पश्चिम नेपालको प्रमुख ब्यापारिक केन्द्रको रुपमा रहेको नेपालगन्ज देशको प्रमुख नाकाहरु मध्यको एक नाका पनि हो । यो शहरले औद्योगिक नगरी को पनि उपमा पाएको छ, यहाँ भएका अनेकन उद्योगले देशको अर्थतन्त्रमा उल्लेख्य टेवा दिइरहेका छन । यो शहरको आफ्नै परिवेश र आफ्नै फरक बिशेषता सहितको पहिचान छ । यहाँको अतुलनिय र अनुपम धार्मिक सदभाव वास्तवमै अनुकरणीय छ त्यसैले त हामी गौरव साथ नेपालगन्जलाई सदभावको शहर भन्छौँ ।


इतिहास पल्टाउने हो भने राणाहरुले पनि नेपालगन्जलाई महत्व दिएको देखिन्छ । कालान्तरमा सबैले यस शहरको विबिध बिशेषतालाई आत्मसात गर्दै आएका तथ्य हाम्रा सामु छर्लङै छन् । समग्रमा भन्नुपर्दा देशव्यापी रुपमा नेपालगन्जले सम्मान लायकको ख्याती कमाएको छ र हिजो–आज एकाध कारणले निश्चित भूगोलको परिधि भन्दा पारी पनि नेपालगन्ज गुन्जिएको छ । यो शहरले समय सापेक्ष आफ्नो परिचयमा नयाँ–नयाँ आयाम थप्दै गएको छ, थपिदै गएका नयाँ आयामहरुमा खेलकुद गतिबिधिले अग्रस्थान ओगटेको छ । खेलकुदबाट पनि कुनै ठाउँ बिशेषलाई परिचित गराउन सकिंदो रहेछ भन्ने कुराको नेपालगन्ज ज्वलन्त उदाहरण बनेको छ । नेपालगन्ज म्याराथन, नेपालगन्ज गोल्डकप (फुटबल), प्रधानमन्त्री कप (महिला भलिबल) र नेपालगन्ज कप (क्रिकेट), जस्ता खेलकुद गतिबिधिले नेपालगन्ज लाई देश–विदेश मा परिचित गराएका छन, शहरको बहुआयामिक विबिधतामा यस्ता नियमित खेलकुद गतिबिधीले गहनाको काम गरेका छन् ।


मध्यः
नेपालगन्जमा यस्ता बिविध खाले खेलकुद प्रतियोगिता आयोजना हुनु आँफैमा समग्र नेपालगन्जियाहरुको लागि गौरवको कुरा हो । यस्ता प्रतियोगिता आयोजनाका लागि स्थानीयस्तर मै बिविध क्षेत्र सँग समन्वय र उत्कृष्ट तालमेल गर्ने खेलप्रेमी व्यक्तित्व र आयोजक संस्थाहरु धन्यवाद का पात्र छन् । उहाँहरुको सकारात्मक पहलमा स्थानीयस्तरका व्यवसायिक प्रतिष्ठानहरुले सधैं उत्साहजनक सहभागिता र उल्लेख्य सहयोग सहितको योगदान गरेको गौरवपूर्ण ईतिहास, तथ्यपूर्ण वर्तमानका साथै निरन्तरताको प्रतिबद्दता सहितको आशापूर्ण भविष्य हामी सामु छ ।


यस्ता किसिमका बिविध खेलकुद प्रतियोगिताहरुमा स्थानीयस्तरका निजी क्षेत्रको सहयोग र सहकार्यले बिशेष महत्व राख्दछ र आयोजक–प्रायोजक विच हुनुपर्ने नङ–मासुको सम्बन्ध लाई थप प्रगाढ बनाउदै जगजाहेर हुनेगरी प्रमाणित पनि गर्दै आएको छ । स्थानीयस्तरको प्रतियोगिता र स्थानीयस्तर कै प्रायोजनले दुबैको व्यापक र राष्ट्रियस्तर को छवि एवम् पहिचान बन्ने कुरामा कुनै विमति छैन् ।


बिना संकोच भन्नुपर्दा आयोजकले प्रायोजक गुहार्नुमा व्यबस्थापनमा खर्च हुने रकमको जोहो गर्नु नै हो भने प्रायोजकले आर्थिक सहयोग गर्नुमा आफ्ना उत्पादन, संस्थाको विचार आदीलाई जनमानसमा सकारात्मकताका साथ पुर्याउने नै हो । दुबै पक्षको लक्षित स्वार्थ कै फलस्वरुप हामीले यस्ता सफल र फलदायी प्रतियोगिता हेर्न पाइरहेका छौं ।


आयोजकको आवश्यकता र प्रायोजकको लक्षित स्वार्थको समुचित मिलनबिन्दु नै प्रतियोगिता आयोजनाका आधार हुन यसमा दुबैपक्ष सधैं इमान्दार रहनुपर्छ । स्थानीयस्तरमा हुने यस्ता प्रतियोगितामा सकभर स्थानीयस्तरकै प्रतिष्ठानहरुलाई प्रायोजक बनाउँदा समग्रमा राम्रो सन्देश जाने कुरामा दुईमत नहोला । प्रतियोगिताले पाउने चर्चा–परिचर्चा सँगसंगै प्रायोजकको पनि उत्तिकै नाम आउने बातावरण बनाउन आयोजकले पनि कन्जुस्याइँ गर्नु हँुदैन यसले दिर्घकालीन सहकार्यलाई बढावा दिनेछ ।


