यतिबेला विश्व कोरोना भाइरस संक्रमणको सन्त्रासमा छ । विश्व स्वास्थ्य संगठनले कोरोनालाई महामारी घोषणा गरिसकेको छ । छिमेकी राष्ट्र चिनबाट देखिएको कोरोनाको सन्त्रासले बिहीबार मात्रै दक्षिण छिमेकी राष्ट्र भारतको राजधानी दिल्लीमा ‘महामारी’ को जोखिम निम्त्याउने भन्दै पूर्व सतर्कताका लागि ठूलो तयारी घोषणा भएको छ ।
भारतमा बिहीबारसम्म कोरोना पोजेटिभ भेटिनेहरुको संख्या ७३ पुगेको छ । नेपालसँग सीमा जोडिएको उत्तरप्रदेशमा हालसम्म ११ वटा कोरोना पोजेटिभ बिमारी भेटिएका छन् । महाराष्ट्रमा ११ र दिल्लीमा ६ जना कोरोना पोजेटिभ भेटिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
यीनी दुवै देशको बीचमा रहेको नेपाल, खुला सीमा नाकासँग जोडिएको नेपालगन्ज यी सबै सन्त्रासबाट बेखबर जस्तै देखिन्छ । यतिबेला यो महसुस हुन्छ, जब तपाई नेपाल–भारत सीमानाको जमुनाह नाका पुग्नुहुन्छ । ‘दैनिक ८÷१० हजारको आवागमन हुन्छ’, नेपालगन्ज जमुनाह नाकामा रहेको नेपाल प्रहरी, जमुनाह चौकीका इन्चार्ज माधव रिजालले भने । नाकाबाट आवागमन हुनेहरुको संख्या दिनहुँ घट्दो छ । ‘निरन्तरको भन्दा २५ प्रतिशत कम आवागमन भैसकेको छ’, रिजालले भने ।
नेपालगन्ज नाका अति व्यस्त नाका मध्ये पर्छ । दिल्लीबाट नजिकैको यो नाका प्रयोग गरेर सयौं उद्योग, धन्दा, कलकारखानाले मालसामान आयात गर्छन् भने रोजगारीका लागि भारत जाने र आउने नेपालीहरुको संख्याहरु पनि उत्तिकै रहेको छ । ‘२ हजार ६ सय ८७ जनाको स्वास्थ्य चेकजाँच गरिएको छ’, जमुनाहमा राखिएको हेल्थ डेस्कमा दुई सातायताको तथ्यांक जानकारी दिंदै नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य प्रमुख राम बहादुर चन्दले भने, ‘शंकास्पद मानिसलाई मात्रै चेकजाँच गर्ने गरिएको छ ।’
जुन नाकाबाट दैनिक ८/१० हजार मानिस ओहोरदोहोर गर्छन् त्यही नाकामा डेढ सातामा हेल्थ डेस्कले चेकजाँच गरेको संख्या ३ हजार पुगेको छैन । दैनिक नेपालगन्ज टोली बिहीबार नाकामा स्थलगत पुग्दा नेपाल प्रहरी र सशस्त्र प्रहरी मालसामान चेक गर्नमा व्यस्त देखिन्थ्ये । त्यतिबेलै पूर्णागिरी लगायत धार्मिक यात्रा सकेर नेपाल प्रवेश गर्दै गरेको एउटा भारतीय बसका चालक उत्रिए । नाम विवरण लेखाएर सरासर बस नेपाल प्रवेश गराए । त्यतिबेला हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मी आपसमा सम्वादमै व्यस्त देखिन्थ्ये ।
नेपालगन्ज नाकाबाट मात्रै दैनिक १० वटा गाडी सोझै दिल्ली, लखनउ, हरिद्वारका लागि ओहोरदोहोर गर्छन् । बागेश्वरी यातायात प्रा.लि.का अध्यक्ष राजेन्द्र गिरीले नेपालगन्जबाट दिल्लीका लागि २, लखनउ र हरिद्वारका लागि १÷१ गाडी दैनिक पठाइने गरेको बताए । ‘त्यहाँबाट त्यति नै गाडी यात्रु लिएर आउँछन्’, उनले भने, ‘अहिलेसम्म रोकटोक गरिएको छैन ।’
