नेपालगन्ज
बाँकेका बिभिन्न स्थानीय तहहरु सहयोगापेक्षी, बेसहारा, असहाय तथा सडक मानवमुक्त घोषणा हुने भएका छन् । नील सागर सेवाआश्रम नेपालगन्जको पहललमा थालिएको सडक सहयोगापेक्षी मानवमुक्त प्रदेश नं. ५ घोषणा गर्ने अभियान अन्र्तगत बाँकेका नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकालाई सहयोगापेक्षी सडक मानवमुक्त पालिका घोषणा गरिने भएका हुन् ।
प्रदेश नं. ५ को सामाजिक विकास मन्त्रालय र नील सागर सेवाआश्रम बिच सडक सहयोगापेक्षी मानवमुक्त प्रदेश नं. ५ घोषणा गर्ने गरि सम्झौता भएको नील सागर सेवाआश्रम नेपालगन्जकी अध्यक्ष सरिता खनालले जानकारी दिइन् । अभियान अन्र्तगत पहिलो चरणमा बाँकेका पालिकालाई घोषणा गर्न थालिएको खनालले बताइन् ।
कार्तिक २५ गते कोहलपुर नगरपालिका र २८ गते नेपालगन्ज उपमहानगरपालिकालाई सहयोगापेक्षी सडक मानवमुक्त घोषणा गर्ने कार्यक्रम तय गरिएको निलसागर सेवाश्रमका उपाध्यक्ष सरिता अमन सुवेदीले जानकारी गराएका छन् । ‘प्रदेश सरकारसँगको समन्वयमा सडक सहयोगापेक्षी मुक्त घोषणा गर्न लागिएको हो, त्यसका लागि नील सागरले आवश्यक सहयोग गर्नेछ’, नीलसागर सेवाश्रमका उपाध्यक्ष सुवेदीले भने ।
बाँकेका केही पालिका सहयोगापेक्षी घोषणा सके लगतै बर्दिया जिल्लामा अभियान संचालन गर्ने र बिस्तारै अन्य जिल्लासम्म पुग्ने जानकारी गराउँदै १ बर्ष भित्र प्रदेश नं. ५ लाई सहयोगापेक्षी, बेसहारा, असहाय तथा सडक मानवमुक्त घोषणा गर्ने गरि अभियान थालिएको सुवेदीले बताए । स्थानीय सरकारलाई अपनत्व बोध गराउन सुरुवातमा निलसागरले समन्वय गरेको भएपनि यसको सबै जिम्मा स्थानीय सरकारले लिनुपर्ने निल सागर सेवाआश्रम नेपालगन्जकी अध्यक्ष सरिता खनालको भनाइ छ ।