स्थानीयस्तरका केही प्रतिष्ठानहरु खेल जगत सँग जोडिएका छन । नेपालगन्ज गोल्डकप (फुटबल) सँग शुरुवातमा यति सिमेन्ट जोडियो । पछि बिविध कारणवश सहकार्य दोहोरिन सकेन कारण जे भएपनि सहकार्य टुट्नु पक्कै राम्रो कुरा थिएन । निरन्तरताको प्रयास दुबै पक्षबाट जरुरी छ ।


यसैगरी नेपालगन्ज कप (क्रिकेट) को मुख्य प्रायोजक र नेपालगन्ज म्याराथन सँग सह(प्रायोजकको रुपमा स्थानीय आशीर्वाद पेन्ट्स जोडियो । यसैगरी के. एल. दुगड समूह मुख्य प्रायोजकको रुपमा नेपालगन्ज म्याराथनसँग निरन्तर जोडिएको छ । यस बाहेक सिद्धार्थ ग्रुप अफ हस्पिटालिटी पनि खेलकुद गतिबिधिमा सहकार्य गर्न अग्रसर भएको देखिन्छ ।
खेलकुद क्षेत्रमा अहोरात्र खटिइरहनु भएका समस्त व्यक्तित्वहरुले भइरहेका र भविष्यमा हुने अन्य खेलकुद प्रतियोगिताहरुमा स्थानीयस्तरका अरु धेरै प्रतिष्ठानहरुलाई जोड्न सक्नुपर्छ । यसो हुँदा खेलकुद, सम्बन्धित प्रतिष्ठान र समग्र नेपालगन्जको हित हुने कुरामा कुनै शंका छैन । यस्ता हरेक प्रतियोगिताको सफल आयोजनाबाट सम्बन्धित सबैका लागि सम्भावनाका नयाँ–नयाँ ढोकाहरु खुल्नेछन् ।

अन्त्यः
यति हुँदाहुँदै पनि केही तितो बिगतले चिथोर्छ, टोक्न खोज्छ जसले स्थानीय प्रायोजकलाई हतोत्साही र मर्माहत बनाउछ । एउटा प्रसँग जोडन चाहन्छु, विगत केही बर्ष देखि आयोजना हुँदै आएको ‘नेपालगन्ज गोल्डकप’ मोफसलको ठुलै र राम्रो फुटबल प्रतियोगिता हो । बाँके जिल्ला फुटबल संघको आयोजनामा हुने यो प्रतियोगिता को शुरुवातमा मुख्य प्रायोजकको रुपमा स्थानीयस्तरको यति सिमेन्ट रहेको थियो पछिका संस्करणमा उसले निरन्तरता पाएन । भित्री कुरा जेसुकै होस् आयोजकले पहिलो संस्करणको प्रायोजकलाई विश्वाशमा लिएर समेट्न सक्नु पर्थ्यो तर त्यस्तो भएन पछि बहु–राष्ट्रिय कम्पनीलाई प्रायोजक बनाइयो । राम्रो विकल्प पाउने बित्तिकै पुरानाको साथ छोड्ने संस्कार पक्कै पनि राम्रो होइन यसमा सम्बन्धित पक्षको ध्यानाकर्षण होस्, हुनुपर्छ ।


यसका अलावा प्रायोजकले गर्ने लगानी अनुसारको आशातित प्रतिफलको सुनिश्चितता गर्नु आयोजकको परम कर्तव्य हो । यसले आयोजक प्रति ढुक्क हुने बातावरण सिर्जित हुनेछ र यही नै दीर्घकालिन सहकार्य र सहयात्राको कडी पनि हुनेछ ।

शहरको परिचय नै बदल्ने हैसियत राख्ने यस्ता प्रतियोगिता र खेल उत्सवहरु साच्चिकै गर्व गर्न लायक छन् । यसका लागि बाँके जिल्ला फुटबल संघ, बाँके जिल्ला भलिबल संघ, क्रियटिभ ह्यान्ड्स, ग्रीन इभेन्टो लगायतका संस्था का साथै फुटबल र भलिबलका जिल्लास्तरिय पदाधिकारीहरु, टि.एस. ठकुरी, मोहम्मद रफी, भिम वली, भोज राज शाही, रिता कोइराला लगायतका खेलकुदमा सक्रिय व्यक्तित्वहरु प्रति नतमस्तक छु । कुनै न कुनै बहानामा नेपालगन्जलाई चिनाउने अभियान जारी राख्नुहोला कहिल्लै नथाक्नु होला । (दैनिक नेपालगन्जका नियमित स्तम्भकार कार्की आशीर्वाद पेन्टस्का कार्यकारी अध्यक्ष हुन्)

प्रतिक्रिया

प्रतिक्रिया