‘प्रहरीको सहयोग बिना दुई जना स्वास्थ्यकर्मीबाट मात्रै यति ठूलो संख्यामा सबैको चेकजाँच सम्भव छैन’, त्यतिबेलै नाकाको स्वास्थ्य अवस्था अनुगमनमा पुगेका स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले दैनिक नेपालगन्जसँग भने, ‘सहायक नाकाहरुमा बरु चेकजाँच राम्रो छ ।’ नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य विभाग प्रमुख चन्दले संक्रमणको प्रभाव रहेका भारतका विभिन्न ठाउँबाट आएका व्यक्तिहरुलाई चेकजाँचको मुख्य बिन्दु मानिएको जानकारी दिए । ‘दिल्ली, आगरा लगायतका ठाउँबाट आएका व्यक्तिहरुलाई चेकजाँच गर्ने गरिएको छ’, चन्दले भने, ‘खासगरी १ सय ४ डिग्री भन्दा माथि ज्वरो आएकाहरुलाई अनिवार्य रुपमा चेकजाँच गरिएको छ ।’
चन्दले त्यसो भनिरहँदा हजारौंको संख्यामा नेपाल प्रवेश गरिरहेकाहरुको ज्वरो वा संक्रमणको मापन कसले गर्ने ? यो अनुत्तरित प्रश्न छ । ‘लामो दुरीबाट आएकाहरुलाई हामी लाइन लगाएर चेकजाँचका लागि पठाउँछौं’, इप्रका जमुनाह इन्चार्ज, प्रहरी नायब निरीक्षक रिजालले प्रहरीले सहयोग गरिरहेको तर्क गर्दै भने, ‘चेकजाँच आवश्यक परेकाहरुको पहिचान गरेर हेल्थ डेस्कमा पठाइरहेका छौं ।’
सबैभन्दा विडम्वनाको कुरा त के हो भने नाकामा स्वास्थ्यका दुई जना कर्मचारी मात्रै छन् । उनीहरुसँग तापक्रम मापन गर्ने इन्फाइट थर्मोमिटर एउटा मात्रै छ । ‘निरन्तर धेरैको चेकजाँच गरिएको भने ब्याट्री सकिन्छ भन्ने डर छ’, स्वास्थ्यकर्मी भन्छन्, ‘यति ठूलो संख्याको चेकजाँचमा एउटा मेसिनले कति काम गर्न सक्ला ?’ नगर स्वास्थ्य प्रमुख चन्द यो प्रश्नको जवाफ यसरी दिन्छन्, ‘हामी कम्तिमा ३ वटा थप थर्मोमिटरका लागि केन्द्र र प्रदेश सरकारसँग माग गरिरहेका छौं’, चन्दले भने, ‘मेसिन उपलब्ध भयो भने हामीसँग जनशक्तिको अभाव छैन ।’ नेपाल प्रहरी र सशस्त्रसँगको समन्वयका लागि तत्तत् निकायका प्रमुखहरुसँग निरन्तर अनुरोध गरिएको चन्दले बताए ।
बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले कोरोनाको संक्रमण विरुद्धको सचेतना र संयन्त्र पर्याप्त भैरहेको बताउँछन् । ‘जमुनाह, नरैनापुर र एयरपोर्ट लगायतका नाकाहरुमा हेल्थ डेस्क राखेर चेकजाँच भैरहेको छ’, प्रजिअ खड्काले दैनिक नेपालगन्जसँग भने, ‘मेला, महोत्सव, भेला बैठकहरु रोकिएका छन् ।’
पूर्व तयारी गरेका छौं ः प्रदेश सरकार
कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण फैलिन नदिन प्रदेश नं ५ मा पूर्वतयारी गरेको प्रदेश ५ सरकारले बताएको छ । प्रदेशमा अहिलेसम्म यो रोग देखा नपरे भएपनि उच्च जोखिममा रहेको हुँदा यसको नियन्त्रणका लागि पूर्वतयारी थालिएको हो ।
यस्तै सीमा नाकामा राखिएका ‘हेल्पडेस्क’लाई थप प्रभावकारी बनाउने र विदेशबाट आउने यात्रुलाई उच्च निगरानीमा राखी स्वास्थ्य परीक्षण गरी मात्र पठाउने व्यवस्थासमेत मिलाइएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यदि कोही यात्रुमा सङ्क्रमणको शङ्का लागेमा त्यहाँबाट सोझै अस्पताल पु¥याउने व्यवस्था छ । एम्बुलेन्स पनि तयारी अवस्थामा राखिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । प्रदेशका चार जिल्ला अस्पतालमा ‘आइसोलेसन वार्ड’ बनाएर उपचारको व्यवस्था मिलाइएको छ ।
