एउटा ठुलो पहाड चढेपछि बल्ल थाहा हुन्छ कि चढ्नका लागि अझ थुप्रै पहाडहरु बाँकी छन् । ‘सफलताको त कुनै सिमा नै छैन, सफलता हात पार्न थुपै्र पहाड चढ्नुपर्नेछ । जति चढ्यो, चढ्नका लागि अझ थुप्रै पहाड देखिन्छन् ।’ उनले भने–‘सन्तुष्टी र खुशी आफुमाथि निर्भर हुँदो रहेछ ।
टीएस ठकुरी
प्रख्यात बेलायती लेखक जेके रोलिङले कतै भनेका छन्–‘सपना र जिन्दगीमा फोकस गरेर बाँच्न बिर्सनु हुँदैन ।’ युवावयका तेज प्रसाद रेग्मीले पनि सपना र जिन्दगी दुवैमा फोकस गरेर दैनिकी अगाडि बढाइरहेका छन् । सपना देख्छन्, जिन्दगीलाई पनि बुझ्ने प्रयास गर्छन् । सायद उनको उकालिएको सफलताको राज यही हो । उनी नेपालगन्जको चल्तीको होटल द ग्यालेक्सी दरबारका अध्यक्ष हुन् । उनले यो पनि बुझेका छन् कि एउटा ठुलो पहाड चढेपछि बल्ल थाहा हुन्छ कि चढ्नका लागि अझ थुप्रै पहाडहरु बाँकी छन् । नेल्सन मण्डेला पनि यसै भन्थे ।
ग्यालेक्सीकै भुईंतल्लामा रहेको जिकेएफसीको इलिको कफी स्वाद लिंदै गर्दा मैले सोधें–‘तपाईंको खुशी, सन्तुष्टी र सफलताको राज के हो ?’ उनी एकछिन मौन रहे, अनि मजैले गफिन सुरु गरे । ‘सफलताको त कुनै सिमा नै छैन, सफलता हात पार्न थुपै्र पहाड चढ्नुपर्नेछ । जति चढ्यो, चढ्नका लागि अझ थुप्रै पहाड देखिन्छन् ।’ उनले भने–‘सन्तुष्टी र खुशी आफुमाथि निर्भर हुँदो रहेछ । योजनावद्ध काम गरियो, ऐन नियम संगत गरियो भने सन्तुष्टी र खुशी कायमै हुन्छ कि ?’ उनी पहाडमै जन्मिएका हुन् सल्यानमा । नेपालगन्जसँग सल्यानको नाता प्रगाढ हो सदियौंदेखि । एकहिसाबले रेग्मीका लागि नेपालगन्ज सपनाको सहर हो । हजुरबुवा पुस्तासम्म नुन, तेल र लत्ताकपडा लिन नेपालगन्ज पैदल आउनैपर्ने बाध्यता थियो । सल्यानमै जन्मिएका तेजका लागि पनि नेपालगन्ज एउटा सपनाको सहर त्यतिबैलै बालमस्तिष्कमा बस्यो । उच्च शिक्षा अध्ययनका लागि उनले नेपालगन्जलाई गन्तव्य बनाए ।
मध्य तथा सुदुरपश्चिमकै प्रमुख शैक्षिक हबका रुपमा महेन्द्र बहुमुखी क्याम्पस थियो । रेग्मीलाई पनि यो क्याम्पसले तान्यो । उनी २०५६ सालमा नेपालगन्ज झरे । अध्ययन गर्दै व्यवसायिक क्षेत्रमा पनि पाइला बढाए । पहाडमा बुवाले सानो पसल गर्नुहुन्थ्यो । त्यसको प्रभाव रेग्मीमा परेको थियो । बुवाकै पथ पछ्याउँदै दाईहरु सल्यानमै होलसेल पसल गर्ने भइसकेका थिए । उनलाई सहज भयो यहाँदेखि खाद्य सामग्री आपुर्ति गर्न । २०५८ सालमा ट्रान्सपोर्ट र खाद्य ढुवानीको व्यवसाय थाले । यहींबाट उनको औपचारिक व्यवसायिक यात्रा आरम्भ भयो । डेढ दशकको यात्रामा उनले ट्रेड बिजनेसमा प्रतिष्ठित घरानाको बिश्वास जित्न सफल भएका छन् । चौधरी ग्रुपसँग जोडिएका छन् । अन्य उत्पादनको पनि डिलरसीप सञ्चालन गरेका छन् । यसैबीच तारे होटलकै सेवा सुविधा रहेको द ग्यालेक्सी दरबार सञ्चालनमा ल्याए । होटलको इन्टेरियर डेकोरेसनमा उनले मन खोलेर खर्चेका छन् । ‘कुनै तारे होटलको भन्दा हाम्रो रुम कम स्ट्यान्डर्डको छैन ।’– उनले दाबी गरे । ‘थकाली खाना’ ग्यालेक्सीको खास परिचय हो । अन्य स्वादिष्ट परिकार पनि त्यत्तिकै छन् । उनै रेग्मीले हालै जिकेएफसी सञ्चालनमा ल्याएका छन् । जुन होटलकै भुईंतल्लामा छ । जिकेएफसी एकअर्थमा बिश्व चर्चित ब्रान्ड केएफसी जस्तै हो । केएफसीकै जस्तो स्वाद र व्यवस्थापकीय पाटो पनि दुरुस्त छ । ‘कतिपय परिकार त हाम्रो झन् राम्रो छ, बिशेष नै छ ।’ उनले दाबी गरे–‘हामी आफ्नै ब्रान्ड स्थापित गर्नेहिसाबले अघि बढेका छौं ।’
भारतको हरियाणाका एकजना मित्रजनमार्फत केएफसीमा १५ बर्ष काम गरेका अनुभवी व्यक्तिसँग उनको भेट भयो । यही भेट नै यिनका लागि टर्निङ प्वाइन्ट बनिदियो । केएफसीमा अनुभव बटुलेका ती मित्रले सबै विधि र प्रक्रिया बताइदिए । मासुको गुणस्तर, मसला र मेसिनका बारेमा खुलेर बताइदियो । यसले रेग्मीमा उत्साह थपियो । केएफसीको फ्रेन्चाइज ल्याउने सोंच थियो कि? तर रेग्मीमा अब केएफसी हैन जिकेएफसीको सोंचले बास गर्न सफल भयो । यसको लामै रिसर्च गरे । अनि उत्पादनको परिक्षण झण्डै एक बर्ष गरे । गत बैशाखमा सुरु गर्ने तयारी गरिएको जिकेएफसी अहिले आएर आफ्नो यात्रा आरम्भ गर्न सफल भयो । ‘बिश्व चर्चित ब्रान्ड भन्दा पनि मिठो स्वाद पाएपछि हामीले नेपालगन्जमा जिकेएफसी लन्च गरेका छौं ।’ उनले सगौरव सुनाए–‘अब हामीमा उत्साह थपिएको छ, ठुलो चुनौति लिएका हौं, अब अवसर बन्ने सम्भावना देखियो ।’ मुख्य फ्राइड चिकेन मेसिनको मुल्य ३८ लाख भारतीय रुपैयाँ रहेको उनले जानकारी दिए । त्यही मेसिनले सबै परिकार तयार गर्दछ । हलाल गरिएको कुखुराको मासु हो । मुस्लिम समुदायले पनि सजिलै खान सक्छन् । काठमाडौंस्थित भ्याली कोल्ड स्टोरको हलाल प्रमाणित मासु नै जिकेएफसी रहेको उनको भनाइ छ । मसला उच्च कोटीकै छ, जुन बिश्व चर्चित ब्रान्डले प्रयोग गर्छ । जिकेएफसीको भान्सामा मात्र एक करोडको लगानी छ । यसले नै हो स्वादिष्ट परिकार तयार गर्ने ।
यसैगरी कफीको बिश्व चर्चित ब्रान्ड इलिको कफीको स्वाद पनि नेपालगन्जमा पाउने व्यवस्था मिलाएका छन् जिकेएफसीमा । साथै आइसक्रिमको बिश्व नम्बर एक ब्रान्ड बास्किनो रोबिन्सन पनि बेच्न सुरु गरेका छन् । यो सब हेर्दा जिकेएफसीको लागत दुई करोड नाघ्नेछ । जिकेएफसीको बिशेषता भनेको प्रि पेड र सेल्फ सर्भिस हो । जुन नेपालगन्जको लागि नौलो हो । अग्रिम भुक्तानी गर्ने र परिकार आफैं टेबलसम्म लैजाने नेपालगन्जका लागि पहिलो पटक अभ्यासमा ल्याइएको हो । यसले युरोप अमेरिका वा संघीय राजधानी काठमाडौंमा रहेका बिश्व चर्चित ब्रान्डका आउटलेट झैं अनुभुति गराउँछ जिकेएफसीमा । दररेट भने काठमाडौंभन्दा सस्तो रहने रेग्मी बताउँछन् । इलिको कफी करिब पचास प्रतिशत सस्तोमा बेचिरहेको उनले बताए ।
जिकेएफसी, इलिको कफी, बास्किनो रोविन्सन आइसक्रिम जस्तो ब्रान्ड नेपालगन्जमा स्थापित गराउने अवधारणा कसरी आयो त ? मैले उनलाई सोधेको थिएँ । ‘विदेशतिर घुम्दा मलाई यस्तै खाले सेवासहितको स्वादिष्ट परिकार पस्कने थलो नेपालगन्जमा बनाउन पाए हुन्थ्यो भन्ने लागिरहन्थ्यो, किनकी नेपालगन्ज मेरो कर्मथलो हो । मलाई परिचय दिएको सहर हो । ’ उनी भन्छन् –‘ फलस्वरुप त्यो यात्रामा पाइला अघि बढ्यो । कसै न कसैले रिस्क लिनुपथ्र्यो, मैले लिएँ । हामी जस्ता युवाले नै हो रिस्क लिनुपर्ने पनि ।’ जिकेएफसी तामझामले आधुनिक र सभ्य समाजको परिचय दिन्छ । यो नै यसको बिशेषता हो । पुर्णरुपले पारिवारिक माहोल हुने भएकाले पनि सभ्यता झल्कन्छ । किनकी यहाँ मदिरा निषेधित छ, धुम्रपान पनि । यो सबले गर्दा रेग्मी जिकेएफसी स्थापित हुनेमा बिश्वस्त छन् ।
नेपालगन्जको यात्रा महानगरतर्फ उन्मुख छ । महानगरका लागि परिकारमा बिश्वचर्चित ब्रान्ड आवश्यक हुन्छ । तर मौलिकता पनि जोगाउनुपर्छ । त्यसका लागि पनि रेग्मी सजग छन् । उनले ग्यालेक्सी दरबारकै माथिल्लो तल्लामा रहेको रेष्टुरेण्टमा लोकल चिकन (स्थानीय कुखुरा)को स्वाद पुर्णरुपमा दिने तयारीमा छन् । यसको अर्थ ग्रामिण इलाकामा तयार हुने स्वाद ग्यालेक्सीमा दिनेछन् । केही नयाँपन दिन सकेमात्र व्यवसाय दिगो हुने उनको बुझाइ छ । तसर्थ नयाँ सोंच विकास गरिरहन्छन् । केही बर्षअघि ग्यालेक्सी फनपार्क एण्ड एग्रो टुरिजम प्रालि दर्ता गरे । तीन बिगाहा जमिन पनि खरिद गरे । तर फन पार्क खोल्न अन्य धेरैलाई उद्यत देखेपछि उनी पछाडी हटे । अहिले यो परियोजना स्थगित गरेका छन् । अरुको देखासिकी गर्ने नेपालीको यो बानी उनलाई मन पर्दैन । बढीभन्दा बढी रोजगारी सिर्जना गर्नेतर्फ उनको सोंच छ । अहिले पनि करिब एक सय ७० जनालाई प्रत्यक्ष रोजगारी दिएका छन् । अबको नयाँ गन्तव्य भनेको कृषि कर्म हो । यसका लागि उनले शुभसफल एग्रिकल्चर प्रालि दर्ता गरिसकेका छन् । धर्मपत्नी चेतना ओलीको पनि कृषिमा बढ्ता अभिरुची छ । त्यसैले यसका लागि उनले केही जमिन खरिद