अन्यायमैं टुंगिएको महिला हिंसाको कथा

पतिको निराधार शंका र षढ्यन्त्रले सकिएको बैवाहिक जीवनसँगै माइतीले दिएको लाखौंको दाइजो पनि सकियो । अन्ततः भारत बहराइच जिल्लाको बाबागंजमा दोस्रो विवाह गरिन्, हाल उनको काखमा एउटी छोरी पनि छिन् । समीना परीक्षा दिन गइसकेपछि पति र उनका घरकाले के षड्यन्त्र गरे ?


पुरैनाका नातादारले कुरा चलाएपछि समीना खातुन (नाम परिवर्तित) को विवाह बाँके रनियापुर सलीम अहमद (नाम परिवर्तित) संग दुबै पक्षको परिवारको सहमति र राजीखुशीले सात वर्ष अघि भयो । उनीको निकाह, गौनाथौना गरि जम्मा तीन वर्ष मात्र चल्यो बैवाहिक जीवन । यस बीच उनीहरुको कुनै सन्तान भएन, जसका कारण उनलाई आफ्नो जीवनलाई अगाडि बढाउने निर्णय लिन खासै अडचन भएन् ।
समीना खातुनकी दिदी सजरुन निशाका अनुसार, उनी पाँच दिदी बहिनी र चार दाजु भाई गरी नौं जना मध्ये सातौं स्थानमा थिइन् । समीना भन्दा एक भाई र एक बहिनी मात्र साना थिए जो अविवाहित थिए ।
नातादारले कुरा चलाएपछि १७ वर्षीया समीनाका अभिभावकले विवाहमा छोरीलाई आफ्नो हैसियत अनुसारको दाइजो दिएर पठाए ।
विवाह पश्चात केही दिन त ठीकै चल्यो । तर, केही समय बित्दा उनीमाथि पतिले लान्छना लगाउन प्रताडित गर्न सुरु गरे । उनको माइतीघर अगाडि नै धान मिल थियो जसमा गाउँलेहरु धान कुटाउने गर्थे । त्यही धान मिललाई आधार बनाइ पतिले निराधार आरोप लगाउन थाले कि तिम्रो घर अगाडि मिल छ जहाँं अनेकौं आउछंन्, तिनीहरुसंग तिम्रो माया प्रेमको चक्कर जरुर छ होला ।
निर्दोष समीनाले हरेक पटक यो विषयमा आफु दोषी नहरेको र त्यस्तो कुनै मायाप्रेमको सम्बन्ध कसैसंग नहेको हारगुहार गर्दै गुजारा गरिरहिन् । उनी विद्यालयमा परीक्षा दिन जानेबेला पनि पतिले उनलाई सुनाउथे कि, ‘तिमी परीक्षा भन्दा प्रेमीहरुलाई भेट्न जान्छौ ।’ केही समय पछि समीनालाई शंका लाग्यो कि उनका पति लागु औषध सेवन गर्छन् जसले गर्दा उनको चांदीको सिक्री बेचेर त्यो रकम आफुले खर्च गरिहाले ।
यस कारण दुबै पट्टीबाट पाएका सम्पूर्ण गरगहना उनले आफ्नी नन्दलाई सुरक्षित राख्न दिइन् । तर, नन्द (श्रीमानको निधनपछि आफ्नो माइतीमा बस्दै आएकी थिइन्) संग रहेमा सुरक्षित रहला उनको यो सोंच उल्टो साबित भयो । किन भने केही महिना पछि उनी गहना नलिइ परीक्षा दिन माइत गइन् । बिडम्बना, त्यही मौका छोपेर समीनालाई घर फिर्ता नलाने श्रीमानको योजना सफल त भयोनै नन्दले राखेका गहनापनि कब्जा गरिए । बाध्य समीना सरसामान दाइजो गरगहना नै फिर्ता पाऊँं भन्दै प्रहरीमा निवेदन देखि अदालतसम्म धाइन् । तर उनीहरु भारतीय मूलका नागरिक रहेकाले यहांको भाषा र अदालती काम कारबाही नबुझ्ने हुँदा न उनले यहांका वकिल र नेपाली कानूनी व्यवस्था बारे केही बुझ्द्थे न कसैले उनलाई बुझाउने प्रयास गर्यो न सहयोग नै गर्यो । अन्तमा हार मानेर उनीहरु मुद्दा प्रकृया नै छाडिदिए त्यसपछि उनी न सरसामान पाइन् न त फर्केर आइन् । पतिको निराधार शंका र षढ्यन्त्रले सकिएको बैवाहिक जीवनसँगै माइतीले दिएको लाखौंको दाइजो पनि सकियो । अन्ततः भारत
बहराइच जिल्लाको बाबागंजमा दोस्रो विवाह गरिन्, हाल उनको काखमा एउटी छोरी पनि
छिन् । समीना परीक्षा दिन गइसकेपछि पति र उनका घरकाले के षड्यन्त्र गरे ? उनी परीक्षा दिन सकिन् ? उनको जीवनमा परीक्षा पछि के के भयो ? यी यावत प्रश्न उठ्यो होला सबैको मनमा । यस आलेखमा यी सारा कुरा बारे जानकारी लिन उनको दिदीसंग भेट गरी छलफल गरे पश्चात उनले दिएका जवाफ उनको अनुमति लिई आज यो कुरा प्रस्तुत गरिएको छ ।
तपाईले दैनिक नेपालगन्जमार्फत समीनाका कथा किन ल्याउन चाहनु भयो ?
मैले दैनिक नेपालगन्ज पत्रिकाको यस अंकमा आफ्ना कुरा राख्नुको मुख्य कारण त्यो घटनामा पर्दा पछाडिका सत्यतथ्य सबैले थाहा पाऊन् कि वास्तवमा समाजभित्र के भइरहेछ जुन कि नहुनु पर्ने थियो । जसले गर्दा कति घरबार बर्बाद भइसके र अझै हँुदैछन् ।

