिकता र हिंसाको मात्रै विद्धता पस्किँदै गए । सरकारहरुलाई त्यसैको सेरोफेरोमा रहेर सल्लाह दिँदै गए । सधैं नेपाल गरीब छ, अविकसित छ, यहाँ केहि पनि छैन भन्ने एकोहोरो रटानले पछिल्लो आधा शताब्दी र तीन पुस्ता नै सकिएको छ । यसको परिणाम आजको नयाँ पुस्ता नेपाल प्रति घृणाभावले हेर्न खोज्दैछ । नेपालमा बस्न उसलाई कत्ति पनि मन छैन । नेपालको गौरवसँग आफ्नो सम्बन्ध गाँस्न लज्जाबोध गर्दै छ । नेपाल त सानो छ मात्रै भन्छन् तर नेपालभन्दा पनि साना देशहरु संसारमा सयभन्दा धेरै छन् । कसरी नेपाल मात्रै सानो देश हो , यो आखाँको नानी जत्रो देश हो भनेर भन्ने दुस्साहस किन र कसले गरे ? यसको खोज र अनुसन्धान हुँदै छ । यसको पछाडीका रहस्यहरु पनि बिस्तारै खुल्दै छन् ।
भौतिकवादले मात्रै सम्पन्नता दिन्छ र भौतिकवाद नै मानव जीवनको अर्थ र आधार हो भन्ने एकलकाटे व्याख्याले आज संसार नचल्ने कुरा प्रमाणित भै सकेको छ । विकासको नाममा अति नै उपभोत्तावाद र भौतिकवादको भ्रम छरेर सम्पन्नताको गर्व गर्ने पश्चिमाहरु नै आज हाम्रो सँस्कृतिले हाम्रो इतिहासले दिएको शान्तिको आधारलाई नै पछ्याउँदै छन् । आफ्ना देशका जनतामा भएको नैराश्यताको निदान हाम्रै सँस्कृति हाम्रै परम्परा र हाम्रै प्रकृतिमा खोज्दै छन् । यो कुरा अलग हो कि हाम्रा राज्य सञ्चालकहरु आज पनि हाम्रो सँस्कृतिलाई गाली गलौच गर्नमा नै आफ्नो शान र अभिमान सम्झिँदै छन् । नेपाली सँस्कृति र परम्परालाई रोकेर, छेकेर, यसको उछितो काढेर आफु सभ्य भएको, विकास प्रेमि भएको, देशहितमा रहेको सरासर झुठो नाटक गर्दैछन् ।
पछिल्ला दिनहरुमा नेपालको मौलिकतालाई विकासका नाममा यसरी माँसिदै छ मानौं यिनीहरुलाई हाम्रा मौलिकताले विकास नै रोकेको छ । हाम्रो मौलिक कृषि पद्धति जुन आत्मनिर्भरतामा आधारित थियो त्यसलाई निर्वाहमूखिको आक्षेप लगाएर बिस्थापन गराइयो । हाम्रा सिँचाइका पद्धतिहरु, कुवा ताल तलैयाहरु, कुला कुलेसाहरुलाई संरक्षण र प्रवद्र्धन गर्दै जानुको सट्टा मास्दै लगियो । गाउँ गाउँ र पाखा पखेराहरुमा बनाइएका प्रकृति संरक्षणका रोपिएका वर पीपलहर काटिएको छ । खेती पाती र घाँस दाउरा गर्नेहरु देखि बाटो हिँड्ने बटुवाहरुको बिश्राम र शितलताका लागि बनाइएका पाटी पौवाहरु, पानी धाराहरुलाई चुनी चुनी बाटो बनाउने नाममा मासिएको छ । पहाडका डाँडा पाखामा लाग्ने शितल हावालाई धुलाम्मे बनाएर, भएका पानीका मूलहरु सुकाएर बिकासका गफहरु हाँकिएको छ । प्रकृति र सँस्कृतिको महाबिनास गरेर गरिएको भनिएको बिकासको अर्थ खोज्ने दिन पनि आउँदै छन् । किन कसरी मेसो पारी पा।री हाम्रा त्यस्ता विज्ञानमा आधारित मौलिकताहरु मास्ने काम भएको छ भन्ने कुराको पनि अनुसन्धान हुने छ ।
हाम्रो नेपालका गाउँमा हरेक घरले आफ्नो आवश्यकताको कृषि र पशुजन्य वस्तुको स्वउत्पादनको मौलिक पद्धतिलाई अवलम्बन गर्दै आएका थिए । आधुनिक राज्य र यसका सञ्चालकहरुबाट यसलाई निरुत्साहित गरेर दलाली र कमिशनको खेलमा राज्यकोषबाट लूट मचाउने परम्पराको थालनी गरियो । किसानको परिभाषा नै फेरियो । भूमिको प्रत्यक्ष सरोकार राख्ने पशु चौपाया नपाल्नेहरु, हलो नसमाउनेहरु, दूध गोबर राम्रोसँग नछोएका र नचिनेकाहरु, कहिल्यै एक मुठी घाँस नकाटेकाहरु र बजारमा बसेर ब्यापार गर्नेहरु किसानको परिभाषा भित्र पारियो । यसले देशको मौलिक कृषि, मौलिक बीउ बीजनहरुको नास गराएको छ । कृषिको बिकासका नाममा आत्मनिर्भतालाई परनिर्भरतामा परिवर्तन गरिएको छ ।
