बाँकेमा कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले रास्ट्रसेवक कर्मचारीहरुले एक दिनको तलब जम्मा गर्ने निर्णय गरेको सार्वजनिक गर्दै भने, इच्छुक असल नागरिकले कोभिड अस्पताल स्थापनाको लागी भेरी अस्पताल बिकास समितिको रा.बा. बैंकको खाता नं. ४१३०२०७०००७०१ मा रकम जम्मा गर्न अनुरोध छ । भेरी अस्पतालमा कोरोना अस्पताल स्थापनाको लागि बाँकेका प्रजिअ कुरुम्वाङले त्यसो भनिरहँदा नेपाल रास्ट्र बैंक नेपालगन्जका कर्मचारीबाट ५० हजार रुपिया संकलन गरि हस्तान्तरण गरेका छन् ।

लक्षण सहितका विरामी संख्या देखिन थालेपछि नेपालगन्जमा तत्काल सुविधा सम्पन्न कोरोना अस्पतालको आवश्यकता महसुस गर्दै सामुदायिक सहयोग जुटाउन थालिएको छ । भेरी अस्पतालमैं कोरोना उपचारका व्यवस्थामा लागेको बेला आवश्यक पूर्वाधारका लागि तत्काल रकम अभाव भएपछि समुदायस्तरमा सहयोग जुटाउन थालिएको हो । अस्पतालमा नयाँ पूर्वाधारका लागि एक पैसा छैन, खाता अख्तियारले सिल गरेको छ, यस्तो बेला कुनै आपत आइलाग्यो भने तयारी नगर्ने ? अभियानमा जुटेका चिकित्सकहरु भन्छन्, यतिबेला हामीले नगरे कस्ले गर्छ ? अहिले नगरे कहिले गर्ने ?
भेरी अस्पतालमा सय शैयाको कोभिड वार्डका लागि तत्काल अस्पताल विकास समितिको खातामार्फत आवश्यक व्यवस्थापनमा लागिएको हो । हामीलाई पैसा होइन, सामानको सहयोग भए पुग्छ, अस्पतालका प्रमुख डा. प्रकाश थापाका अनुसार, कोरोना अस्पतालको व्यवस्थापनका लागि वरिष्ठ चिकित्सक डा. श्यामसुन्दर यादवको नेतृत्वमा चिकित्सकहरुको टिम सक्रिय छ ।
कम्तिमा ३० बेडको आइसियु, भेन्टिलेटर सहितको सय बेड तयार गर्ने लक्ष हो, कोरोना अस्पतालका लागि सहयोग जुटाइरहेका व्यवस्थापन समितिका संयोजक डा. यादवले दैनिक नेपालगन्जसँग भने, भेरीका डाक्टर कर्मचारी मात्रै होइन सिडियो साबले निकै सहयोगका साथ लागिरहनु भएको छ । प्रजिअ कुरुम्वाङले यसैसाता कम्तिमा २५ लाख सम्म जुटाउने योजना अघि सार्दै जिल्लावासी सबैले सहयोग गर्नुपर्ने बताए । यतिबेला नगरे कहिले गर्ने ? प्रजिअ कुरुम्वाङले दैनिक नेपालगन्जसँग भने, एकसाता भित्र तयार गर्न सकियोस् भन्ने चाहना हो ।
भेरी अस्पतालका पूर्व प्रमुख समेत रहेका डा. यादवले सरकारको पैसा खर्च गर्न झन्झट र प्रक्रियागत समय पनि लाग्ने भएकाले यस्तो बेला समुदायबाट सहयोग जुटाउन खोजिएको बताए । अप्ठ्यारो परेका बेला जनताले साथ दिनुपर्छ नि, डा. यादवले भने, हामी सरकारी डाक्टरनै भएकाले रात दिन लागेका छौं । अस्पतालका लागि स्थानीय तहबाट उपलब्ध १० लाखले अक्सिजन पाइपलाइन बिछ्याउन लागिएको छ । डा. यादवका अनुसार, प्रत्येक बेडमा अक्सिजन पाइप रहनेछ । वातानुकुलित हुने अस्पतालका लागि एसी निजी क्षेत्रका स्वास्थ संस्थाबाट सहयोग जुट्दैछ ।
कम्तिमा ५० बेड तयार गरिसकेर अपरेशनमा ल्याउने योजना रहेको डा. यादवको भनाइ छ । कम्तिमा ८ वटा भेन्टिलेटर, आइसियु तयार गरेरमात्र सन्तोष गर्न सकिन्छ, डा. यादवले भने, सबैतिरबाट सहयोगको आश्वासन आइरहेको छ । अस्पताल प्रमुख डा. थापाले सय बेड तयार गर्न सकिए सरकारबाट थप जनशक्ति मागेर सुविधा सम्पन्न अस्पताल सञ्चालन गर्न सकिने बताए । भेन्टिलेटरका लागि सरकारसँग पनि माग गरिएको छ । तर, सरकारको आश गर्दा समय लाग्छ, डा. थापाले भने, त्यसैले स्थानीय सहयोग आवश्यक देखिएको हो ।
भेन्टिलेटरको डेढ करोड फ्रिज
यसैबीच, भेरी अस्पतालमा भेन्टिलेटर खरिदका लागि सांसद विकास कोषबाट उपलब्ध गराइएको डेढ करोड रुपिया फ्रिज भएको छ । नेपालगन्ज उपमहानगरपालिका मार्फत भेरी अस्पताललाई दिइएको डेढ करोड रुपैयाँ उपमहानगरको बेवास्ताले गर्दा फ्रिज भएको प्रतिनिधि सभा सदस्य मो. इश्तियाक राईले जानकारी दिएका हुन् ।
कोभिड १९ जस्तो भयावह महामारीको समयमा अतिआवश्यक मानिने भेन्टिलेटर खरिदका लागि दिइएको रकम उपयोग नगरिएको भन्दै सांसद राईले सो रकमबाट भेन्टिलेटर खरिद गरिएमा त्यसको राजनीतिक लाभ अरुले पाउने ठानेर नेपालगन्ज उपमहानगरपालिकाले जानी जानी बेवास्ता गरेको आरोप लगाए । भेन्टिलेटरको अभावमा कुनै पनि जिल्लावासीको ज्यान गएमा त्यसको जिम्मेवारी उपमहानगरले लिनु पर्ने दावी सांसद राईको छ ।
स्थानीय विकास पुर्वाधार साझेदारी विकास कार्यक्रम अन्तर्गत क्षेत्र नम्बर २ मा छनोट गरिएका तीन वटा योजनाको ठेक्का हुननसकेकोले फ्रिज हुन लागेको सो रकमलाई समय रहँदै महामारीको बेला सर्वसाधारणको उपचारका लागि खर्च गर्ने उदेश्यले उपमहानगर मार्फत भेरी अस्पताललाई दिने निर्णय गरिएकोमा उपमहानगरले जानी जानी सो रकमको अख्तियारी नलिएको पूर्वमन्त्री राईले दावी गरेका छन् ।