के तपाईलाई कुनै घरायसी समस्या भोग्नु परेको छ ?
होइन् , मलाई त त्यस्तो समस्या भोग्नु परेन तर मेरी बहिनीले समीनाले भोगिन् । म आफ्नी बहिनीले भोगेका समस्या र त्यो घटना बारे जानकारी गराउन चाहन्छु । जस्ता घटना बारे कसैले आवाज उठाउदैंन् तर त्यस्ता समस्या दिन का दिन बहिनी समीना जस्तै हजारौं महिला दिदीबहिनीहरु भोग्दै छन् ।

घटनाको प्रारम्भमा के भयो ?

बहिनी समीनाको विवाह भएर रनियापुर बासी सलीम अहमदका घर आइन् । दुई वर्ष सम्म जसोतसो गरी वैवाहिक जीवन चल्यो तेस्रो वर्षमा बहिनी परीक्षा दिन माइत गइन् । उनी माइत गएकपछि नै षड्यंत्रका सबै तानाबाना बुनियो ।
कस्तो षड्यन्त्रको तानाबाना बुनियो र कसले बुन्यो त ?
उनी माइत गए पश्चात बहिनीको पति सलीम अहमद र उसको परिवारले बुनेका थिए । उनीहरुले बहिनी माइत गएको मौका छोपेर उनको पतिका लागि अर्की केटी खोज्न सुरु गरे र विवाह तय गरे ।
विवाह पनि त्यही गाउँमा खोजे जहाँ मेरो र बहिनीको माइत थियो त्यहाँं विवाहका लागि चाहिने जुन कपडा सरसामान मेरै बहिनीको नयाँ र प्रयोग नगरिएका थिए तिनै कपडा र सरसामान लगेर गएका थिए । जन्ती लिएर गए बहिनीले थाहा पाएपछि उनी विवाह रोक्न त्यही विवाह हुने स्थान पुगिन् विवाह पनि त्यसपछि रोकियो । प्रहरी पनि आयो प्रहरीले सबै घटना थाहा भइसकेपछि उसलाई लग्यो त्यतिखेर तर केही समयमै उसको नातादारहरुले छुटाएर ल्याइ हाले ।

अनि तपाईकी बहिनी माइतबाट आफ्नो पतिको घर फिर्ता आइन् ?
कहाँं आउनु उनीहरुले बहिनीलाई त्यही छाडेर आइहाले र यहाँं आएर झन् उसमाथि विभिन्न लान्छनाहरु लगाउन सुरु गरे । अनि अब त्यस्तीलाई बुहारी स्वीकार गर्दैनौ भनी त्यसपछि आफ्नो छोराको अर्को विवाह अन्तै गरिदिए ।

त्यसपछि तपाईकी बहिनीले के गरिन् त ?