संसारमा रसायनिक मल बिषादीले गर्न सक्ने अधिकतम उत्पादन त लियो तर यसबाट मानव स्वाथ्यमा प्रतिकूल असर देखियो । बिभिन्न खाले रोग ब्याथीहरुको उत्पत्तिको कारण पनि यस्तै रसायनिक मल र बिषादिको प्रयोगले उत्पादन भएको कृषिजन्य, दुधजन्य र मासुजन्य वस्तुहरुका कारण भएको देखिँदै गर्दा भविष्यमा मानव अस्तित्व नै संकटमा जाने पक्का भै सकेको देखेर संसार अब हाम्रै मौलिक कृषि पद्धतितिर आर्कषित भएको छ । जसलाई उनीहरुले प्राङ्गारिक (अर्गानिक ) भनेका छन् । तर हाम्रा राज्य सञ्चालकहरु नेपालको कृषिको विकास भन्दै रसायनिक मल र बिषादिको निकै प्रचार प्रसार गर्दै छन् । किसानलाई रसायनिक मल उपलब्ध गराउने नारामा मल सापटी माग्ने देखि मलको कारखाना खोल्ने भत्ते समिति बनाएर त्यसैमा आफ्नो राजनीतिक भविष्य खोजिरहेका छन् ।
मानिसहरुलाई आवश्यकता भन्दा बढि केहि पनि चाहिँदैन । मानिसको आवश्यकता पनि असिमीत हुनु हुँदैन । जहाँ आवश्यकताको चाङ्ग लाग्छ त्यहाँ महत्वकांक्षाको पनि पर्वत उभिन्छ । भौतिकवादको दौडमा उभिएकाहरुको आवश्यकताको पूर्तिका लागि आफ्नो आयश्रोतले नभ्याए पछि वित्तिय अपचलन र अनैतिक कार्य प्रतिको यात्रा प्रारम्भ हुन्छ । उता प्रकृतिको अनावश्यक दोहनले भावी पुस्ताको हक खोसिन्छ । देशको मौलिकता माथि प्रहार गरेर आवश्यकता भन्दा बढिको खोजि गर्दै गर्दा राज्यकोषमा डकैती शुरु हुन्छ । यो नै अहिले भएको विकासको नमूना र भ्रष्टाचारको जरो हो । जसलाई अहिलेका राज्य सञ्चालकहरुले विकासको बाढी भनेर डिङ्ग हाँकेको देखिन्छ ।
धर्म बेचेर कमाएको सम्मान, सँस्कृति मासेर खोजिएको सम्पन्नता, प्रकृति मासेर रोजिएको समृद्धि, नैतिकता मासेर चुल्याइको शिक्षा, इमान्दारीता बेचेर कमाएको धन सम्पत्ति, धर्मको विवेक गुमाएर गरिएको न्याय, देशको अस्मिता गुमाएर परम्परालाई गाली गलौच गरेर जोडेको मर्यादा, जातियता र क्षेत्रियताको कित्ताकाट, घृणाबादको अलापबाट सृजित हिँसामा पस्किएका शान्तिका पाठहरु, सम्पदाको बिनास गरेर कोरिएका सुविधाका मार्गहरु आदीले कहिल्यै पनि एउटा वास्तविक समृद्ध राष्ट्रको उदाहरण पेश गर्न सक्दैन । तर यहाँ यी कुराको बीना नै कम्यूनिष्ट, काँग्रेस र समाजवादीहरुको राजनीति नै अधुरो भएको देख्दा यिनीहरुले बनाउन खोजेको समाजको परिकल्पना सहजै आँकलन गर्न सकिन्छ । यिनीहरुको अबको बिकासको ढाँचा कस्तो हो भन्ने पनि स्पष्ट भै सकेको छ ।
मौलिकता र रैथानेपनलाई सम्मान गर्न नसक्ने र यसको अर्थ नै गलत ब्याख्या गर्दै कम्यूष्टि र पूँजिबादी सिद्धान्तहरु नै नेपालको मौलिकता भन्ने नेतृत्वले नेपालको सँस्कृतिको बिडो उठाएको छ । भेटिकनमा जरो रहेको र त्यहिँ नै मूल भूमि रहेको र मक्कामा मूलभूमि रहेको अर्थात त्यहाँ जरो रहेको धर्म सँस्कृतिलाई नेपालको मौलिक परम्परा भन्ने राष्ट्रप्रमुख रहेको यो देशमा मौलिकताका बारेमा कुरा गर्दा तिनका चण्डमुण्डहरुले कसरी बुझ्छन् भन्न सकिँदैन । तर नेपालको मौलिकताको अद्धितियतालाई ढिलो या चाँडो सबैले नै स्वीकार नगरी सुखै छैन । संसारले अपनाउन खोजि सकेको नेपाल मै जरो र किलो रहेको धर्म सँस्कृतिहरु, नेपाली सभ्यताका आयामहरु, राजनीतिलाई हामीले भनेको अस्वीकार गरे पनि वर्तमान नेपाली सत्ताका आर्दश देश पश्चिमाहरुले भने पछि अवश्य नै स्वीकार गर्ने नै छन् ।
नेपाल र नेपालीको वास्तविक पहिचान भनेको त यहाँको साँस्कृतिक पहिचान नै हो । हाम्रो विकासको आधार भनेको पनि हाम्रो मौलिकता र इतिहास हो । इतिहास मेटाएर, पहिचान नै मेटाएर गर्व गर्नेहरुले अब धेरै दिनसम्म ताण्डव नृत्य गर्न पाउने छैनन् । स्तिथिगत्यात्मकता बीना कुनै पनि विकासको परिकल्पना अधुरो नै रहन्छ । मौलिकताको आधार बीनाको विकासको औचित्य कहिँ कतै पनि सभ्य र ग्राह्य हुनै सक्दैन ।