चीनबाट शुरु भएको कोरना भाइरस विश्वव्यापी फैलिएपछि सङ्घीय सरकारले जोखिम बढ्न नदिनका लागि सावधानी अपनाएको र सबैमा सचेत रहन आग्रह गरेका कारण प्रदेशमा पनि तयारी गरिएको सामाजिक विकासमन्त्री सुदर्शन बरालले बताए । ‘आवश्यक परेको समयमा खाली हुने गरी अस्पतालमा श्ययाको व्यवस्था गरिएको र फोकल पर्सनसमेत तोकिएको छ’, उनले भने, ‘सङ्क्रमण फैलिएमा आवश्यक विशेष सामग्री तयारी अवस्थामा राखेका छौँ ।’
फागुन २६ गते विपद् व्यवस्थापन समितिको बैठक बसेर कोरोना भाइरसको सम्भावित सङ्क्रमण नियन्त्रण गर्न र निम्तन सक्ने विपद् व्यवस्थापनका लागि प्रदेशका विभिन्न स्थानमा क्वारेन्टाइनको उपयुक्त स्थान पहिचान गरी सुरक्षा निकायको समन्वयमा सामाजिक विकास मन्त्रालयले आवश्यक तयारी गर्ने निर्णय भएपछि सोहीअनुसार काम अगाडि बढाइएको मन्त्री बरालले बताए ।
रुपन्देहीका सीमा क्षेत्रमा पनि निगरानी बढाइएको छ । रुपन्देहीमा सीमा नाकामा दुई हजार ५९१ जनालाई स्क्रिनिङ टेस्ट गरिएको प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिनुभयो । प्रदेशका स्थानीय तहले पनि नागरिकमा सचेतना कार्यक्रम सञ्चालन गरेका छन् । विद्यालयमा सचेतना कार्यक्रम सञ्चालन, समुदायमा माइकिङ र पर्चा वितरण गरेर कोरोना भाइरसको सङ्क्रमणबारे जानकारी गराएको तिलोत्तमा नगपालिकाका प्रमुख वासुदेव घिमिरेले बताए ।
‘कोरोना भाइरस’बाट हुने सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रदेशमा पूर्वसावधानी अपनाउन मुख्यमन्त्री शङ्कर पोखरेलले सम्बन्धित मन्त्रालयलाई निर्देशनसमेत दिएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार आयोजित पूर्वतयारी बैठकमा उनले प्रदेशमा समेत सबै अस्पताललाई सतर्क अवस्थामा रहन र ‘आइसोलेसन वार्ड’बनाएर उपचारको व्यवस्था मिलाउन निर्देशन दिए ।
स्थानीय तहमा समन्वय समिति गठन गरिने
सरकारले नोवल कोरोना भाइरसहको संक्रमण फैलन नदिने व्यवस्था गर्नका लागि प्त्येक स्थानीय तहमा समन्वय समिति गठन गर्ने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय तह र वडास्तरमा समन्वय समिति गठन गर्नुपर्ने निर्णय गरेको हो । मन्त्रालयले उक्त निर्णय अनुसारको व्यवस्था मिलाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्र पठाइसकेको छ ।
उक्त पत्र अनुसार वडास्तरमा वडा अध्यक्ष वा निजले तोकेको जनप्रतिनिधि संयोजक रहने ६ सदस्यीय समिति गठन गर्न सकिने छ । यस्तै स्थानीय तहमा सम्बन्धित स्थानीय तहको प्रमुखको संयोजकत्वमा समिति गठन हुनेछ ।
पर्सी सुरक्षा अधिकारी भेट्दै
दैनिक नेपालगन्ज
कोरोना कहरले सन्त्रस्त बनाइरहँदा नेपाल–भारत सीमावर्ती जिल्लाका सुरक्षा अधिकारीहरुको बैठक बस्ने भएको छ । पर्सी आइतबार बर्दियाको ठाकुरद्वारामा सीमावर्ती दुवै देशका सुरक्षा अधिकारीहरुको बैठक डाकिएको हो ।
सम्बद्ध सुरक्षा स्रोतका अनुसार, बाँके, बर्दिया, दाङ्गका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सशस्त्र प्रहरी बलका प्रमुख लगायतका सुरक्षा अधिकारीसँगै सीमा सरोकारका अन्य अधिकारीहरुको सहभागिता बैठकमा रहनेछ । भारत तर्फ बहराइच र श्रावस्तीका डिएम, प्रहरी प्रमुख लगायत सीमा सम्बद्ध अधिकारीहरु बैठकमा सहभागी हुने बताइएको छ ।