उनीले त माइतमा बसेरै आफ्नो पढाई निरन्तर गरिन् र छोरीलाई कहिले सम्म घरमा बसालेर राख्ने बरु उसको घर पठाइने भनी बुवा दाईभाईले पटक पटक सम्पर्क गरी छलफल गर्न खोजे तर तिनीहरु तयार भएनन् ।

अनि के भयो त ?
त्यसपछि बुवालाई माइतीतिरका घरपरिवार र नातादारले छोरीलाई जब उसले लग्दैन् भने छोटपत्र गराइ बरु अन्तै विवाह गरिदेऊ भन्ने दबाब बढ्यो । केटोलाई घर लग्दैनौ भने मेरी छोरीलाई तलाक देउ भनेर धेरै पटक बुवाले आग्रह गरिरहँदा तलाक दिन मानिरहेको थिएन । धेरै भनसुन पश्चात मुश्किलले फोन मार्फत तलाक दिएपछि बहिनीको भारत मै विवाह गरियो ।

अनि अहिले उनको जीवन कसरी बित्दैछ ?
अहिले उनी एक छोरीकी आमा भइसकेछिन् उनलाई खाना लाउन कुनै समस्या छैन् तर बहिनीको विवाह गर्दा पहिला सकेजति दाइजो दिंदाको खर्च र उनको पढाइमा खर्च गरिसकेपछि त्यति दाइजो दिन सकिएन् । त्यसकारण यसपालि दाइजो केटा पक्षले गरेका अपेक्षा जतिको दाइजो दिन नसक्दा अहिले उनलाई त्यहां पनि दाइजोका लागि मानसिक यातना दिइने गरेका छन् । समीनाको पीडा सुन्दा भक्कानिन (रुन) मन लाग्छ ।
अन्तमा केही भन्नु छ ?
म यति मात्र भन्छु कि शंकाले लंका जलाउंँछ यस कारण कुनै पनि विषय होस् पति पत्नीले आपसी समझदारीमा समाधान खोज्नुपर्छ । भनिन्छ, पत्नी पतिको आधा अंग हुन्छिन् । पतिले आफ्नो अर्धांगिनी माथि विश्वास गर्नुपर्छ एक अर्का बीच समझदारी कायम गरिनुपर्छ । वैवाहिक नाता एक यस्तो नाता हो जुन विश्वासको भरमा टिकेको हुन्छ यसकारण पति होस् वा पत्नी होस् एक अर्का माथि शंका गर्नु हुदैंन् ।

यदि समुदाय स्तरमा हेर्ने हो भने समीना जस्ती हजारौं महिला भेट्नेछिन् जसको न घरबार छ, जसले न न्याय पाइछिन् न उनले कानूनी अधिकार र सम्पतिमा अंश नै पाउँछिन् । यसरी विवाह पश्चात पत्नीको हक नपाउने कारण अनेक होलान् । ती मध्ये मुख्य कारण पुरुष प्रधानता, सामाजिक परिवेश, मुल्यमान्यता र रोटीबेटीको सम्बंध हुदां नेपाल भारतको फरक कानूनी व्यवस्था आदि हुन् । शंका, दाइजो र अन्य कारणले घर टुटेपछि न्याय न पाउने महिलाहरुमा ती छिन् जो नेपाली चेली भारतमा विवाह भइसकेपछि त्यहांको कानून बारे जानकारी नहुनु र भारतकी चेली नेपाली बुहारी भएर आउदा यहाँंको कानून बारे त्यहांकी चेलीलाई जानकारी र भाषाको ज्ञान नहुनु आदि हो ।

घरबार टुट्ने शंका, दाइजो वा अन्य कारण भए नि चेली भारतीय भए नि नेपाली भए नि समस्यामा पर्ने पीडित हुने भनेको महिला नै हुन्छिन् । त्यसतर्फ सम्द्धहरुको ध्यानाकर्षण जरुरी छ ।

प्रतिक्रिया

प्रतिक्रिया