कसरी धान्छ अस्पतालले ?

नेपालगन्जमा कोभिड मापदण्डको धज्जी । कोरोना संक्रमण विस्तार नियन्त्रणमा सम्बद्ध सबै गम्भीर हुन अपील


‘दैनिक ५० को हाराहारीमा संक्रमण फैलँदै गयो भने अब अस्पतालले कसरी धान्न सक्छ ?’ भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले आइतवार एउटा कार्यक्रममा गम्भीर मुद्रामा कठोर हँुदै भने, ‘कोरोनाका संक्रमितलाई बरामदामा राखेर उपचार गर्ने दिन नजिंकिंदै छ ।’
कोरोना कहरमा अहोरात्र सेवामा रहेको भेरी अस्पताललाई सघाउन रोटरी क्लब अफ नेपालगन्जले अन्तर्राष्ट्रिय साझेदारीमा रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ बाट प्राप्त पीसीआर मेसिन हस्तान्तरणका लागि गरिएको कार्यक्रममा सबैको चिन्ता कोरोना संक्रमणको विस्तारमा देखियो । ‘सरकारमात्रै वा अस्पताललेमात्रै सोचेर हुन्न,’ अध्यक्ष धितालले भने, ‘सबै पक्ष गम्भीर हुनुपर्छ ।’
त्यसअघि सोही मञ्चबाट भेरी अस्पतालमा कोभिड विशेष विभागको नेतृत्व गरिरहेका डा. श्यामसुन्दर यादवले बाँकेवासीका लागि कम्तिमा ५ सय शैयाको अस्पताल अपरिहार्य रहेको बताए । ‘जुन हिसाबले संक्रमण फैलिइरहेको छ, निकै जोखिम देखिएको छ,’ दोहोरो मास्क लगाएर मञ्चासीन वरिष्ठ चिकित्सक डा. यादवले गम्भीर हुँदै भने, ‘हामीलाई तत्काल ५ सय बेडको अस्पताल तयार अवस्थामा राख्नुपर्छ ।’ डा. यादवले रोटरी लगायतका सामाजिक संस्था, राजनीतिक दलहरुले जनतामाझ सचेतना फैलाउने काममा तत्काल परिचालित हुनुपर्ने सुझाव डा. यादवको थियो ।
भेरीमा यतिबेला ७२ शैयाको कोभिड विशेष अस्पताल सञ्चालनमा छ । ‘भरिभराउ छ,’ अस्पतालका प्रमुख डा. प्रकाश थापाले दैनिक नेपालगन्जसंग भने, ‘लक्षणसहितका संक्रमित बढिरहेकाले थप ७५ बेडका लागि काम अगाडी बढिरहेको छ ।’
यतिले नपुग्ने डा. यादवको भनाइ छ । संक्रमण विस्तार रोक्न सचेतना र संक्रमित उपचारका लागि अस्पताल निर्माण कार्य संगसंगै लैजानुपर्ने सुझाव दिंदै डा. यादवले दैनिक नेपालगन्जसँग भने, ‘बजार हेर्नुस् त न मास्क लगाउँछन् न त मानिसहरुले दुरीनै बनाएर सावधानी अपनाएका छन् ।’
बाँकेमा भेरीसँगै नेपालगन्ज मेडिकल कलेजले शिक्षण अस्पताल कोहलपुरमा सय शैयाको कोभिड विशेष अस्पताल सञ्चालन गरिरहेको छ । दैनिक संक्रमण दर विस्तार हुँदै जाँदा अस्पतालको क्षमताले नभ्याउने भन्दै अत्यावश्यकबाहेक घर बाहिर ननिस्कन र निस्कनै परे अनिवार्य मास्क सहित दुरी बनाएर काममा जान, मापदण्डको पालना गर्न सरकारले अपील गर्दै आएको छ । तर, नेपालगन्जमा अटेरी भैरहेको छ ।
( अटेरीको यो हद, नेपालगन्जको पछिल्लो अवस्था, अब हेर्नुस् भिडियो)

प्रतिक्रिया

प्रतिक्रिया