खजुरामा बन्ने भो १८ करोड लागतको अस्पताल

१५ शैयाको अस्पतालका लागि १८ करोबढीको बजेट स्टीमेट, यसैवर्ष ३ करोड २३ लाख विनियोजन

शुभारम्भ अघिः खजुरा–३ स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा १५ शैयाको अस्पताल निर्माणका लागि स्थलगत सर्भेअघि आइतवार सामुहिक तस्विर लिंदै पालिका अध्यक्ष किस्मत कक्षपति सहित प्राविधिक टोली । (तस्विरः दैनिक नेपालगन्ज)

बाँकेको खजुरामा १५ शैयाको अस्पताल बन्ने भएको छ । खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले खजुरालाई स्वास्थ्यको हब बनाउन गरिएको प्रयासमा सरकारले सहयोग गरेको जानकारी दिंदै तत्काल १५ शैयाको अस्पताल निर्माणका लागि योजना अघि बढेको बताए ।
खजुरा ३ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ शैयाको अस्पतालका रुपमा विकास गर्न आइतवारबाट स्थलगत सर्भे शुरु गरिएको हो । सरकारले मुलुकभरका ७ सय ५३ स्थानीय तहमध्ये १ सय २२ तहका प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ शैयाको अस्पतालका रुपमा स्तरोन्नती गर्न बजेट विनियोजन गर्न गत भाद्र २४ गते मन्त्रीस्तरीय निर्णय गरेको थियो । त्यसक्रममा बाँकेमा खजुरा गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र छनोटमा परेको हो ।
‘त्यसका लागि १८ करोड ६ लाख ८२ हजार बराबरको लागत स्टीमेट तयार भएको छ,’ आइतवारदेखि स्थलगत सर्भेका लागि प्राविधिक टोलीले काम शुरु गरिसकेको जानकारी दिंदै अध्यक्ष कक्षपतिले दैनिक नेपालगन्जसँग भने, ‘२ हजार ९६२ स्क्वायरफीट क्षेत्रफलमा बनिरहेको अस्पताल जिल्ला अस्पताल सरहका सेवा सुविधा सहितको हुनेछ ।’ बहुवर्षीय योजनाका रुपमा शुरु भएको अस्पताल निर्माण कार्यका लागि यसवर्ष ३ करोड २३ लाखबढी बजेट विनियोजन भइसकेको अध्यक्ष कक्षपतिले जानकारी दिए ।
खजुरालाई जिल्लाकै स्वास्थ्य हबका रुपमा विकास गर्ने अभियानमा नयाँ बन्दै गरेको अस्पतालले सहयोग पुग्ने अध्यक्ष कक्षपतिको भनाइ छ । खजुरा गाउँपालिका अग्रसर भए अनुरुप खजुराका सबै वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र, उपस्वास्थ्य चौकी, स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र र खजुरामै क्यान्सर अस्पताल रहेको उनले उल्लेख गरे ।
खजुराका सामाजिक सुरक्षा भत्तामा सहभागी जेष्ठ नागरिकलाई घरदैलोमै पुगेर हरेक वर्षजस्तो निःशुल्क विशेषज्ञसहितको स्वास्थ्य सेवा प्रदान गर्दै आएको पनि बताएका छन् । खजुराका सबै वडामा स्वास्थ्य चौकी अब आफ्नै भवनमा आवश्यक सुविधासहित सेवा प्रवाह भइरहेको पनि अध्यक्ष कक्षपतिले जनाएका छन् । वडा नम्बर ४ र ६ मा नयाँ स्वास्थ्य चौकी भवन बनाइएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया