बाँकेको नरैनापुर गाउँपालिकामा कोभिड १९ का संक्रमित बढ्दै जाँदा सेना पठाउन गृहकार्य थालिंदै गर्दा नेपाल प्रहरीको एउटा चौकीनै शिल गरिएको छ ।
जिल्लामा १४४ जनामा संक्रमण पुष्टि हुँदा नरैनापुर गाउँपालिकामा मात्रै संख्या १ सय १४ पुगिसकेको छ । त्यसबीच नरैनापुरकै कालाफाँटा प्रहरी चौकीमा एक जना प्रहरी जवानलाई संक्रमण देखिएपछि चौकीनै शिल गरिएको बाँके प्रशासनले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी हरी प्याकुरेलले संक्रमितलाई आइसोलेसन र अन्यलाई क्वारेन्टाइनमा राखिएकोे जानकारी दिए । जसमध्ये २७ जना शनिबार थपिएका हुन् भने एक जनाको यसअघि मृत्यु भैसकेको छ । राप्ती विज्ञान प्रतिष्ठान दाङमा गरिएको स्वाब परीक्षणको क्रममा २७ जनामा कोभिड पुष्टि भएको हो । सबैलाई आइसोलेसन अस्पतालमा व्यवस्थापन गरिसकिएको सहायक प्रजिअ प्याकुरेलले बताए ।
बाँकेमा विकट मानिएको नरैनापुमा अहिलेसम्म क्वारेन्टाइनमा रहेकाहरुको स्वाब संकलन र परीक्षण भैरहेको छ । भारतबाट पालिकामा आउने नागरिकको संख्या अझै पनि हजारौं हुनसक्ने अनुमान गरिएको छ । त्यसैले नरैनापुर गाउँपालिकाले भारतबाट आउने मध्ये महाराष्ट्र र दिल्लीबाट आउनेको संख्या बढी हुने भएकाले संक्रमित भएर आउनेको संख्या बढी हुने अनुमान गरेको छ ।