गरिसकेका पनि छन् । चाँडै उत्पादनमा जाने उनले बताए । नेपालगन्जलाई साँच्चिकै समृद्ध बनाउने हो भने सकारात्मक सोंचका साथ सबैजना अगाडि बढ्नुपर्ने उनको भनाइ छ । करोडौंको बैकिङ कर्जा लिएर व्यवसाय बिस्तार गरिरहँदा पनि अनावश्यक टिकाटिप्पणी सुन्नुपर्दा कहिलेकाहीं खिन्न हुने उनको बानी छ । ‘अनाहकमा कहिले कसको लगानी भनेर हल्ला पिटाएको छ, कहिले कसको ।’ सन्तानका रुपमा दुई छोरीका बाबु उनले भने–‘नयाँ र ठुलो हरेक व्यवसायमा शंकाको दृष्टिले हेरिन्छ, अफवाह फैलाउने काम गरिन्छ । यो राम्रो हैन ।’ विकासको मुल फुटाउने लगानीकर्ता भित्राउन सबैले पहल गर्दा नै सहर साँच्चिकै सहर बन्ने हो । उनको पनि भनाइ यही छ ।
बैंक कर्जाको भरथेग पीडा व्यवसायी आफैंसँग रहनेगर्छ । तर बैंक सदैब सहयोगी बन्नुपर्ने उनको धारणा छ । चर्चित व्यवसायी सुधीर बस्नेतलाई बैंकले सहयोग नगरेकै कारण सयौं मान्छेको लगानी समेत धरापमा परेको उनको बुझाइ छ । ‘अभाव र समस्यामा बैंक सहयोगी बन्न सक्नुपर्छ ।’ उनले भने–‘सजिलोमा त सबै साथी हुन्छन्, अप्ठ्यारोमा पो त साथी हुनुपर्ने ।’
ठाउँको समृद्धिका लागि आपसी हातेमालो र सकारात्मक सोंच पहिलो शर्त हो उनका लागि । त्यसैले त नेपालगन्जमा हुने प्राय प्रमुख इभेन्टहरुमा ग्यालेक्सी दरबारको साझेदारी रहने गर्दछ । बिशेषगरी खेलकुद इभेन्टमा । ‘इभेन्टमा जोडिनुको अर्थ नेपालगन्जमा चहलपहल बढोस् भन्ने हो ।’ उनले भने– ‘बलबुताले भ्याएसम्म कहिले पनि पछि हटेको छैन ।’ उनी नेपालगन्जमा आधा दशक यता नियमित आयोजना हुँदै आएका चर्चित इभेन्ट नेपालगन्ज म्याराथन र पिएम कप महिला भलिबलमा हस्पिटालिटी पार्टनरका रुपमा साझेदारी गर्दै आएका छन् । नेपालगन्ज उद्योग वाणिज्य संघको व्यापार मेलादेखि कैयन इभेन्टमा सघाएका छन् । ‘सानोमा खेलकुदप्रति बढ्ता रुची थियो, राम्रो खेलाडी बन्न सकिएन ।’ उनी भन्छन्–‘हामीले इभेन्टलाई सघाउँदा देशका लागि राम्रो खेलाडी निस्कन्छन् कि भनेर पनि म जहिल्यै सघाउँछु ।’
उनले साँच्चिकै समाजमा देखिइने गरी व्यापार व्यवसाय बिस्तार गरेका छन् । ट्रेड, पर्यटन र कृषि व्यवसाय प्रमुख हुनेछन् । ठुला चुनौतिसँग पौठेजोरी खेल्ने सामथ्र्य बटुलेका छन् । उनका लागि एउटा सपना मात्र सपना हो, तर लक्ष्य भनेको योजना र डेडलाइन सहितको सपना हो । चाणक्यले कहीं भनेका छन् कि आफ्नी श्रीमती, भोजन र धन यी तीन कुरामा सन्तोष मान्नुपर्दछ । तेज प्रसाद रेग्मीसँग झण्डै डेढ घण्टाको महानगर यात्रामा रहँदा भन्न मन लाग्यो उनी यी तीन कुरामा सन्तुष्ट छन्, त्यसैले उत्तिकै खुशी र सफल पनि !