‘बैठकले पछिल्ला समस्याहरुमा सघन छलफल गरी आवश्यक समन्वयका उपाय खोजी गर्नेछ’, बैठकको औपचारिक पुष्टि गर्दै बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले दैनिक नेपालगन्जसँग भने ।
भारतले बन्द गर्यो पर्यटक भिसा
विश्वव्यापी रुपमा बढ्दो प्राणघातक कोरोना भाइरसको प्रकोपका कारण भारतले पनि पर्यटक भिसा बन्द गरेको छ । भारतले सबै खालका पर्यटक भिसा आगामी अप्रिल १५ सम्मका लागि बन्द गरेको अधिकारीहरुले जानकारी दिएका छन् ।
साथै भारतले कोरोना भाइरसको प्रकोप रहेका विश्वका विभिन्न सात ओटा देशबाट आएका नागरिकलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्ने बताएको छ । भारत सरकारले बिहीबार प्रकाशन गरेको एक विज्ञप्तिमा सो जानकारी गराइएको समाचारमा जनाइएको छ ।
बिहीबार मध्यरातिदेखि भारतले यस्ता भिसाहरु बन्द गर्ने जनाएको सो विज्ञप्तिमा उल्लेख गरिएको छ । तर यसअन्तर्गत कूटनीतिक प्रयोजनका लागि आवश्यक, अन्तर्राष्ट्रिय संस्थाहरुका भिसा, रोजगारीसम्बन्धी र आयोजनाका भिसाहरु भने यथावत नै रहने बताइएको छ ।
भारत सरकारले बिहीबार प्रकाशन गरेको विज्ञप्तिमा चीन, इटाली, इरान, गणतन्त्र कोरिया, फ्रान्स, स्पेन र जर्मनीबाट आउने पर्यटकलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राखिने पनि जनाएको छ ।
ती देशबाट भारत प्रवेश गर्ने नागरिकलाई कम्तीमा पनि १४ दिन क्वारेन्टाइनमा राखिने व्यवस्था मिलाइएको भारत सरकारको प्रेस इन्फरमेसन ब्युरोले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ ।
भारतको दिल्लीमा त्यहाँ स्थित प्रदेश सरकारले ३१ मार्च सम्मका लागि सिनेमा हल बन्द गर्ने निर्णय गरेको छ । दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले सिनेमा हलसँगै परीक्षा सकिएका विद्यालयहरु समेत ३१ मार्चसम्म बन्द गर्ने निर्णय गरेको सञ्चारमाध्यमलाई जानकारी दिएका छन् ।
भारतले पर्यटन भिसा बन्द गर्ने निर्णयलाई भ्रामक रुपमा प्रस्तुत गर्दै केही अनलाइन सञ्चारमाध्यम र सामाजिक सञ्जालमा नेपाल–भारत सीमा बन्द हुने प्रचार गरिंदा केही बेर अन्योलको अवस्था सिर्जना भएको थियो । जिल्ला प्रशासन कार्यालय बाँकेले नेपाल–भारत सीमा बन्द नहुने स्पष्ट पारेको छ । ‘सीमा बन्द हुन्छ भन्नु भ्रामक कुरा हो’, प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले भने ।
विश्वका ११० भन्दा बढी देशमा यसको संक्रमण देखिएको छ । अहिलेसम्म यसबाट मृत्यु हुने नागरिकको संख्या ४ हजार ५०० पुगेको बताइएको छ । तर, यसमध्ये ५० हजार भन्दा बढी उपचारपछि घर फर्किएका छन् । यस भाइरसको उद्गमस्थल मानिएको चीनको हुबेई प्रान्तको उहानमा भने अब नियन्त्रणतर्फ आएको समाचारमा जनाइएको छ । चीनबाट निस्किएको यो प्रकोपबाट अहिले भने युरोप र एसियाका केही देश बढी प्रभावित भएका छन् । इटाली यसबाट चीनपछि सबैभन्दा बढी प्रभावित भएको छ भने इरान, दक्षिण कोरिया आदि देशमा पनि यो पुगेको छ ।–एजेन्सी








