रोजा बस्दै हुनुहुन्छ ? ख्याल गर्नुस्

या अल्लाह, कृपया हाम्रो पापहरू माफ गर्नुहोस् र विश्वलाई निको पार्नुहोस्, मेरो रमजानको पहिलो प्रार्थना, शनिवार एकाबिहानै नेपालगन्जका मुस्लिम युवा मोविन सिद्दीकीले सामाजिक सञ्जालको आफ्नो निजी पेजमा लेखे ।


उनै मोविनले अघिल्लो दिन रमजान शुभकामना दिंदै भनेका छन्, पवित्र महिना रमजान इस्लामको पाँच खम्बा मध्ये एक हो र सबै मुस्लिमलाई उपवास र सर्वशक्तिमान अल्लाहको प्रार्थना गरेर उनीहरूको मन, शरीर, हृदय र आत्मालाई शुद्ध गर्ने ठूलो अवसर हो । रमजानले केवल उपवासको लागि मात्र होइन तर, सबै मुसलमानहरूले पनि आत्मबलिमा आफूलाई समर्पण गर्नुपर्दछ । जस्तो कि, पेय वा खाना र शारीरिक आवश्यकताहरू नहेर्नुहोस्, गल्तीहरूका लागि क्षमा माग्नुहोस् र अल्लाहमा आफूलाई समर्पण गर्नुहोस् ।

यतिबेला विश्वभर फैलिरहेको कोरोना भाइरसको संक्रमणले सन्त्रास फैलाइरहँदा इस्लाम धर्मावालम्बीहरु अहिले रमजान मनाउँदैछन् । शनिवारबाट शुरु भएको रमजानमा अबको एक महिनासम्म मुस्लिम समुदाय दिभर उपवास बस्ने गर्छन् । त्यही उपवासको शुरुवातमा मोविनले आफ्ना इश्वरसँग प्रार्थना गरेका हुन् ।

पवित्र महिनाका रुपमा लिइने यस रमजानमा मुस्लिम समुदायका मानिसहरुले एक चन्द्रमासदेखि सूर्योदयसम्म केही पनि नखाइकन रोजा अर्थात् उपवास बस्ने गर्छन् । जानकारका अनुसार, रोजा राखेको समयमा उनीहरु नमाज पढ्छन्, आफ्नो र विश्व शान्तिकालागि प्रार्थना गर्छन् ।
यस्तो बेला रोजा बस्दा विशेष हेक्का राख्न चिकित्सकहरु सुझाउछन् । कुनै पनि शारीरिक वा स्वास्थ्य समस्या भएका बाहेक इस्लाम धर्म मान्नेहरु हरेक व्यक्तिलाई रोजा राख्न अनिवार्य हुन्छ ।

आफैपनि रोजा बसेका डा. रोमन किदवाईका अनुसार, कोरोना भाइरसको महामारीसँगै रोजा बस्नेहरुले कतिपय कुरामा विशेष ख्याल राख्नुपर्छ । त्यसो भनिरहँदा नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पताल नेपालगन्जका निर्देशक डा. किदवाईले रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने अवस्थामा रोजा शुरु गर्नुअघिको खाना (सेहरी) र रोजा खोलेपछिको खानामा विशेष ध्यान दिन आग्रह गरे । केही अध्ययनहरुले बिना केही खाएर बस्दा मानिसमा हुने निष्कर्ष निकालेकाले यस्तो अवस्थामा संक्रमणबाट बच्न चाहिने उर्जामा कमी आउन सक्ने जोखिम विद्यमान छ ।

सादा खाना र फलफूलमा जोड दिएका डा. किदवाईले रमजानमा खान हुने समयमा शरीरलाई आवश्यक पर्ने क्यालोरी युक्त खानेकुराहरु खानुपर्ने सुझाव दिंदै दैनिक नेपालगन्जसँग भने, चिसो पेय र फ्राइड खाना पुरै बन्द गर्नुस्, नरियल पानी, फलफूल, दाल, तरकारीको सेवन गर्नुस् । रोजाको समयमा धेरै समय बिना खानपिन बस्ने हुँदा उपयुक्त समयमा प्रोटिन युक्त खानेकुरा खान उनको सुझाव छ ।


विरामी, अशक्त र बालबालिकालाई रोजा जरुरी छैन । डा. किदवाई भन्छन्, भोलि महामारीको अवस्था आयो भने हामी फिल्डमा खटिने चिकित्सकहरु पनि रोजामा बस्न नसक्ने अवस्था आउँछ । कोरोना भाइरससँग लड्न आफ्नो इम्युन सिस्टम बलियो बनाउनुपर्ने भएकाले चिकित्सकले पनि ख्याल गर्नैपर्छ ।

स्वस्थ मानिसले रोजा बस्दा शारीरिक विकार कम गर्न मद्धत पुग्ने चिकित्सकहरुको भनाइ छ । रोजाका क्रममा मानिसहरु बिना खानपिन बस्ने हुँदा आफ्नो धर्म पालना गर्दै स्वास्थ्यको ध्यान दिन चिकित्सक भन्छन्, यसले मानिसमा रहेका बिकार घट्छन् । डा. किदवाईले धार्मिक मान्यतामात्र नभइ वैज्ञानिक दृष्टिमा पनि महिनाभरिको उपवासले गलत बानी माथिको नियन्त्रण र शरिरको सुद्धिकरणमा निकै राम्रो सहयोग पुग्छ ।

प्रतिक्रिया

प्रतिक्रिया