नेपालगन्ज÷नेपाल सम्वत् ११४० को शुभारम्भको दिन आज नेपालगन्जमा वहत् शुभकामना र्यालीको आयोजना गरियो । कोहलपुर, राँझा, खजुरा र नेपालगन्जबाट काँरकाँदो चोकमा भेला भएका नेवार र गैरनेवार समुदायका नेवारी भेषभुषामा सजिएका महिला तथा पुरुषहरु करीब ३०० वटा मोटरसाइकलमा नेपालगन्जको विभिन्न भागमा नगर परिक्रमा गरी आदर्शनगर चोकमा आएर शुभकामना आदान प्रदान गर्ने कार्यक्रममा सहभागी भएका थिए ।
नेपाल सम्बत् कात्तिक महिनाको शुक्ल प्रतिपदाको दिनदेखि शुरु हुन्छ । नेपालीहरुको दोस्रो ठुलो साँस्कृतिक पर्व तिहारको तेस्रो दिन नेवार समुदायले आजकै दिन म्हँ पूजा (आत्म पूजा) गर्ने परम्परा छ ।
कार्यक्रमको शुभारम्भ गर्दै प्रमुख अतिथि नेपाल सरकारका शहरी विकास मन्त्री मो. इस्तियाक राईले देशका महान व्यक्तित्व तथा कुनै पनि राष्ट्रिय विभूतिहरुकोे नाममा कहीं कतै पनि चोक नामाकारण र शालिक राखेर सम्मान गर्नुपर्ने धारणा राखे । यस्तो सवालमा कुनै पनि समुदाय वा पक्षबाट विरोध गर्न नहुने बताएका छन् ।
कार्यक्रममा मन्त्री राईले राष्ट्रिय विभूतिलाई सम्मान गर्ने दायित्व राष्ट्रको हो र सबै नागरिकले उत्तिकै सम्मान गर्नुपर्ने बताउँदै तत्कालीन समयमा गरीब नेपाली जनताको ऋण तिरेर देशलाई ऋण मुक्त गरेका शंखधर साख्वाको सम्मानका लागि नेपाल सम्वत्लाई औपचारिक रुपमा प्रचलनमा ल्याउनु पर्ने बताए । शंखधर साख्वाको सम्मान गर्न सकेमात्र नेपाल र नेपालीको गौरव बढ्नेछ भन्दै नेवार समुदाय नेपालको सवैभन्दा पुरानो आदिबासी भएको बताउँदै उनले नेवारी लिपि र नेपाल सम्वत्को संरक्षणका लागि राज्यले ठोस नीति ल्याउनु पर्ने बताए ।
प्रदेश सभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा), बाँके अध्यक्ष आइपी खरेलले राष्ट्रिय विभूति शंखधर साख्वाको नाममा चोक नामाकरणमा विरोध आउन नहुने विचार व्यक्त गर्दै सबैको सहमतिमा आदर्शनगर चोकलाई शंखधर साख्वा चोक नामाकरण गर्न र शालिक निर्माण गर्न जोड दिए ।
नेपाली काँग्रेस, बाँकेका सभापति किरण कोइरालाले राष्ट्रिय विभूति साख्वाःको नाममा चोक नामाकरणमा विलम्ब गर्न नहुने धारणा राख्दै चोकको नामाकारणमा नेपाली काँग्रेसले विरोध नगर्ने प्रतिवद्धता व्यक्त गरिन् ।
नेवाः पुचःः बाँकेका पार्षद् पूर्णलाल चुकेले नेपाल सम्वत् र राष्ट्रिय विभूति शंखधर साख्वाःको बारेमा प्रकाश पार्दै वि.सं.९३० मा भक्तपुरका राजा आनन्द देव तथा ललितपुर र काठमाण्डौंमा राजा राघवदेवले राज्य गरिरहेको बेला काठमाडौंका शंखधर साख्वाःले तत्कालीन समयमा सबै नेपालीहरुले राज्यलाई तिर्नुपर्ने ऋण चुक्ता गरेर राज्यलाई ऋण मुक्त घोषणा गरेको हुँदा आजकै दिन विक्रम् सम्वत् ९३६ देखि नेपाल सम्वत् प्रचलनमा ल्याउन अनुमति दिइएको बताए । करीब ९ सय वर्षसम्म नेपाल सम्वत् सरकारी औपचारिक सम्वत्को रुपमा प्रचलनमा ल्याइएको थियो । त्यसैले नेपाल सम्वत् नेपालीहरुको मौलिक सम्वत् हो उनले भने ।
नेपाल सम्वत्का प्रवर्तक शाख्वाःलाई वि.सं.२०४७ सालमा शासन– व्यवस्थाको परिवर्तन भएपछि २०५६ साल मंसिर २ गते तत्कालीन सरकारले नेपाल सम्वत्का नेपालका राष्ट्रिय विभूति घोषणा ग¥यो र उनको चित्र छापिएको हुलाक टिकट पनि प्रकाशित गरिएको वरिष्ठ पत्रकार चुकेले बताए ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं. १० का वडा अध्यक्ष विन्दूभुषण बस्नेतले राजमार्गमा शालिक राख्न नपाइने सडक ऐनमा भएपनि शंखधर साख्वा राष्ट्रिय विभूति भएकोले आदर्शनगर चोकलाई शंखधर नामाकरण गर्न आपूmले वडा समितिबाट निर्णय गराएको र स्थानीय समुदाय पनि सकारात्मक भएको बताए । बस्नेतले गणेशमान चोक र शालिक पनि मापदण्ड विपरीत सरकारबाट अनुमति नलिएरै निर्माण गरिएको बताउँदै उनले शालिक निर्माणका लागि पूर्ण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
नेवाः देय दबु, बाँकेका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले कारकाँदो चोकलाई शंखधर साख्वा चोक नामाकरण गर्दा स्थानीय समुदायबाट विरोध आएको बताउँदैे नेपालगन्ज उपमहानगरपालिकाले सहमति दिए पनि सडक ऐनका कारण चोकमा शालिक निर्माण गर्न नसकेको स्पष्ट पार्दै कारकाँदो चोकमा सहमति नजुटेपछि नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणाले पनि विकल्पको रुपमा आदर्शनगर चोकमा चोक र शालिक स्थापित गर्न सुझाव दिएको बताए ।
नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले नेपाल सम्बत् नेपाल र नेपालीको आफ्नै इतिहास बोकेको मौलिक सम्वत् भएकोले यसको जगेर्ना गर्न सरकारले विशेष ध्यान दिनुपर्ने बताउँदै नेपाल सम्वत्ले नेपालीको पहिचान जोगाउने धारणा राखे ।
उक्त समारोहमा भरखरै राष्टपति विद्यादेवी भण्डारीबाट नेपाल विद्या भूषण पदकबाट सम्मानित डा. मुना श्रेष्ठलाई नेवाः पुचः बाँके र नेवा देय दवू बाँकेले सम्मान गरेको थियो ।
नेवाः पुचः बाँके, नेवा देय दवू र जिल्लाका करीब दश वटा नेवारहरुको संस्था र गुठीहरुको संयुक्त आयोजनामा सम्पन्न शुभकामना आदान प्रदान कार्यक्रमको अध्यक्षता नेवाः पुचः बाँकेका अध्यक्ष नन्दकला श्रेष्ठले गरेकी थिइन् भने कार्यक्रम नेवाः पुचः बाँकेका पूर्व अध्यक्ष रमेश श्रेष्ठले सञ्चालन गरेका थिए ।