
नेपाल भारत सीमानाको नेपालगन्ज नाकास्थित दशगजामा दुधेबालक सहित १४ जना नेपाली अलपत्र परेका छन् । दुई महिला सहित सुर्खेत र दैलेखका उनीहरुलाई दिनभर सिमापारि भारतीय बजार रुपैडिहामा रोकी रातीपख नेपालतर्फ पठाइएको हो ।
मध्यरात, यो समाचार तयार पारुन्जेलसम्म उनीहरु दशगजामा अलपत्र छन् । सीमास्थित इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज माधव रिजालले अहिलेसम्म उनीहरुलाई नेपाल ल्याउन कोशिश भइरहेको बताए ।
उनीहरुलाई कसरी नेपाल ल्याउने भन्ने बारे स्थानीय प्रशासन अन्योलमा देखिन्छ । नेपालगन्ज उपमहागरपालिकाले अग्रसरता लिन सकेको देखिन्न भने प्रहरीले लिएको पहल सफल छैन ।
उनीहरुलाई लिन आएको एम्बुलेन्स खाली फर्कियो, सीमास्थित स्थानीयवासी एक प्रत्यक्षदर्शीले भने, सशस्त्र र नेपाल प्रहरीबीच समस्या देखिएको छ । प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले उनीहरु सीमामा कसरी आइपुगे भन्नेमा आफु आश्चर्यमा परेको बताए । आज बुधवारदेखि जो जहाँ छ त्यहीं रहनेगरि भारतभरि लकडाउन छ । नेपालले हिजो अन्तिम मौका भन्दै ९२ जनालाई रुपैडिहा नाकाबाट उद्धार गरेको थियो ।
हेरौं कसरी के गर्न सकिन्छ गरौंला, राती ११ बजे आवश्यक परामर्श गरिरहेको जानकारी दिंदै प्रजिअ खड्काले नेपालगन्ज न्यूजसँग भने । नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरले सम्बन्धित ठाउँहरुमा आफुले उद्धार तथा व्यवस्थापनका लागि कुरा गरिसकेको बताइन् । बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक वीर बहादुर ओलीले आवश्यक समन्वय गरिरहेको बताए ।
सम्बद्ध स्रोतका अनुसार, भारतमा कोरोना भाइरसको संक्रमण निकै फैलिसकेकाले अब आउने जो कसैलाई क्वारेन्टाइनमा राख्नुपर्नेछ । त्यसका लागि नेपालगन्जको धम्बोझीस्थित एउटा होटलमा क्वारेन्टाइन व्यवस्था गरिएपनि स्थानीयवासीको बिरोधपनि उनीहरु दशगजामै अलपत्र बस्नुपरेको हो ।











